खानेपानीको व्यवस्थित स्रोत नहुँदा खोलाको धमिलो पानी पिउन बाध्य

  वास खबर सम्बाददाता  142 पटक हेरिएको

हुम्ला : कर्णाली कोरिडोरको हुम्ला र बाजुरा खण्डमा पर्ने छेउछाउका बस्तीका मानिस नदी तथा खोलाको धमिलो पानी खान बाध्य छन् । ती बस्तीका बासिन्दाका लागि खानेपानीको व्यवस्था हुन नसकेपछि खोलाकै धमिलो पानी प्रयोग गरिरहेका छन् ।

कर्णाली कोरिडोरको छेउको ताँजाकोट गाउँपालिका–५ को पैमाका बासिन्दा कलबहादुर थापाले बर्षौदेखि खोलाको धमिलो पानी खानुपर्ने बाध्यता रहेको बताउनुभयो । पैमामा १२ घरधुरीका स्थानीयले होटेल तथा पसल गरिरहेका छन् । उहाँले सरोकारवाला निकायसँग पटक पटक खानेपानीको व्यवस्थाका लागि माग गर्दा सुनुवाइ हुन नसकेपछि धमिलै पानी खानु परेको उल्लेख गर्नुभयो ।

हिउँदेयाममा कम धमिलो भए पनि बर्खायाममा भने लेदो मिसिएको पानी कपडामा छानेर खानु परेको छ । नयाँ खानेपानीको व्यवस्था नहुँदासम्म कर्णाली नदी र खोलाकै पानी प्रयोग गर्नुको विकल्प नभएको उहाँको भनाइ छ ।

सर्केगाड गाउँपालिका–१ को बालुकुनाका स्थानीय पदम मल्लले आफू बालुकुनामा होटेल व्यवसाय गरेदेखि कर्णाली नदीको पानी प्रयोग गरिरहेको बताउनुभयो । यता चङ्खेली गाउँपालिका र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लामा होटेल व्यवसाय गर्दै आउनुभएकी मैया बुढाले पाँच वर्षदेखि  कर्णालीको पानी प्रयोग गर्दै आएको बताउनुभयो । यो खबर गोरखापत्रले प्रकाशन गरेको छ।

यसअघि सलीसल्लामा डेढ सयले व्यवसाय गर्दै आएकामा हाल १० जनाले मात्रै गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार