काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादव नेतृत्वको टोलीद्वारा मकवानपुरमा अवस्थित सिस्नेरी खानेपानी आयोजनाको मुहान निरीक्षण तथा स्थलगत अवलोकन गरिएको छ। काठमाडौं उपत्यकाको खानेपानी आपूर्तिलाई दीर्घकालीन रूपमा भरपर्दो बनाउने उद्देश्यले मुहान क्षेत्रको निरीक्षण गरिएको खानेपानीमन्त्री यादवले बताउनुभयो ।
वर्षायाममा मेलम्चीमा कुनै अवरोध आए पनि उपत्यकावासीले खानेपानी अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले सिस्नेरी आयोजनालाई द्रुत गतिमा अघि बढाउन स्पष्ट निर्देशन दिएको छु उहाँले भन्नुभएको छ ।
हाल बाँधको विस्तृत डिजाइन प्रक्रिया अघि बढिरहेको र ,यसको निमित्त आशयपत्र समेत प्रकाशित भइसकेको उहाँले जानकारी दिनुभयो। आयोजनाको निर्माण कार्य आगामी ५/७ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँले बताउनुभयो। ‘यस आयोजना सम्पन्न भएपछि उपत्यकावासीलाई २४ घण्टा/१२ महिना नियमित रूपमा स्वच्छ खानेपानी आपूर्ति गराउने प्रतिवद्धताका साथ आवश्यक सम्पूर्ण प्रकृयालाई अघि बढाउन तीव्रता दिएको छु’ उहाँले आफ्नो फेसबुक पेजमा लेख्नु भएको छ।
परियोजनालाई समयमै सम्पन्न गर्न संघीय, प्रदेश र स्थानीय सरकारको पूर्ण सहयोग आवश्यक रहेको र विकास साझेदारहरूको प्रविधि, वित्तीय सहयोग र अनुभवबाट आयोजना छिटो सम्पन्न हुने उहाँले बताउनुभयो।
‘म तीनै तहका सरकार र अन्तर्राष्ट्रिय विकास साझेदारहरूलाई यस परियोजनामा सहयोगका लागि अपिल गर्न चाहन्छु। हामी सबैको साझा प्रयासले मात्र काठमाडौं उपत्यकाका नागरिकलाई भरपर्दो र दिगो खानेपानी उपलब्ध गराउन सक्नेछौं’ उहाँले भन्नु भएको छ।