काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएपछि नयाँ कार्यकक्ष बनाईएको छ । खानेपानी मन्त्रालयमा शनिबार बिहान विद्युत् सर्ट भई आगलागी हुँदा जलेको खानेपानीमन्त्री यादवको कार्यकक्ष अस्थायी रुपमा बनाईएको हो ।
अस्थायी प्रकृतिको नयाँ कार्यकक्ष बनाएर खानेपानीमन्त्री यादवले कामकाज सुरु गरेको उहाँको निजी सचिव भक्तराज जोशीले जानकारी दिनुभयो। खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार सँगसँगै जलेको कार्यकक्षको मर्मत र पुनःनिर्माणको काम समेत भैरहेको छ।
आगलागीबाट मन्त्रालयका अति महत्त्वपूर्ण कागजातहरु क्षति नभए पनि कार्यकक्षमा भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटर लगायत अन्दाजी ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
आगलागीले पुर्याएको क्षतिबारे मूल्याङ्कन गर्न शनिबार नै सहरी विकास मन्त्रालयका सिनियर डिभिज्नल इन्जिनियर गणेश कर्माचार्यको संयोजकत्वमा तीन सदस्यीय मूल्याङ्कन समिति गठन भैसकेको छ र समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिईएको सहरी विकास मन्त्रालयले जनाएको छ ।