खानेपानी विधेयकको दफा २ मा सबैभन्दा बढी संशोधन प्रस्ताव, कसको के प्रस्ताव ?

 1216 पटक हेरिएको

काठमाडौ : संसदको बर्षे अधिवेशनमा पेश गरिएको ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हिउँदे अधिवेशनबाट पारित गर्ने योजना छ । प्रतिनिधिसभामा २०७६ असार २२ गते खानेपानीमन्त्री बिना मगरले प्रस्तुत गर्नु भएको विधेयक माथिको सैद्धान्तिक एवं दफावार छलफल सकिएको छ ।

अब विधेयक माथि प्राप्त संसोधन प्रस्तावको बिषयमा संसदको विकास तथा प्रविधि समितिले आवश्यक छलफल गरी प्रतिवेदन पेश गरेपछि संसदले पारित गर्नेछ । त्यसपछि राष्ट्रिय सभाले पारित वा फिर्ता, के गर्ने ? सो गर्नेछ । संसदमै फिर्ता पठाएमा पुनः राष्ट्रिय सभाले पारित गरेपछि राष्ट्रपति कार्यालयमा पेश हुनेछ । राष्ट्रपति कार्यालयले प्रमाणीकरण गरी राजपत्रमा प्रकाशित भएपछि खानेपानी तथा सरसफाइ ऐन बन्नेछ ।

विधेयकमा १४५ वटा संसोधन प्रस्ताव परेकामा सबैभन्दा बढी दफा २ माथिको संसोधन प्रस्ताव परेको छ । दफा २ मा सांसद गगनकुमार थापा, दुर्गा पौडेल, प्रेम सुवाल, आशा कुमारी विक लगायतले २० वटा संसोधन प्रस्ताव दर्ता गराएका छन् । विधेयकको दफा २ मा विधेयकमा रहेको संस्था, समिति एवं अन्य शब्दको ‘परिभाषा’ गरिएको छ ।

कसले के संशोधन प्रस्ताव गरे ?

दुर्गा पौडेल र प्रेम सुवाल

– खण्ड (क) र (ख) हटाई त्यस पछिका खण्डहरुको क्रम मिलाउनुपर्ने ।

गगनकुमार थापा

— खण्ड (ख) पछि देहायको खण्ड (ग) थप गरी त्यसपछिका खण्डहरुको क्रम मिलाउनुपर्ने :
ग) ‘आधारभूत खानेपानी सेवा भन्नाले नागरिकको न्यूनम आवश्यकता पूर्तिका लागि सरकारले सुलभ र नियमित रुपमा निःशुल्क उपलब्ध गराउने नेपाल सरकारले तोक बमोजिमको न्यूनतम खानेपानी सेवा सम्झनुपर्छ ।’
– खण्ड (छ) मा रहेको स्थानान्तर भन्ने शब्दपछि प्रशोधन भन्ने शब्द थप्नुपर्ने ।
– खण्ड (ञ) मा तत्व नभएको भन्ने शब्दहरु पछि नेपाल खानेपानी गुणस्तर मापदण्ड बमोजिमको भन्ने शब्दहरु थप्नुपर्ने ।

ध्रुवकुमार शाही, आशाकुमारी विक, गंगा चौधरी, विमला विश्वकर्मा, मेटमणि चौधरी, घनश्याम खतिवडा, नारदमुनि राना, पार्वत गुरुङ

– खण्ड (च) मा रहेको उपभोक्ता संस्था भन्नाले भन्ने शब्दहरु पछि सम्बन्धित उपभोक्ताहरु सदस्य भई भन्ने शब्दहरु थप्नुपर्ने ।
खण्ड (ज) मा रहेको खानेपानीको सार्वजनिक उपयोग भन्नाले भन्ने शब्दहरु पछि सबै किसिमका आयोजनाहरुबाट भन्ने शब्दहरु थप्नुपर्ने ।

सञ्जय कुमार गौतम, राजेन्द्र कुमार केसी

– खण्ड (छ) मा रहेको स्थानान्तर भन्ने शब्दको सट्टा स्थानान्तर, प्रशोधन भन्ने शब्दहरु राख्नुपर्ने ।

– खण्ड (ञ) मा रहेको स्वास्थ्यको लागि भन्ने शब्दहरु पछि नेपाल गुणस्तर मापदण्ड बमोजिम भन्ने शब्दहरु थप गर्नुपर्ने ।

 

प्रेम सुवाल

– खण्ड (ञ) को सट्टा देहायको खण्ड (ञ) राख्नुपर्ने :
– (ञ) गुणस्तरीय खानेपानी भन्नाले नेपाल सरकारको प्रयोगशालाले परिक्षण गरी मानव स्वास्थ्यको लागि आवश्यक तत्व भएको भनी प्रमाणित गरेको खानेपानी सम्झनुपर्दछ ।
– खण्ड (ट) को सट्टा देहायको खण्ड (ट) राख्नुपर्ने :
– (ट) घरेलु उपयोग भन्नाले नेपाल सरकारको प्रयोगशालाले मानिसले पिउन, हातमुख तथा लुगा धुन, नुहाउन, खाना पकाउन, जीवजन्तु तथा पशुपंक्षीलाई उपयुक्त भनी नेपाल सरकारको प्रयोगशालाले परीक्षण गरी प्रमाणित गरेको सम्झनुपर्दछ ।
– खण्ड ध मा रहेको कम्पनी भन्ने शब्दको सट्टा सार्वजनिक कम्पनी भन्ने शब्दहरु राख्नुपर्ने ।

जीवनराम श्रेष्ठ

– खण्ड (ज) को सट्टा देहायको खण्ड ज राख्नुपर्ने ।
ज) खानेपानीको सार्वजनिक उपयोग भन्नाले ऐन बमोजिम सर्वेक्षण, निर्माण, सञ्चालन तथा व्यवस्थापन गर्न अनुमति लिनुपर्ने खालका आयोजनाबाट सार्वजनिक रुपमा वितरण गरिने खानेपानीको उपयोग सम्झनुपर्दछ ।
– खण्ड (ठ) को सट्टा देहायको खण्ड (ठ) राख्नुपर्ने :
–(ठ) ढल निकास भन्नाले मानव मलमूत्र सहित वा रहितको फोहोर पानीलाई भूमिगत वा अन्य कुनै सुरक्षित तरिकाबाट संकलन र स्थानान्तरण गर्ने कार्य सम्झनुपर्दछ । यो शब्दले मानव मलमूत्र रहितको फोहोर पानीलाई सतही ढल प्रणालीबाट सुरक्षित रुप्मा स्थानान्तरण गर्ने कार्यलाई समेत जनाउनेछ ।
– खण्ड (ण) मा रहेको पोखरी भन्ने शब्द पछि ढुङ्गेधारा भन्ने शब्द थप्नुपर्ने ।
– खण्ड द मा रहेको पानीको स्रोतको संरक्षण गर्न र केन्द्र भन्ने शब्दहरु हटाउनुपर्ने ।

खगराज अधिकारी

– खण्ड ठ मा रहेको ढल निकास भन्नाले भन्ने शब्दहरु पछि मानव वा अन्य जीवहरुको स्वास्थ्यमा कुनै प्रतिकुल प्रभाव नपर्ने गरी भन्ने शब्दहरु थपगर्नुपर्ने ।
– विधेयकको धेरै ठाउँमा तोकिएको वा तोकिए बमोजिम भन्ने शब्दहरु परेको हुँदा तोक्नुपर्ने कुराहरु यसै विधेयकमै तोकेर कमभन्दा कम ठाउँमा मात्र यो शब्दावली राखी कानुन निर्माण गर्नुपर्ने ।
– खण्ड (ण) मा रहेको आकाशे पानी तथा पानीको आपूर्ति गर्ने मानव निर्मित संरचनालाई भन्ने शब्दहरुलाई अर्को खण्ड थप गरी परिभाषित गर्नुपर्ने ।

 

बिन्दा पाण्डे र बिना कुमारी श्रेष्ठ

– विधेयकको ठाउँ ठाउँमा प्रयोग भएका पहुँच र व्यवसायिक उपयोग भन्ने शब्दहरुको परिभाषित गर्नुपर्ने ।
सांसदहरुले यी र यस्ता थुप्रै बिषयमा गरी १४५ वटा संशोधन प्रस्ताव दर्ता गराएका छन् । उक्त प्रस्तावहरु उपर संसदको विकास तथा प्रविधि समितिमा छलफल गरिनेछ । तर समितिको छलफल गर्नु अघि संशोधनकर्ताहरु सँग अनौपचारिक तरिकाले समेत छलफल गरिने समितिकी सभापति कल्याणी खड्काले जानकारी दिनुभयो ।

संसदमा पेश गरिएको खानेपानी तथा सरसफाइ विधेयक :

https://washkhabar.com/np/wp-content/uploads/2019/12/2in9chwzsttzqafl.pdf


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार