काठमाडौ : ‘म दैनिक १० किलोमिटर हिड्छु’ घरबाट बाहिर निस्कनुपरेमा सवारी साधन नै आवश्यक पर्ने कतिपय वडा सदस्यका लागि यो अपत्यारिलो कुरा भयो । बिषय थियो ‘सार्वजनिक स्थानमा देखिने धुँवा, धुलो व्यवस्थापन ।’ सहजीकरण गर्दै हुनुहुन्थ्यो काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केदार न्यौपाने ।
कक्षाको सुरुवातमै दैनिक १० किलोमिटर पैदल यात्रा गर्छु भनेर आश्चर्य सिर्जना गराएपछि सहभागीको कान पनि ठाडा भए । तालिमका सहभागी थिए, काठमाडौ महानगरपालिकाको वडा नं. १ देखि १६ सम्मका वडा सदस्यहरु ।
‘काठमाडौमा धुँवा धुलो, फोहोरमैला, सार्वजनिक शौचालयको अभाव, खानेपानीको अभाव जस्ता कैयन समस्या छन् तर त्यसमा पनि धुँवा, धुलोको समस्या प्रमुख समस्या हो ।’ प्रशासकीय अधिकृत न्यौपानेले काठमाडौ उपत्यकाको पहिलो समस्या धुँवाधुलो नै हो भन्नेमा सबैलाई सहमत गराउनुभयो ।
काठमाडौको सडक धुँवाधुलोमुक्त बनाउने भनेर सडक पखाल्ने देखि ब्रुमर लगाउने सम्मको काम भईरहेको छ । र पनि सडकको हालत त्यस्तै अवस्थामा रहँदा अधिृकत न्यौपानेको भनाइमा सहमत नहुने कुरै आएन ।
काठमाडौको सडक सफा राख्न महानगरपालिकाले सकेजत्ति शक्ति खर्च गरिरहेको छ । र पनि मानिसहरु मास्क नलगाईकन हिड्न सकिने अवस्था छैन । धुँवा धुलो आउने माध्यमहरु के रहेछन् त ? न्यौपाने भन्नुहुन्छ ‘बाटो बनाएको छ, धुलो आउने खालको बनाएको छ, सबैतिर पिच सडक छैन, फुटपाथमा धुलो छ । धुलोमा हिडेको कि बाटोमा हिडेको थाहा पाउन गाह्रो छ । निर्माण सामग्री बाटोमा खसालेर भवन निर्माण गर्छ । अनि बाटो र फुटपाथ तहसनहस पार्छौ । निर्माण सामग्रीको धुलो पनि त्यही, सबैतिर सडक पिच छैन, सवारी साधनको टायरमा टाँसिएर आउने धुलो पनि त्यही, बीचमा पिच, साईड साईडमा धुलो आउने बाटो छ, त्यहाँको धुलो पनि सडकमै आउँछ । अनि कहिलेकाहीं हुरी बतासले उडाएर पनि अन्यत्रको धुलो उडाएर ल्याउँछ । कलकारखानाको धुँवा पनि आउँछ, धुलो नआउने ठाउँ नै छैन चौतर्फी धुलो छ । धुँवा धुलो र काठमाडौ शहर पर्याय भईसकेको छ’ उहाँले भन्नुभयो ।
बेला बेलामा हाँसी मज्जा गर्दै सहजीकरण गर्ने कला भएका न्यौपानेले धुँवा आउने माध्यमहरुका बारेमा पनि भन्नुभयो । उहाँले गाउँतिरको उदाहरण दिदै गाउँका मानिस शहर पस्ने र गाउँमा अपनाईरहेको अभ्यास सहरमा पनि प्रयोग गरेर देखाउने गरेका कारण धुँवा आउने गरेको बताउनुभयो । ‘गाउँमा फोहोर जम्मा पारेर पोल्ने, स्याउला घाँस डडाउने गर्छौ नि ! हो त्यही अभ्यास यहाँ पनि गर्दा धुँवा आउँछ । पुराना थोत्रा गाडीले धुँवाको मुस्लो नै फ्याँक्छ र पनि हामीले यसो गर्नुहुँदैन है भनेर कहिल्यै पनि भन्दैनौं ।’ न्यौपानेको तर्क थियो ।
बेला – बेलामा विदेशी र नेपालीहरुको आनीबानीलाई तुलनात्मक रुपमा प्रस्तुत गर्दै व्यङ्ग्य प्रहार गर्न खप्पिस न्यौपानेले घुमाईफिराई जनप्रतिनिधीहरुलाई जिम्मेवार बन्न आग्रह गर्नुहुन्थ्यो । जनप्रतिनिधीहरुले पनि बेला बेला ट्वाक्क ट्वाक्क जवाफ फर्काउथे । ‘पहिलो धुलो धुँवा आउने माध्यम नै बन्द गरिदिनुप¥यो ।’
जनप्रतिनिधीको जवाफ पाएपछि न्यौपानेले आफ्नो बिषयबस्तुलाई त्यसैमा समाहित गर्नुहुन्थ्यो । धुलोधुँवा कम गर्ने उपायहरु पनि छन् नि ?
– संरचनाहरु निर्माण गर्दा धुलोधुँवा कम आउने खालको बनाउने ।
– साइकलको प्रयोगमा जोड दिने ।
–पेट्रोलियम पदार्थको प्रयोग घटाउने ।
– विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने ।
– यससम्बन्धी जनचेतना फैलाउने ।
– निर्माणसँग सम्बन्धित धुलो धुँवा कम गर्न आफ्नो जिम्मेवारी बहन गर्ने ।
– सडक, पुल, बाटो, फेन्सिङ गर्ने, अधुरो नछाड्ने ।
– सडक पूल बाटो समयमा निर्माण सम्पन्न गर्न लगाउने ।
– सडक बनाउने निकायहरु बीच समन्वय बढाउने ।
– कार्य जिम्मेवारी स्पष्ट तोक्ने ।
– आ –आफ्नो जवाफदेहिता बहन गर्ने ।
– धुलो धुँवा कम गर्ने उपाय आफैबाट सुरु गर्नुपर्ने ।
दैनिक १० किलोमिटर हिड्छु भनेर आफ्नो सेसनको आरम्भ गर्नुभएका न्यौपानेले करिब ४५ मिनेटको अवधिमा दैनिक हिडडुल गर्दा व्यहोर्नुपरेका समस्याहरुका बारेमा भने केही पनि बोल्नुभएन । सहभागीको ध्यान आफूतिर आकृष्ट गर्नका लागि हो वा साँच्चिकै दैनिक १० किलोमिटर हिड्नुहुन्छ ? त्यो त उहाँलाई नै थाहा होला ।
थाहा भएको कुरा चाहिं के भने ‘काठमाडौको फोहोर व्यवस्थापन, सार्वजनिक शौचालयको समस्या र यसको व्यवस्थापन, दिसाजन्य लेदोको व्यवस्थापन एवं आकाशेपानीको संकलन लगायत बिषयमा वडा सदस्यहरुलाई जानकारी गराउने र समाधानको उपाय खोज्ने हेतुले चार दिने तालिम होटल एयरपोर्टमा भईरहेको छ । पहिलो २ दिनमा वडा नं. १ देखि १६ सम्मका वडा सदस्यहरु र पछिल्ला २ दिनमा वडा नं. १७ देखि ३२ सम्मका वडा सदस्यहरुले भाग लिनेछन् ।