खानेपानी मन्त्री यादवले भने ‘हिजै विद्युतको तार जलेको गन्ध आएको थियो

  वास खबर सम्बाददाता  301 पटक हेरिएको


काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ। आगलागी पश्चात खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव रमाकान्त दुवाडी सहित मन्त्रालय पुग्नु भएका मन्त्री यादवले हिजो शुक्रबार नै विद्युतको तार पोलिएको गन्ध आएको र कार्यालय सहयोगीलाई यसबारे जानकारी पनि गराएको बताउनुभयो।

‘यो दुःखद घटना हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मैले कार्यालय सहयोगीलाई यसबारे जानकारी पनि गराएको थिएँ’ उहाँले भन्नुभयो ‘पानी तताउने मेसिन होला भनेर विद्युतका सबै प्लगहरू निकाल्न लगाएको थिएँ, आज भने आगलागी भएछ’ उहाँले भन्नुभयो।

मन्त्री यादवले आगलागीबाट मन्त्रालयका महत्वपूर्ण कागजातहरु कुनै पनि नजलेको बताउनु भएको छ । मन्त्री यादवको कार्यकक्षमा आज बिहान आगलागी भएको थियो।

आगलागी भएको निरीक्षण पश्चात मन्त्री यादवले मन्त्रालयका आवश्यक कागजात आफ्नो टेबलमा राख्ने नगरेको र सबै सही गरेर सचिवलाई पठाउने गरेकाले महत्वपूर्ण कागजातहरु कुनै पनि नजलेको बताउनुभयो । ‘मैले पढ्नका लागि राखिएका केही कागजात बाहेक कुनै पनि महत्वपूर्ण कागजात नष्ट भएको छैन’ उहाँले भन्नुभयो।

शनिबार बिहान भएको आगलागीले खानेपानीमन्त्री यादवको कार्यकक्ष पूर्ण रूपमा क्षति भएको छ । आगलागीले मन्त्री यादवको कार्यकक्षमा रहेका दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायतका सामग्री क्षति भएको मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट ५० लाखसम्मको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ ।

क्षतिबारे मूल्याङ्कन गर्न सहरी विकास मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा मूल्याङ्कन समिति गठन गरिएको छ। समितिलाई क्षतिको मूल्याङ्कन तथा सिंहदरबार परिसरमा भविश्यमा यस्ता घटना दोहोरिन नदिन र त्यसको पूर्व तयारीका उपाय सुझाउने सहितको प्रतिवेदन तयार गरी पेश गर्न एक हप्ताको समय सीमा दिईएको सहरी विकास मन्त्रालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार