काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी संस्थानलाई समय सापेक्ष प्रविधिको उपयोग गर्न र सेवा प्रवाहमा पारदर्शिता र संस्थागत सुशासनलाई सुदृढ गर्न निर्देशन दिनु भएको छ। नेपाल खानेपानी संस्थानको ३६औं स्थापना दिवसको उद्घाटन गर्दै मन्त्री यादवले गुणस्तरीय र दिगो खानेपानी सेवा प्रदान गर्ने दिशामा अग्रसर हुन पनि निर्देशन दिनुभयो ।
‘आगामी दिनहरूमा अझ प्रभावकारी, विश्वासनीय र जनउत्तरदायी संस्थाका रूपमा संस्थानले नयाँ उचाइ हासिल गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु’ उहाँले भन्नुभयो ‘खानेपानी संस्थान कसरी अघि बढ्छ भन्ने चिन्ता छ । घाटामा रहेको संस्थान नाफामा कसरी आउँछ ? धेरैजसो शाखाहरू घाटामा नै छ । यो सेवाको भावनाले चलेको संस्थान भएको हुनाले र खानेपानी यस्तो महत्त्वपूर्ण कुरा हो । घाटामा रहेर पनि सञ्चालनमा राख्नुपर्छ । यसलाई मुनाफामा कसरी ल्याउने त्यसमा विचार गर्नुपर्छ’ उहाँले भन्नुभयो।
खानेपानी संस्थानलाई नाफामा लैजान गेम चेन्जर कार्यक्रम ल्याउनुपर्ने पनि मन्त्री यादवको भनाइ छ । ‘नागरिकबाट मासिक सेवा सुविधा त लिइराख्नुभएको छ । तर कसरी संस्था नोक्सानमा गयो । कसको कारणले गयो रु त्यसकारणले गर्दा संस्थाप्रति इमान्दार भइदिन आग्रह गर्दछु । संस्था रहे मात्रै तपाईं हाम्रो भविष्य छ’ उहाँले भन्नुभयो।
उहाँले स्वच्छ, सुरक्षित, र सर्वसुलभ खानेपानी प्रत्येक नागरिकको मौलिक अधिकार भएको स्मरण गराउनुभयो। संस्थानको समग्र सुधारको बाटो आवश्यक रहेको बताउनु भएका मन्त्री यादवले संस्थानले विगत तीन दशक भन्दा बढी समयदेखि स्वच्छ पानी आपूर्ति गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो । ‘संस्थानको काम अत्यन्त सराहनीय छ। समृद्ध नेपाल निर्माणको मार्गमा दिगो विकास लक्ष्यहरू हासिल गर्न संस्थानको निरन्तर योगदान अपरिहार्य छ’ उहाँले भन्नुभयो।
सो अवसरमा संस्थानमा कार्यरत उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कृत समेत गरिएको थियो।