सत्ताइस दलित घरले आधा –आधा गाग्री पानी बाँड्छन्

स्याङजा २९ वैशाख । स्याङ्जाको वालिङ नगरपालिका–११ प्रितिपका २७ दलित घरधुरीमा खानेपानीको समस्या रहेको छ ।

“पूरै दलित बस्ती रहेको यस ठाउँको मुख्य समस्या भनेको खानेपानीको हो”, स्थानीयवासी हरिलाल विकले भन्नुभयो, “लाइनमा बसेर जसोतसो पानी भर्छौं तर त्यो पर्याप्त छैन ।”

हामीलाई पिउने पानीको निक्कै समस्या छ भने गाईवस्तुलाई खुवाउन र नुहाई धुवाई गर्ने कुरा धेरै परको भो, विक बताउनुहुन्छ । २७ घरधुरीको बीचमा एउटा धारा रहेको छ जहाँ पाँच किमी परबाट पाइप मार्फतबाट पानी ल्याइएको छ ।

“गाउँमा पानीको अभाव भएपछि कुनै बेला हामीले आधा आधा गाग्री पानी पनि बाँडेर खानुपरेको अवस्था छ”, स्थानीयवासी लक्ष्मी विकले भन्नुभयो, “के गर्नु पानीको प्यास मेटाउनै प¥यो ”

पानीको अभावमा त्यहाँका स्थानीय दलित समुदायले झन्डै एक घन्टाको पैदल दूरी हिँडेर पानी लिन जानुपर्ने बाध्यता छ भने त्यहाँ पनि पालो पर्खनुपर्दा समय निक्कै खर्चिनुपर्ने बाध्यता रहेको सुनाउनुहुन्छ, स्थानीयवासी बाबुराम विक।

उम्मेदवारहरु घरदैलो तथा भेटघाटमा पुगेका बेला स्थानीयवासीले दलित बस्तीमा मुख्य गरी पानीको समस्या रहेको बताउँदै यो समस्या समाधानमा लाग्न नेताहरुलाई आग्रह गरेका थिए । रासस


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार