एक करोड बढी लागतमा ‘एक घर एक धारा’

  वास खबर सम्बाददाता  99 पटक हेरिएको

पर्वत : समयदेखि खानेपानीको अभाव झेल्दै आएका पर्वतको मोदी गाउँपालिका–४ लेसपारका २ सय ११ घर धुरीमा खानेपानी विस्तार भएसँगै स्थानीयवासी खुशी भएका छन् ।

पर्यटकिय गाउँको रुपमा रहेको लेसपारमा गाउँ नजिकै खानेपानीको स्रोत भएर पनि सहज रुपमा खानेपानी नपाउँदा समस्या झेल्दै आएका थिए । कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका २ सय ११ घरधुरी, १ सामुदायिक विद्यालय र ४ वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको हो । काम सुरु भएको ६ महिनामै योजना सम्पन्न भएसँगै मंगलबार योजनाको उद्घाटन सम्पन्न भएको छ ।

खानेपानी योजना एक करोड ३६ लाख ५८ हजार ५६० रुपियाँको लागतमा सम्पन्न भएको आयोजनाका व्यवस्थापक बुद्ध पुनले जानकारी दिनुभयो । जसमध्ये रु.१९ लाख ७१ हजार ९०० बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत रु. एक करोड १६ लाख ८६ हजार ६६० रूपैयाँ खर्चिएको पुनले बताउनुभयो ।

स्थानीयवासी तथा पूर्व गाविस अध्यक्ष नरसिंह पुनका अनुसार खानेपानी विस्तारका लागि दुईवटा इन्टेक टयाङ्की, दुईवटा फिल्टर टयाङ्की, एक वितरण चेम्बर, पाँच वटा रिजर्भ टयाङ्की निर्माण गरिएको छ। बस्तीभन्दा माथि रहेको जङ्गलका लाटाखर्क र सिस्नेरा गरी दुई वटा मुहानबाट पानी ल्याइएको छ । कुल ६ हजार सात सय ६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिनुभयो ।

योजनाको कादुरी च्यारिटेवल फाउण्डेशन हङकङका डाईरेक्टर पिटर पउल डि ग्रेट र मोदी गाउँपालिका पर्वतका अध्यक्ष हिरादेबी शर्माले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै कादुरी एग्रिकल्चर एड एशोशिएसन नेपालका डाईरेक्टर कर्णेल एन्ड्रिउ मिल्जले लेसपारका स्थानीयवासीलाई स्वच्छ खानेपानी उपलब्ध गराउन पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले कादुरीले नेपालका दुरदराजमा रहेका जनताका लागि स्वच्छ खानेपानी, झोलुङ्गे पुल र स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै कादुरी एग्रिकल्चर एड एशोशिएन नेपालका प्राविधिक निर्देशक डा. नारायण गुरुङले लेसपारबासीको एकताका कारण ६ महिनामा गुणस्तरिय हिसावले योजना सम्पन्न भएकोमा प्रशंसा गर्नुभयो । सोही अवसरमा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेबी शर्माले स्थानीय तहसँग सिमित साधान र स्रोतका कारण ठूला योजना संचालन नभएको र कादुरीमार्फत एक घर एक धारा सञ्चालन हुँदा गाउँपालिकालाई समेत सहयोग भएको बताउनुभयो ।

घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुर पुनले बताउनुभयो । स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा  प्रयोग गर्दै आएका छन् ।

वर्षौंदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले बताउनुभयो । मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रुपमा विकास हुँदै गएको खबर गोरखापत्रले प्रकाशन गरेको छ। अन्नपूर्ण चक्रिय पदमार्गको वैकल्पिक मार्गका रुपमा विकास भएको नयाँपुल–देउपुर–लप्सीवोट–देउराली–लेसपार हुँदै पर्यटक पर्वतको जलजलादेखि म्याग्दीको नागी, पुनहिललगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दै आएका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार