भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्रका ईट्टा भट्टा व्यवसायीहरुलाई खानेपानी, सरसफाइ तथा स्वच्छताका बिषयमा अभिमुखीकरण गरिएको छ । चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका २८ वटा ईट्टा उद्योगी एवं व्यवसायीलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा सहभागिताका लागि ५२ वटा ईट्टा उद्योगलाई खबर गरिएको थियो ।
कार्यक्रमको पहिलो सत्रमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी तिम्सिनाले चाँगुनारायण नगरपालिका आगामी २०७८ पुस मसान्त भित्र पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउने लक्ष्यका साथ विभिन्न अभियानहरु सञ्चालन गरिरहेको जानकारी गराउनुभयो । उहाँले यो अभियानमा ईट्टा उद्योगी व्यवसायीहरुको समेत महत्वपूर्ण भूमिका हुने भएकाले ईटाभट्टा परिसर सफा राख्न, शौचालय सफा राख्न र वातावरणमैत्री क्रियाकलाप अपनाउन आग्रह गर्नुभयो ।
कार्यक्रमको पहिलो सत्रलाई समापन गदै चाँगुनारायण नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले ईट्टा उद्योग क्षेत्रको सरसफाइको अवस्था कम्जोर भएकाले कार्यशालाबाट आगामी दिनमा सुधार हुने विचार व्यक्त गर्नुभयो । उद्योग क्षेत्र भित्र प्लाष्टिकको व्यवस्थापनको साथै फोहोरमैलाको उचित व्यवस्थापन हुुनुपर्ने, श्रमिकको स्वास्थ्य र सरसफाइको अवस्थामा सुधार गर्नुपर्ने, ईट्टा उद्योगबाट निस्कने धँुवा धुलोको उचित व्यवस्थापन गरी उद्योगहरु प्रदुषणमुक्त नयाँ प्रविधिमा जानुपर्ने उहाँको भनाइ थियो ।
अभिमुखीकरण कार्यक्रममा यु.एन.ह्याविट्याटकी जिल्ला संयोजक पार्वती दंगालले पूर्ण सरसफाइको अवस्था र सूचकहरुको विषयमा जानकारी गराउनु भयो । नगरपालिकाको पूर्ण सरसफाइ कार्यक्रमका कार्यक्रम संयोजक राम सत्यालले उद्योग व्यवसाय क्षेत्रमा खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा वर्तमान अवस्था कस्तो रहेको छ भन्ने विषयमा सहभागी उद्योगी व्यवसायीहरुको बीचमा सर्वेक्षण गर्नुभयो ।
१७ वटा ईट्टा उद्योगमा वाटरशिल शौचालय
जसअनुसार २८ वटा ईट्टा उद्योग मध्ये १७ वटामा वाटरशिल शौचालय रहेको र बाँकी ११ मा खाल्डे चर्पी रहेको, २० वटा ईट्टा उद्योगको शौचालयमा साबुन पानीको व्यवस्था भएको साथै फोहोरमैलाको व्यवस्थापन पक्षमा प्राप्त तथ्याङ्क अनुशार ४ वटा उद्योगले सेवा प्रदायक संस्थालाई फोहोर पठाउने र बाँकी अन्य उद्योगहरुले गाड्ने वा जलाउने गरेको पाईयो । साथै १३ वटा उद्योगले मात्र शुद्धिकरण गरेको पानी प्रयोग गर्ने गरेको पाईयो ।
ईट्टा भट्टा उद्योगी व्यवसायीहरुले आफ्नो उद्योग क्षेत्रमा खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमासुधार गर्न निम्न प्रतिबद्धता जनाएका छन् ।
ईट्टा भट्टा उद्योगी व्यवसायीले जनाएका प्रतिबद्धता
– ईट्टा भट्टामा कार्यरत श्रमिक तथा कर्मचारीहरुको लागि वाटरशिल शौचालय निर्माण गर्ने ।
– ईट्टा भट्टा क्षेत्रको फोहोरमैलालाई फोहोर संकलन गर्ने सेवा प्रदायक संस्था मार्फत फोहोर पठाउने ।
– शौचालयमा अनिवार्य साबुन पानीको व्यवस्थापन गर्ने ।
– ईट्टा भट्टामा पानी शुद्धिकरणको कुनै एक बिधि अपनाउने ।
– ईट्टा भट्टाबाट निस्किएको फोहोर पानीको उचित व्यवस्थापन गर्ने ।
– महिला र पुरुषको लागि अलग – अलग शौचालयको व्यवस्थापन गर्ने ।
– ईट्टा भट्टामा कार्यरत महिला श्रमिकले महिनावारीको समयमा प्रयोग गरिएको प्याड वा कपडाको उचित व्यवस्थापन गर्न लगाउने ।
ईट्टा भट्टा क्षेत्रको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी आचार संहिता निर्माण तथा यस सम्बन्धी अनुगमनका लागि अनुगमन समिति निर्माणको बिषयमा ईट्टा उद्योग व्यवसायी संघ, भक्तपुर जिल्ला समितिलाई पत्राचार गरी आगामी दिनमा बैठक बसी तयार गर्ने निर्णय समेत गरिएको छ ।
ईट्टा उद्योगी व्यवसायीहरुको सल्लाह
– फोहोर मैला संकलनको लागी नगरपालिकाबाट गाडीको व्यवस्थापन हुनुपर्ने ।
– छाडा कुकुरको व्यवस्थापन हुनुपर्ने ।
– ईट्टा भट्टामा कार्यरत श्रमिकहरुको लागी स्वास्थ्य शिविर र सरसफाइ सम्बन्धी जनचेतना मूलक कार्यक्रम संचालन गनुपर्ने धारण राख्नु भएको थियो ।
कार्यक्रमको समापन सत्रमा यु.एन. ह्याविट्याटकी जिल्ला संयोजक पार्वती दंगालले जसरी व्यवसाय संचालनको लागि बार्षिक योजना बनाईन्छ त्यसरी नै खानेपानी, सरसफाइ र स्वच्छताको पनि बार्षिक योजना बनाएर अगाडि बढ्नु पर्ने धारणा राख्नु भएको थियो । ईट्टा उद्योगमा कार्यरत श्रमिकहरुको स्वास्थ्य उपचार खर्चमा पनि विगतमा भन्दा कमी आई रहेको र ईटाभट्टा उद्योगमा उचित शौचालयको ब्यवस्था भएकाले सकारात्मक परिणाम आएको व्यवसायीहरुले बताएका थिए ।
उद्योग क्षेत्रको पनि नियमित सफाइ गरौं – मेयर मिश्र
चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्रले मानिसको घर र भान्छाको सरसफाइ गरे जस्तै हामीले उद्योग क्षेत्रको पनि नियमित रुपमा सरसफाइ गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले फोहोरमैला व्यवस्थापनको लागि नगरक्षेत्र भित्र नै ल्याण्डफिल्ड साईटको निर्माण, दिसाजन्य लेदो व्यवस्थापन, फोहोरमैलाको वर्गीकरण गरी फोहोरको उचित व्यवस्थापन गर्ने योजना रहेको बताउनुभयो ।
वहाँले ईट्टा उद्योग प्रति जनताको दृष्टिकोणलाई उद्योग परिसर क्षेत्रमा सरसफाइ कायम गरी वातावरणमैत्री उद्योग निर्माण गरी आम मानिसको धारणा परिवर्तन गर्न सकिने बताउनुभयो । चाँगुनारायण नगरपालिकामा Global Sanitation Fund र UN-Habitat को सहयोगमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेको छ ।