दाङ : घोराही उपमहानगरपालिकाले फोहोरबाट ग्यास र मल बनाउने गरी बायोग्यास प्लान्ट निर्माणको काम सुरु गरेको छ । नेपालमै सबैभन्दा ठूलो बायोग्यास प्लान्टका रूपमा लिइएको यसबाट मिथेन ग्यास सिलिन्डर र कम्पोस्ट मल उत्पादन गरिनेछ । घोराही उपमहानगरपालिका–१६ करौँती डाँडामा रहेको ल्यान्डफिल्ड साइटमा फोहोरबाट ग्यास र मल उत्पादन गर्न भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । घोराही उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्र र नेपाल ऊर्जा विकास कम्पनी बीचको त्रिपक्षीय सहकार्यमा फोहोरबाट ग्यास उत्पादन गर्न पूर्वाधार निर्माणको काम भइरहेको छ।
फोहोरबाट ग्यास र मल उत्पादन गर्ने प्रस्ताव सहित तत्कालीन घोराही नगरपालिकाको प्रस्तावमा विश्व बैंकले साढे चार करोड अनुदान दिने सहमति जनाएपछि फोहोरबाट ग्यास निर्माण गर्ने प्रक्रिया अघि बढेको हो । घोराही उपमहानगरपालिकाका वातावरण अधिकृत उमेश शर्माका अनुसार बायोग्यास प्लान्ट स्थापना गर्न तथा प्रांगारिक मल उत्पादन गर्न आवश्यक पूर्वाधार र उपकरण खरिद गर्न करिब २० करोड लाग्ने अनुमान गरिएको छ ।
फोहोर व्यवस्थापनमा हुँदै आएको करोड बढी खर्च जोगिने
फोहोरमैला व्यवस्थापनका लागि यसअघि घोराही उपमहानगरपालिकाले वार्षिक करोडौँ रकम खर्च गर्दै आएको छ । आर्थिक वर्ष ०७४/७५ मा मात्र उपमहानगरले फोहोर व्यवस्थापनमा एक करोड ५२ लाख खर्च गरे पनि राजस्व भने ४० लाख ६० हजार मात्र संकलन गरेको थियो । घोराही उपमहानगरले वडा नम्बर १६ स्थित तेरौटेमा फोहोर व्यवस्थापन गर्दै आएको छ ।
उक्त स्थानमा उपमहानगरपालिकाले घोराहीको मुख्य बजार क्षेत्र वडा नं. १४ र १५ बाट निस्किँदै आइरहेको फोहोर व्यवस्थापन गरिरहेको छ । ‘योजना कार्यान्वयन अएसँगै आर्थिक भारमा समेत कटौती हुनेछ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले फोहोरमैला व्यवस्थापनमा खर्च हुँदै आएको वार्षिक करोडौँ रकम विकास निर्माणका अन्य क्रियाकलापमा प्रयोग गर्न सकिने बताउनुभयो ।
घोराही उपमहानगरपालिका र ग्यास प्लान्ट निर्माणको जिम्मा पाएको नेपाल ऊर्जा विकास कम्पनी ९नेको० काठमाडौं बीच भएको सम्झौता अनुसार २० वर्षसम्म प्लान्टबाट हुने सम्पूर्ण लाभ एकलौटी रूपमा नेकोले नै लिने पाउने छ। सम्झौतामा नेकोले घोराही उपमहानगरपालिकालाई वार्षिक आठ लाख कर राजस्व बापत बुझाउनुपर्नेछ । २० वर्षपछि भने ग्यास प्लान्ट लगायत सम्पूर्ण संरचना उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ । सम्झौतामा एक वर्षभित्रै ग्यास र मल उत्पादनको प्रक्रिया थालनी गरिने उल्लेख छ ।
८२ प्रतिशत फोहोर अपुग
प्लान्ट निर्माण सम्पन्न भएपछि दैनिक ५० सिलिन्डर ग्यास र दैनिक सात हजार केजी कम्पोस्ट मल उत्पादन हुने बताइएको छ । त्यसका लागि दैनिक २० टन फोहोर आवश्यक हुने नेपाल ऊर्जा विकास कम्पनीका प्रोजेक्ट म्यानेजर हरिशरण श्रेष्ठले बताउनुभयो । वातावरण अधिकृत शर्माले हाल घोराहीमा दैनिक ६ टन जति मात्रै जैविक फोहोर उत्पादन हुने गरेको बताउनुभयो ।
त्यो भनेको प्लान्टलाई आवश्यक पर्ने १८ प्रतिशत मात्रै हो । तर, नगरका १९ वटै वडाबाट फोहोर संकलन गर्न सक्ने हो भने दैनिक २५ देखि ३५ टनसम्म जैविक फोहोर प्राप्त हुने शर्माले बताउनुभयो ।