सिन्धुपाल्चोक : जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिले सिन्धुपाल्चोकको चौताराबासीालाई पानी प्रशोधन गरेर मात्र वितरण गर्न थालेको छ। खानेपानी प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) सञ्चालनमा आएपछि प्रशोधन गरेर मात्र वितरण गर्न थालेको जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिका कोषाध्यक्ष टङ्क कार्कीले जानकारी दिनुभयो।
खानेपानीमन्त्री प्रदीप यादवले उक्त ट्रिटमेन्ट प्लान्टको केही दिन अघि मात्र उद्घाटन गर्नुभएको थियो । प्रशोधन केन्द्र सञ्चालन हुन थालेपछि गुणस्तरीय खानेपानीमा उपभोक्ताको पहुँच पुगेको उहाँले बताउनुभयो।
थालखर्कबाट सिधै दारेगौँडास्थित ट्याङ्कीमा पानी झारेर उपभोग गर्दै आएको पानीलाई ‘ट्रिटमेन्ट प्लान्ट’ मा पानी प्रशोधन गरेर मात्र उपभोक्ताको घर घरमा पठाउने गरिएको छ। आयोजनाबाट करिब ३० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । होल्चे-थालखर्क-जुगलमा रहेको स्रोतबाट २२.५० किलोमिटर लामो पाइप लाइन मार्फत पानी ल्याईएको छ।
उपभोक्ता समितिले चौतारा, स्याउले तथा आसपासका ५ हजार ५ सय भन्दा भन्दा बढी घरधुरीमा खानेपानी सेवा विस्तार गरेको छ।