प्लाष्टिक फोहोर व्यवस्थापन र उद्यम प्रबर्द्वन परियोजनाद्वारा तीन नवीनतम प्रबिधिको प्रबर्द्वन

  वास खबर सम्बाददाता  192 पटक हेरिएको

काठमाडौं : काठमाडौं उपत्यकाको शंखरापुर नगरपालिकामा सञ्चालित प्लाष्टिकको फोहोर व्यवस्थापन र उद्यम प्रबर्द्वन परियोजना सम्पन्न भएको छ। प्लाष्टिक फोहोर व्यवस्थापन तथा प्लाष्टिकको विकल्पका वस्तुहरुको चक्रिय अर्थ व्यवस्थामा आधारित उद्यमहरुको प्रवर्द्धन गर्ने उद्देश्यले २०८० साल साउनमा यो परियोजना सुरु गरिएको थियो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको आर्थिक सहयोगमा एकीकृत सहरी विकास केन्द्र र ब्लु वेष्ट टु भ्यालु प्रा.लि.द्वारा सञ्चालित परियोजना मार्फत उद्यमशीलताको विकास, व्यावसायिक योजना जस्ता कार्यक्रमहरु गरी ३ वटा विभिन्न फोहोर भनी पुनः चक्रण गर्न कठिन वस्तुहरुलाई पुनःप्रयोगीय वस्तुको रुपमा रुपान्तरण गरी उत्पादन सम्बन्धी व्यवसायको सम्भावनालाई मूर्तरुप दिइएको छ । जस मध्ये खेर जाने प्लाष्टिकको प्याकेजिङ्गहरुबाट प्रशोधन गरी बुनेको कपडा र ब्याग बनाउने, शिशाबाट ग्लास बनाउने र विभिन्न प्लाष्टिकबाट फर्निचर बनाउने काम सुरु भएको हो ।

फोहरको श्रोतमै घटाउने विभिन्न उपायहरुको खोजी गर्दा गर्दै घर तथा अफिसहरुमा उत्पादन हुने फोहर संकलन पश्चात् पुनः वर्गीकरण गर्दा मुल्यहीन वस्तुहरुमा कमसल खालको प्लास्टिक विशेषतस् झिल्झिले प्याकेजिङका प्लाष्टिकहरु, रंगिन र फुटेको शिशाहरु बढी मात्रामा ल्यान्डफिल लगिरहनुपर्ने भएकोले यस किसिमको फोहरबाट संभावना भएको उद्यमहरुको बिस्तार गर्न प्लाष्टिक फोहर व्यवस्थापन तथा प्लाष्टिकको विकल्पका वस्तुहरुको चकृय अर्थ व्यवस्थामा आधारित उद्यमहरुको प्रवर्धन गर्न अघिल्लो बर्ष नै शंखरापुर नगरपालिकामा परियोजना सञ्चालन गरिएको एकीकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले बताउनुभयो।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका तर्फबाट सहायक आवशीय प्रतिनिधि जुलियन सेवीलार्दले नेपालमा प्रमुख कार्यक्रमका रुपमा वातावरण तथा जलवायु परिवर्तन र सुशासन रहेको बताउनुभयो। उहाँले यस्ता फोहोर भनेर फालिएका वस्तुहरुलाई पुनः प्रशोधन गरी नयाँ प्रयोग गर्ने सामानहरु बनाउने मेसिनहरु शंखरापुर नगरपालिकालाई हस्तान्तरण समेत गर्नुभयो।

परियोजना संचालनको तर्फबाट एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले यसले फोहोरको मात्रा अझै घटाउने, रोजगारी सिर्जना र वातावरणीय न्याय दिने विषयमा एक कदम अगाडि बढाएको बताउनुभयो। सो परियोजनाबाट सञ्चालित उद्यममा कार्यरत शंखरापुर नगरपालिकाका बासिन्दा सिर्जना शाही र सुजित श्रेष्ठले आफ्ना अनुभवहरु सुनाएका सुनाउनुभयो।

कार्यक्रममा नगर प्रमुखले परियोजना अन्तर्गत प्रयोग गरिएका मेसिनहरु फोहोर व्यवस्थापनमा कार्यरत ब्लु वेष्ट टु भ्यालु प्रा.लि.लाई हस्तान्तरण गर्नुभयो। साथै नगरपालिकाको जिम्मेवारी रहेको फोहोर व्यवस्थापन कार्यमा यस्ता नविनतम उद्यम मार्फत थप उत्कृष्टता बढनु पर्ने र यस काममा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

एकीकृत सहरी विकास केन्द्रकी भूमिका रिजालले सञ्चालन गर्नुभएको कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने ब्लु वेष्ट टु भ्यालु प्रालिका महाप्रबन्धक रोनिश शाक्यले परियोजनाका गतिविधिहरु र सफलताका बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो। परियोजना सम्पन्न भए पनि शखरापुर नगरपालिकामा फोहोर ब्यवस्थापनमा कार्यरत ब्लु वेष्ट टु भ्यालु प्रा. लि. ले यस कार्यलाई निरन्तरता दिईने जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार