काठमाडौ : खानेपानी मन्त्रालयमा भएको आगलागीले पुर्याएको क्षतिबारे मूल्याङ्कन गर्न तीन सदस्यीय समिति गठन भएको छ । सहरी विकास मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको हो। एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सहरी विकास मन्त्रालयका अनुसार क्षति मूल्याङ्कनका लागि गठित समितिको सदस्यमा खानेपानी मन्त्रालयका उपसचिव रहनेछन् भने अर्को सदस्यमा इन्जिनियर गणेश पाण्डे रहेका छन् ।
सहरी विकास मन्त्रालयका अनुसार उक्त समितिलाई आगलागी बाट भएको क्षतिको मूल्याङ्कन गरी प्रतिवेदन तयार पार्न र सिंहदरबार परिसरमा भविश्यमा यस्ता घटना दोहोरिन नदिन र त्यसको पूर्व तयारीका उपाय सुझाउन कार्यादेश दिइएको छ ।
शनिबार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको थियो । मन्त्री यादवको कार्यकक्षमा आगलागी हुँदा झ्यालमा लगाइएका पर्दा, कार्पेट, टेबल र कुर्सीहरू समेत जलेका छन् । मन्त्रीको कार्यकक्ष भएकाले आगलागीमा कतिपय महत्वपूर्ण कागजातहरू समेत जलेको हुन सक्ने आशंका गरिएको छ ।आगलागीबाट ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
यसैबीच उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले आगलागीका कारण क्षतिग्रस्त खानेपानी मन्त्रालयका कोठाहरू मर्मत सम्भारको कार्य तत्काल अघि बढाउन निर्देशन दिनु भएको छ । आगलागी भएका कोठाहरूको स्थलगत अवलोकन पछि उपप्रधानमन्त्री सिंहले तत्कालै मर्मत सम्भार गर्न निर्देशन दिनु भएको हो ।
शहरी विकास मन्त्रालयका निमित्त सचिव पद्मकुमार मैनालीले उपप्रधानमन्त्री सिंहको निर्देशनपछि अहिले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले मर्मत सम्भारको काम अघि बढाएको बताउनुभयो।