आज विश्व पानी दिवस, ग्लेसियर संरक्षण गरौं भन्ने नाराका साथ मनाईदै

  वास खबर सम्बाददाता  163 पटक हेरिएको

काठमाडौ : आज मार्च २२ तारिख, विश्व पानी दिवस विश्वभर मनाईदैछ। UN Water ले यस बर्ष दिवसको नारा ‘ग्लेसियर संरक्षण (Glacier Preservation) गरौं’ भन्ने तय गरेको छ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकास सम्बन्धी महासभाले विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा सबैलाई सजग र सचेत बनाउन विश्व पानी दिवसको घोषणा गरेको हो ।

सन् १९९२ मा २१ औं एजेण्डामा राखिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिख लाई विश्वभर पानी दिवसको रुपमा मनाउन थालिएको हो ।

नेपालमा खानेपानीको क्षेत्रमा क्रियाशील संघसंस्थाले दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेका छन् । कतिपय संघसंस्थाले हिजो अस्ति देखि नै विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएका छन् । आज र भोलि जल तथा ऊर्जा आयोगको सचिवालय र राष्ट्रिय सिँचाई उपभोक्ता महासंघ नेपालको आयोजनामा राष्ट्रिय जल सम्मेलन २०२५ हुँदैछ भने आजै

सोसाईटी अफ पब्लिक हेल्थ इन्जिनियर्स नेपाल (सोफेन) को आयोजनामा Water, Sanitation, and Hygiene (WASH) Financing and Sustainability कार्यक्रम पनि हुँदैछ ।

दिगो विकास लक्ष्य ६ ले सबैका लागि स्वच्छ पानी र सफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित गर्ने उल्लेख छ । २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने उद्देश्यले संयुक्त राष्ट्रसंघले दिगो विकास लक्ष्यको प्रतिपादन गरेको हो । दिगो विकास एजेण्डाको प्रारम्भ १ जनवरी २०१६ बाट भएको हो र यो सन् २०३० सम्म रहनेछ ।

पानी सबै जीव र वनस्पतिका लागि आवश्यक मानिन्छ । पानी भएकै स्थानमा जीवन सम्भव हुन्छ । पानी नभएको स्थानमा जीवन सम्भव छैन । यसैले पानी नै जीवन हो भन्ने गरिन्छ । जीव र वनस्पतिका लागि जन्म मात्र पर्याप्त हुँदैन, बाँच्नका लागि स्वच्छ पानी आवश्यक पर्छ ।

पिउने पानी स्वच्छ र सुरक्षित भयो भने ८० प्रतिशत रोग नै लाग्दैनन् भनिन्छ । पृथ्वीको दुईतिहाई भाग पानीले ढाकेको छ । तर, सबै पानी पिउन योग्य छैन । समुद्र र महासागरको पानी नुनिलो छ । जसले पृथ्वीको ९७.५ प्रतिशत भाग ओगटेको छ ।

२.५ प्रतिशत पानी मात्र ताजा, स्वच्छ र पिउनका लागि योग्य छ । यसमध्येको ठूलो अंश अर्थात् १.७२ प्रतिशत पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमा हिउँको रूपमा रहेको छ । ०.७४ प्रतिशत भूमिगत स्रोतका रूपमा जमिनमुनि रहेको छ । जमिनको सतहमा रहेको ०.०४ प्रतिशत पानी मात्र मानवका लागि पिउन योग्य छ। यही तथ्यलाई आत्मसात गर्दै विश्व पानी दिवस २०२५ को नारा ग्लेसियर संरक्षण तय गरिएको हुन सक्छ ।

ग्लेसियर नदीहरूको मुख्य स्रोत हो। ग्लेसियर उच्च दरमा पग्लिएपछि नदी सुक्ने, सिँचाइ र खानेपानीको समस्या सिर्जना हुने हुन्छ ।ग्लेसियर पग्लिँदा हिमताल बन्छ । यसले हिमताल फुट्ने र बाढीको खतरा निम्त्याउने हुन्छ । गत साल साउन ३२ गते सोलुृखुम्बुको थामेमा आएको बाढी यसैको एउटा उदाहरण हो ।

थामेमा गेग्रान र ढुंगा सहित आएको बाढीले एउटा विद्यालय, एउटा स्वास्थ्य चौकी, २ वटा होटल, १३ वटा घर पूर्ण र १० वटा घर आंशिक रूपमा क्षति भएको थियो ।

ग्लेसियर उच्च दरमा पग्लिने र हिमताल फुटेपछि आउने बाढीले ठूलो जनधनको क्षति गर्न सक्छ । जलविद्युत् आयोजना नदी तटमै बन्ने हुनाले ठूलो क्षति पुर्‍याउन सक्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार