खानेपानी मन्त्रालय सँगको छलफलमा अर्थमन्त्री पौडेलले भने ‘तीन करोड भन्दा साना कार्यक्रम प्रस्ताव नगर्नू’

  वास खबर सम्बाददाता  217 पटक हेरिएको


काठमाडौ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटका लागि तीन करोड रुपैयाँभन्दा साना योजना प्रस्ताव नगर्न आग्रह गर्नु भएको छ। खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग बजेट निर्माण सम्बन्धी भएको छुट्टाछुट्टै छलफलमा अर्थमन्त्री पौडेलले यस्तो आग्रह गर्नभएको हो ।

अर्थमन्त्री पौडेलले असंख्य योजना तथा कार्यक्रमहरु प्रस्ताव गर्नु भन्दा पनि ठुला रूपान्तरणकारी एवं राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना तथा कार्यक्रम प्रस्ताव गर्न जोड दिनु भएको हो ।

अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय तहले गर्न सक्ने कार्यक्रममा भूमिका बढाउनुपर्ने र एक पटकका लागि सिडमोनी दिएर भए पनि प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्रका आयोजना तथा कार्यक्रम हस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।

बजेट निर्माण सम्बन्धी बैठकमा खानेपानीमन्त्री प्रदीप यादव, संघीय मामिलामन्त्री राजकुमार गुप्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, खानेपानी सचिव ई. प्रमिलादेवी शाक्य बज्राचार्य सहित अर्थ सचिव, राजस्व सचिव र संघीय मामिला सचिव एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ सहित अन्य विभागीय प्रमुखहरु सहभागी हुनुहुन्थ्यो। अर्थमन्त्रालयले बजेट निर्माण सम्बन्धमा यस अघि भौतिक, सहरी, ऊर्जा, स्वास्थ्य र उद्योग मन्त्रालय सँग छलफल गरिसकेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार