कालिकोट : जिल्ला अस्पताल कालिकोटले अस्पतालबाट उत्पादित स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन गर्न थालेको छ । युनिसेफ र छा-याँ नेपालको आर्थिक सहयोगमा अस्पताल हाता भित्र स्वास्थ्य संस्थाजन्य फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरी फोहोरमैला व्यवस्थापन गर्न थालेको हो ।
समुदायहरुको जलबायु उत्थानशील बनाउन अस्पतालमा खानेपानी, सरसफाइ तथा स्वच्छता सुविधा परियोजना अन्र्तगत जिल्ला अस्पतालमा निर्माण भएको फोहोरमैला व्यवस्थापन केन्द्र शुक्रबार देखि सञ्चालनमा ल्याएको जिल्ला अस्पताल कालिकोटका सुचना अधिकारी कटक बहादुर महतले जानकारी दिनुभयो।
फोहोरमैला व्यवस्थापनका लागि अस्पतालले यस अघि प्रयोग गर्दै आएको पानीको मुहान संरक्षण तथा ईन्टेक निर्माण, १६ घनमिटरको रिजर्भ्वायर ट्याङ्क (आरभीटी) मर्मत, पानी भण्डारणका लागि १ हजार लिटर क्षमताका प्लाष्टिक हिलटेक, पानी प्रशोधनका लागि क्लोरिनेसन जडान गरेको छ।
यस्तै फोहोरमैलालाई सुरक्षित तरिकाले व्यवस्थापन गर्नका लागि अटोक्लेभ, से्रडर हात धुुने वेसिन, जोखिम रहित फोहोर राख्ने स्थान र कार्यालय कक्ष सहितको भवन निर्माण र दुई वटा संक्रमण तथा धारिलो फोहोरमैला व्यवस्थापन खाडल, दुई वटा प्लासेन्टा पिट निर्माण, १२ वटा फोहोर भण्डारण केज निर्माण गरिएको छ ।
उज्यालोका लागि थ्रिफेज उर्जा जडान सहित कोभिडको बेला युनिसेफले सहयोग गरी सञ्चालनमा नआएको फोहोरमैला प्रशोधन गर्ने मेसिन, ब्यक्तिगत सरसफाइका सामग्री उपलब्ध भएकाले जिल्ला अस्पात भित्र उत्पादित फोहोरमैला सुरक्षित तवरले व्यवस्थापन हुने जिल्ला अस्पतालका निमित्त प्रमुख डाक्टर प्रकास पौडेलले बताउनु भयो ।
सुरक्षित फोहोरमैला व्यवस्थापनका लागि सहयोगी संस्था छा-याँ नेपालका कर्णाली प्रदेशका प्रबन्धक मिन बहादुर रावलका अनुसार अस्पतालबाट उत्पादित कुल फोहोरमैलाको २५ प्रतिशत फोहोर संक्रामक हुने र बाँकी ७५ प्रतिशत फोहोर साधारण फोहोर हुने गर्छ । तर २५ प्रतिशत उत्पादन हुने संक्रामक फोहोरको उचित व्यवस्थापन नगर्दा सम्पूर्ण फोहोर संक्रामक हुने र अस्पतालमा आउने सेवाग्राही र आसपासका समुदायका लागि घातक हुने गर्छ ।
कुहिने, नकुहिने र संक्रामक फोहोरमैला नछुटयाई व्यवस्थापन गर्दा यस बिभिन्न किसिमका सरुवा रोगको संक्रमण हुने भएकाले पहिला अस्पतालबाट उत्पादन भएको फोहोरमैला पहिचान गरी सुरक्षित तवरले व्यवस्थापन गर्नका लागि फोहोरमैला संकलन केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो ।
खाँडाचक्र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रबिन्द्र सेजुवालले जिल्ला अस्पताल भित्र उत्पादित फोहोर व्यवस्थापनका लागि नगरपालिकाले उक्त फोहोरलाई विसर्जन गर्ने स्थानसम्म ढुवानी व्यवस्थापन लागि सहयोग गर्ने जानकारी दिनु भयो ।
फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गर्न पुग्नु भएका सामाजिक मन्त्रालय कर्णाली प्रदेशका सचिव दिर्ग बहादुर पोख्रेलले फोहोरमैला संकलन केन्द्र निर्माण पश्चात यसको उपयोगका लागि कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
अस्पतालबाट उत्पादित फोहोरलाई सही तरिकाले व्यवस्थापन नगर्दा अस्पताल आसपासको समुदाय सहितलाई बिभिन्न संक्रमण हुनुका साथै बर्षा याममा आउने बर्षातले फोहोरलाई बगाएर नदी तथा खोलामा मिसाउँदा त्यहाँ रहेको जैविक विविधतालाई समेत असर पार्ने बताउनुभयो । उहाँले अस्पतालबाट उत्पादित फोहोरमैला सुरक्षित तरिकाले व्यवस्थापन गर्न सबै भन्दा पहिला कर्मचारीको महत्वपूर्ण दायित्व हुने भएकाले आफनो कर्तब्य पूरा गर्नुपर्ने बताउनु भयो ।