डोटी : विद्यालय जाने समय भइसकेको थियो । भान्सामा काम गर्दै गरेकी ममता देखापरिन् । उनका पछिपछि नीतेश दौरा सुरुवाल र ढाकाटोपीमा देखा परे । ममता र नीतेश (श्रीमान्/श्रीमती) बीच घरायसी छलफल भयो । लगत्तै पेट मिच्दै र रुँदै छोरी अस्मिता आइन् । उनीहरू आत्तिए ।
आमाले पटकपटक सोधेपछि आफू महिनावारी भएको खबर कानमा सुटुक्क सुनाइन् । पहिलोपटक छोरी महिनावारी भएको सुनेपछि भने सरस्वतीले छोरीलाई बसेको ठाउँबाट पर जान आदेश दिइन् । कसैलाई नछुन र आज विद्यालय नजान पनि अनुरोध गरिन् । विद्यालय जानका लागि अस्मिताका साथीहरू बोलाउन आए । तर उनका बुवा नीतेशले हकारेर पठाए ।
यो सबै दृश्य डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल हेरिरहेका थिए । केआईसिंह गाउँपालिका–५ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयका छात्राहरू महिनावारी हुँदा विद्यालय जान पाउँदैनन् भन्ने खबर थाहा पाएका पौडेल गत शनिबार विद्यालयमा पुगेका थिए । सोही क्रममा सरस्वती माविका विद्यार्थीहरूले भूवनेश्वरी माविकै प्रांगणमा छाउपडी प्रथाप्रतिको अन्धविश्वासले विद्यालय आउन नपाउने समस्याबारे नाटक देखाएका हुन् । सरस्वती माविका परिवर्तनशील रेडियो स्रोता समूहका विद्यार्थी शिबि बिकले भुववनेश्वरी माविमा देखापरेको समस्या समाधानका लागि सडक नाटकमार्फत जनचेतना जगाउन लागिपरेको बताए ।
प्रजिअ पौडेलले छात्राहरूलाई विद्यालयमा आउने वातावरण बनाउन सबै एकजुट हुनु पर्नेमा जोड दिए । विद्यालय आउनबाट रोक लगाए कानुन अनुसारको कारबाही हुने उनले बताए । शनिबार पौडेलसहित डोटीका सुरक्षा निकायका प्रमुख, पत्रकार, जनप्रतिनिधि लगायतको टोली जनचेतना जगाउन प्रहरी समुदाय साझेदारी कार्यक्रम लिएर विद्यालय पुगेका थिए ।
केआईसिंहकी उपाध्यक्ष मीना बिष्टले छाउपडी प्रथासम्बन्धी रहेको भ्रम हटाएर विद्यालयमा छात्राहरूलाई पढ्ने वातावरण बनाउन आफूहरू लागिपर्ने बताइन् । उक्त विद्यालयमा विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसी) ले पैरवी गरिरहेको छ । सो कार्यक्रममा २० जना छात्राहरूमाथि गरिएको अध्ययन प्रतिवेदन समेत एफएमडीसीले सार्वजनिक गरेको थियो ।
भुवनेश्वरीका छात्राहरू विद्यालय परिसर र बाटोमा मठमन्दिर भएकाले महिनावारी भएका बेला आउन मान्दैनन् । उक्त संस्थाको प्रतिवेदनअनुसार भुवनेश्वरीमा कक्षा ६ देखि १० सम्म छात्राको संख्या ४७ रहेको छ । जसमध्ये २५ जना महिनावारी हुने गरेका छन् । ती मध्ये २० जना अहिले पनि देवीदेवता रिसाउने डरले विद्यालय आउने गरेका छैनन् । ‘घरबाट नै आउन प्रतिबन्ध छ’, कक्षा १० की इन्दिरा जोशीले भनिन्, ‘अभिभावकहरूलाई जति अनुनय विनय गरे पनि आउन नदिएकाले अरुले सम्झाइदिए प्रभाव पर्थ्यो कि जस्तो लाग्छ ।’