अरु केहीले नल्याएको खुसी खानेपानीले ल्यायो

 2175 पटक हेरिएको

 

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ७ चैनपुरकी गौमती छत्कुलीको सिङ्गो जीवन पानी ओसार्नमै बित्यो । पानी बोक्दा – बोक्दा ढाड खुईलिएपछि दिक्क भईसक्नुभएकी छत्कुलीलाई आफ्नै जीवनमा घरआँगनमै पानीको धारा खस्छ भन्ने विश्वासै लागेको थिएन ।

ज्वालामुखी गाउँपालिका ७ धारापानीकी अम्बिका उपाध्याय पनि घरआँगनमै धारा बनेपछि दंग हुनुहुन्छ । ‘अरु केहीले पनि नदिलाएको खुसीयाली मिलेको छ’ छत्कुलीले भन्नुभयो ।

चैनपुरकी गौमती छत्कुली र धारापानीकै अम्बिका उपाध्यायको भन्दा अझ दुःखका कहानी छन् डाँडाथोककी शारदा रिजालसँग । रिजाल भन्नुहुन्छ ‘उज्यालो नहुँदै पधेंरामा पुग्नेको तछाडमछाड हुन्थ्यो, टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यताले कति पटक पानी पनि सापटी गरेर चलायौं, यस्ता धेरै कथा छन् जुन भनेर सकिदैन ।’

सदरमुकाम धादिङबेसीबाट १९ किलोमिटर उत्तरमा पर्ने ज्वालामुखी गाउँपालिकाको चैनपुर, धारापानी, डाँडाथोक र कोटथोक गाउँको पानीको दुःख अब सधैंका लागि सकिएको छ । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक एवं फोकस नेपालको प्राविधिक सहयोगमा खानेपानी आयोजना सम्पन्न भएपछि बर्षौदेखि पानी समेत ऐंचोपैचो गरेर गुजारा चलाउँदै आएका १६१ घरको खानेपानीको दुःख सदाका लागि अन्त्य भएको हो ।

टुहुरे खोलाको मुहानबाट बस्तीको सबै भन्दा माथि पर्नेे अनकन्या मन्दिर सम्म पुग्दा भर्टिकल हाईट ३ सय २३ मिटर र लम्बाई १६ सय मिटर रहेको छ ।

आयोजना सम्पन्न हुनु अघि हरेक बिहान पानी बोक्नमै बित्ने महिलाहरुको दैनिकी समेत फेरिएको छ, खानेपानीले । धारापानीकी अम्बिका उपाध्याय भन्नुहुन्छ ‘खानेपानीकै लागि भौतारिंदा सास फेर्ने फुर्सद हुदैनथ्यो, अहिले त बैठक, तालिम, समूहको छलफलमा पनि भाग लिन पाएका छौं, तालिम तथा बैठकबाट पनि धेरै कुरा सिक्न पाएका छौं ।’

महिलाहरु खानेपानीकै लागि भौतारिनु पर्दा आर्थिक उपार्जनको कामहरु ठप्पै हुने गरेको चैनपुरकी गौमती छत्कुलीले सुनाउनुभयो । ‘हाम्रो जुनी त यसरी नै बित्यो, तर अहिलेका छोरी बुहारीले सागपात फलाएर पैसा कमाउन पनि थालेका छन्, यो सबै खानेपानीको व्यवस्थाले गर्दा भयो, पहिले त्यस्तो थिएन ।’

२०७१ सालमा निर्माण सुरु भएको खानेपानी आयोजनाको गत जेठ २७ गते खानेपानीमन्त्री बिना मगरले उदघाटन गर्नुभएको थियो ।

 

खानेपानी आयोजनाबाट काटथोक, डाँडाथोक, थापाथोक र चैनपुरका एक सय १६१ घरपरिवार, सालवास माध्यमिक विद्यालय, साना किसान कृषि सहकारी संस्था र अनकन्या मन्दिरका भक्तजन लाभान्वित भएका छन् ।

तीन वटा मुहानको पानी जम्मा गरेर खानेपानी  

ज्वालामुखी गाउँपालिकाको काटथोक, डाँडाथोक, थापाथोक र चैनपुर गाउँभन्दा तलतिर रहेको तीन वटा मुहानको पानी जम्मा गरेर लिफ्टिङ प्रविधिबाट डाँडामा जम्मा गरेपछि वितरण गरिएको हो । टुहुरेखोला मुहान, खोपखोला र कमेरे खोलाको पानी तीनवटा इन्टेक बनाएर संकलन गरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रप्रसाद छत्कुलीले बताउनुभयो । उहाँका अनुसार टुहुरे खोलाको मुहानबाट बस्तीको सबै भन्दा माथि पर्नेे अनकन्या मन्दिर सम्म पुग्दा भर्टिकल हाईट ३ सय २३ मिटर र लम्बाई १६ सय मिटर रहेको छ ।

बिद्युतीय लिफ्टिङ प्रविधिबाट पानी जम्मा गरी वितरण गरिएकोे आयोजनामा ४ वटा इन्टेक, १२८ घन मिटर क्षमताका ६ वटा ट्याङ्की र ४ ठाउँमा पम्प हाउस बनाईएको छ । यसैगरी २ ठाउँमा पानी वितरण केन्द्र, ७ वटा पम्प र ७ वटा प्यानल वोर्ड रहेको छ ।

उपभोक्ता समितिका सचिव टंक छत्कुलीका अनुसार १ करोड ३४ लाख ४२ हजार ३६ रुपैयाँको लागतमा आयोजना सम्पन्न भएको हो । जसमध्ये फण्डबोर्डबाट ३६ लाख ६२ हजार, बिद्युत लाइन बिस्तारका लागि ३० लाख, २४ लाख बराबरको श्रमदान, तत्कालीन जिल्ला विकास समिति धादिङबाट ४ लाख ६९ हजार ८१६, साबिकको चैनपुर गाविसबाट ७४ हजार, आरनढुंगा सामुदायिक बन उपभोक्ता समूहबाट २ लाख ८९ हजार, अंधेरी सामुदायिक बनबाट २ लाख ८१ हजार, उपभोक्ताबाट संकलित ७ लाख १७ हजार ६ सय रुपैयाँ नगद, मर्मत कोषबाट संकलित ८० हजार, फोकस नेपालबाट ३४ हजार, ज्वालामुखी ७ नम्बर वडा कार्यालयको ८ लाख रुपैयाँ, अन्य महिला समूह, वडाको टु्क्रे योजना, स्थानीय महिला समूहबाट संकलन गरी स्रोत जुटाईएको हो ।

ज्वालामुखी गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तेजनाथ लोहनीले खानेपानी आयोजना सम्पन्न भएपछि उत्तरी धादिङका हजारौं नागरिकको खानेपानीकै लागि गर्नुपर्ने दुःख हटेको बताउनुभयो । उहाँले सरकारको एक घर एक धारा नीतिलाई साकार पार्न स्थानीय सरकार, प्रदेश एवं संघीय सरकार, दातृ निकाय, गैरसरकारी संस्था र स्थानीय बासिन्दाले सधैं हातेमालो गर्नुपर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार