सल्यान : सल्यान जिल्लामा खानेपानी विस्तारका लागि ९ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको छ । चालू आर्थिक वर्षमा काम सम्पन्न गर्नका लागि प्रदेश सरकारबाट ६ करोड र केन्द्र सरकारबाट ३ करोड ७४ लाख रुपैयाँ विनियोजन गरिएको हो ।
जिल्लामा अहिले ३५ ओटा खानेपानी योजना सञ्चालनका लागि काम भैरहेको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, सल्यानले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा प्रदेश सरकारको बजेटबाट १९ र केन्द्र सरकारको बजेटबाट १६ ओटा खानेपानी योजनाको काम भईरहेको छ ।
कार्यालयका निमित्त प्रमुख प्रेमबहादुर वलीले अहिले ती खानेपानी योजनाहरूको सर्वे तथा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम भैरहेको जानकारी दिनुभयो । ‘अहिले जिल्लामा खानेपानीको राम्रो बजेट आएको छ, हामीले ती खानेपानी योजनाको सर्वे र डीपीआरको कामलाई अन्तिम चरणमा पु¥याएका छौ’ उहाँले भन्नुभयो ।
अहिले सल्यानमा साना ठूला गरी खानेपानीका एक हजार बढी आयोजना छन् । जिल्लाका करीब ४७ हजार घरपरिवारमध्ये करीब नौ हजार घरपरिवार अझै शुद्ध खानेपानीको पहुँच बाहिर छन् ।
वलीले खानेपानी योजनाहरू उपभोक्ताहरूको सक्रियतामा सञ्चालन गरिने बताउनुभयो । ‘खानेपानी आयोजनाहरूको काम बजेट सुनिश्चित भएको अवस्थामा टेण्डर प्रक्रिया मार्फत काम अघि बढ्छ, बजेट सुनिश्चित नभएको अवस्थामा स्थानीय उपभोक्ता मार्फत नै काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो । अब बन्ने खानेपानी योजनामा ‘एक घर एक धारा’ अभियान अन्तर्गत सबैको घरघरमा खानेपानीका धारा जडान गरिने उहाँले बताउनुभयो ।