सुर्खेत ४ जेठ । अरु ठाउँमा फोहोर र रोगको भण्डार मानिने मानिसको दिसापिसाब जनज्योति उच्च मावि कुनाथरी सुर्खेतमा भने उपयोगी वस्तु बनेको छ । कृषि जेटिए विषयको पढाई भईरहेको विद्यालयमा यसको अनुसन्धान र प्रयोगात्मक अध्ययनका लागि प्रयोग भईरहेको हो ।
यसका लागि विद्यालयले इकोशान शौचालयको निर्माण गरेको छ । विद्यालयले पिसाबमा पाइने विभिन्न तत्वको अध्ययन अनुसन्धान र बाली विज्ञानमा यसको प्रयोग गर्दै आएको छ ।
बालीनालीका लागि दिसापिसाबको महत्व बुझेका कृषि जेटिएमा अध्ययनरत विद्यार्थीहरु हिजोआज दिसापिसाबलाई हत्तपत्त खेर फाल्दैनन् । कृषि जेटिएका विद्यार्थी पुरन नेपालीले आफू सुत्ने कोठामा समेत सानो ड्रम राखेर पिसाब संकलन गर्न थाल्नुभएको छ ।
यसबाट राती बाहिर निस्किनुपर्ने झन्झट त हटेको छ नै, संकलित पिसाब बालीनालीमा लगाउँदा बालीनाली पनि फस्टाएको छ । नेपालीले बालीविज्ञान अन्तर्गत मानिसको दिसापिसाबलाई कसरी मलको रुपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा बुझ्नु भएको छ । यसलाई प्रयोगात्मक रुपमै अध्ययन गर्दै आएका नेपाली गाउँघरमा समेत पिसाबलाई मलको रुपमा प्रयोग गर्न सल्लाह दिदै हिडेको बताउनुहुन्छ ।
पुरनले मात्र होइन, कृषि जेटिए अध्ययन गर्ने सबै विद्यार्थीले मल चर्पी र पिसाबको फाइदाका बारेमा बुझेपछि प्रयोग गर्न थाल्नुभएको छ । उहाँहरुले पिसाबलाई पानीको मात्रासँग मिलाएर प्रयोग गर्ने विधि समेत सिकिसक्नुभएको छ । कृषि जेटिए विषयका विद्यार्थी गोपाल महतरा भन्नुहुन्छ ‘हामीले नजानेर मात्र यसलाई फोहोर बस्तुको रुपमा मानिरहेका रहेछौं सफा तरिकाले व्यवस्थापन गर्न जान्यौं भने दिसापिसाब बाट पनि मनग्गे पैसा कमाउन सकिने रहेछ ।’
मल चर्पीकोे प्रभाव विस्तारै गाउँमा समेत बढ्न थालेको छ । कृषि जेटिएमा अध्ययनरत विद्यार्थीहरुका कारण पनि यसको प्रभाव गाउँमा समेत फैलदै जान थालेको विद्यार्थी महतरा बताउनुहुन्छ ।
पिसाब मलको रुपमा मात्र होइन, यसलाई जैबिक विषादीको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।
पिसाबको प्रयोगबारे विद्यालयले प्रयोगात्मक अनुसन्धान थालनी गरिरहेको छ । यसबाट विषय शिक्षकलाई समेत प्रयोगात्मक ज्ञान प्रदान गर्नका लागि ठूलो मद्दत मिलेको छ, विद्यालयका शिक्षक कृष्ण प्रसाद भट्टराईले भन्नुभयो ‘सैद्धान्तिक ज्ञानले मात्र कहिल्यै पनि पूर्ण हुदैन हामीले त अहिले व्यवहारिक ज्ञान प्रदान गरिरहेका छौं, यो मल चर्पीले दिएको अवसर हो ।’
जनज्योति उच्च माध्यमिक विद्यालयमा मध्यपश्चिम र सुदुरपश्चिमका धेरै जिल्लाका विद्यार्थीहरु अध्ययन गर्छन् । विद्यालयमा मलचर्पीको प्रयोगात्मक अध्ययनले यसको उपयोगिता धेरैजसो जिल्लामा फैलिसकेको शिक्षक भट्टराईको दाबी छ ।
आउँदो दिनमा विद्यालयमा पिसाब बैंक स्थापना गर्ने लक्ष्य रहेको शिक्षक भट्टराईले बताउनुभयो । मल चर्पी निर्माणका लागि वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आर्थिक तथा प्राविधिक सहयोग गरेको हो । ।