काठमाडौ : नेपालका लागि जापानका राजदुत माएदा तोरू र खानेपानी मन्त्री प्रदीप यादव बीच शिष्टाचार भेटवार्ता भएको छ । खानेपानी मन्त्रालयमा भएको भेटबार्तामा नेपालको विकासका प्राथमिकताका क्षेत्रहरूमा जापानी लगानी आकर्षित गर्ने अपार सम्भावना रहेको चर्चा गर्दै मन्त्री यादवले जापानी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न थप प्रोत्साहन गर्न अनुरोध गर्नुभयो। विदेशी लगानीकर्ताहरूको सुरक्षाको पूर्ण प्रत्याभूति नेपाल सरकारको भएको उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा सन् १९५६ मा स्थापना भएको कूटनीतिक सम्बन्ध यति बेला झन् घनिष्ट, मैत्रीपूर्ण र सहयोगात्मक चरणमा पुगेको बिषयमा चर्चा भएको खानेपानी मन्त्रालयले जनाएको छ । नेपालले भोग्नुपरेका भूकम्प लगायत विभिन्न प्राकृतिक विपत्तिहरूमा जापानी जनता, सरकार, गैरसरकारी संस्था तथा विश्वविद्यालयहरूले प्रदान गरेको महत्वपूर्ण सहयोग प्रति मन्त्री यादवले आभार व्यक्त गर्नुभयो । नेपालले सधैं जापानसँगको आपसी हित, सम्बन्ध र सहयोगलाई उच्च प्राथमिकता दिंदै आएको उक्त भेटमा मन्त्री यादवले दर्शाउनुभयो ।
त्यसैगरी, जापानका तत्कालीन विदेशमन्त्री कामीकावा योको द्वारा गरिएको नेपाल भ्रमणको समेत स्मरण गरिएको थियो । सन् २०२२ को नोभेम्बरमा भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अवलोकन गर्न जापानका विदेश राज्यमन्त्री ताकेइ शुनसुके तथा उहाँको टोलीले गरेको नेपाल भ्रमणबारे पनि कुराकानी भएको मन्त्रालये जनाएको छ ।
भेटवार्ताका क्रममा माएदा तोरूले नेपालमा जापान सरकारले बिगतदेखि नै विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको स्मरण गराउँदै आगामी दिनहरूमा समेत विकास निर्माणका काममा थप सहयोग रहने विश्वास व्यक्त गर्नुभयो।