‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ । त्यसपछि प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गानिक मल उत्पादन हुन्छ ।
काठमाडौ : भान्छा कोठामा उत्पादन हुने फोहोरहरु तरकारीका बोक्रा, फलफूल, बासी भात लगायत चीजबीजको व्यवस्थापन कसरी गर्ने भन्ने कुुराले तपाई हामीलाई दिन रात सताई रहेको हुन्छ । तर त्यसलाई उपयुक्त प्रविधिको उपयोग गरी प्रशोधन गर्न सकेमा यसबाट फाइदै फाइदा लिन सकिन्छ ।
हालै फोहोरबाट ग्यास र अर्गानिक मल उत्पादन गर्न सकिने इजरायली प्रविधि नेपाल भित्रिएको छ । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन गर्न सजिलो हुने प्रकारको यो प्रविधि पहिलो पटक क्लिन इनर्जी नेपालले भित्राएको हो ।
क्लिन इनर्जीले काठमाडांैको वालुवाटार, वानेश्वरका साथै ललितपुर महानगरपालिका दुई विद्यालयमा समेत नमूनाको रूपमा परीक्षण पछि सफल भइसकेको ठूलो क्लिन इनर्जीका निर्देशक विपीन खेतानले जानकारी दिनुभयो ।
निर्देशक खेतानका अनुसार हालसम्म आठ घरमा प्रविधि जडान गरिसकेको छ । अबको एक बर्षभित्र हजार घरधुरीमा पु¥याउने क्लिन इनर्जीको लक्ष्य छ । सहरमा उत्पादित फोहोर व्यवस्थापनको लागि अहिलेसम्मकै उपयुक्त प्रविधि आएको खेतानको दाबी छ । ‘यो प्रविधिलाई पहिलो चरणमा नगरपालिकाभित्र पु-याउनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम र प्रर्दशनीहरू आयोजना गर्न लागेका छौं ।’ उहाँले भन्नुभयो ।
कसरी जडान गर्ने यो प्रविधि ?
‘स्लिपिङ ब्याग’जस्तै देखिने सो प्रविधि सुरुमा जडान गर्नका लागि ११ सय लिटर पानी र १ सय लिटर गोबर आवश्यक पर्छ । त्यसपछि प्रत्येक दिन जम्मा भएको फोहोर हालेपछि ग्याँस र अर्गानिक मल उत्पादन हुन्छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अनुदान समेत दिइने हुनाले यो प्रविधि जडान गर्न चाहने उपभोक्ताले ५९ हजार मात्र तिरे पुग्छ ।
वायोग्याँस विज्ञ बासु गौतमका अनुसार ३ देखि ६ किलो फोहोर हालेमा त्यसबाट दैनिक दुई घण्टा चल्ने ग्याँस उत्पादन हुन्छ भने ६ लिटर झोल अर्गानिक मल उत्पादन हुन्छ । १५ वर्षसम्म टिकाउ हुने यो प्रविधिबाट दुई बर्षभित्रै लगानीको प्रतिफल आउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, ३ देखि ६ केजी फोहोरबाट एक महिना पुग्ने अर्थात एक सिलिण्डर ग्याँसका साथै १ सय ५० लिटरभन्दा बढी मल उत्पादन हुन्छ । यसबाट मासिक ६ हजार बराबरको आम्दानी लिन सकिन्छ ।
७ स्क्वायर मिटर क्षेत्रफलमै स्थापना गर्न सकिने यो प्रविधि जडान गर्न त्यत्ति ठूलो ठाउँको पनि आवश्यकता पर्दैन । यो प्रविधि प्रति स्थानीय सरकारको समेत चासो बढ्न थालेको छ । पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रति घरधुरी ४० हजारसम्म दिने घोषणा गरेको छ ।
फोहोर हालेपछि कुनै गन्ध नआउने तथा सहज तरिकाले आफै ग्याँस उत्पादन हुन सक्ने यस्तो प्रविधि काठमाडौभित्र मात्र उपयोग गर्न सकेमा ६० प्रतिशतसम्म ग्याँस आयात विस्थापन गर्न सकिने अध्ययनले देखाएको छ । यसले फोहोर व्यवस्थापन गर्न सजिलो हुने र कौसी खेती गर्नेहरुका लागि अर्गानिक मलका उपलब्धता हुन्छ ।
एसियाली विकास बैंकले गरेको अध्ययनले प्रति व्यक्ति प्रतिदिन ०.७७ केजी फोहोर उत्पादन हुने गरेको छ । इजरायलमा विकसित यो प्रविधि विश्वका ९२ राष्ट्रमा पुगेपनि नेपालमा भने हालै भित्रिएको हो ।