लिफ्ट प्रविधिले घरघरै धारा, सार्वजनिक धारा निर्माणमा लाग्ने लाखौं रकम जोगियो

बागलुङ : खोल्सामा मुहानबाट एक गाग्री पानी ल्याउन डेढ घण्टा खर्चनुपर्थ्यो । बिरामी पर्दा झनै सास्ती । तर अहिले बागलुङ नगरपालिका–७ की मंगली चर्माकारको भोगाइ फेरिएको छ । घरमै धारा आउँदा उनी हर्षित छिन् ।

पानी ओसारेरै जीवन जाने भो भन्ने सोचेका कविराम किसानले पनि त्यो समय अरू काममा खर्चन पाएका छन् । पहिले पानी ल्याउँदै बिहान बित्ने उनी अहिले छोराछोरीलाई बेलैमा खुवाएर विद्यालय पठाउन सक्छन् । जति बेला चाहियो, धारामै पानी आउँछ ।

ढिकीचौर, भिरलाँकुरी, हर्राबोट, माझकोट, गौंडाकोट, कालीमाटी लगायत दर्जन टोलका बासिन्दाको वर्षौंदेखिको समस्या समाधान भएको छ । हरेक खानेपानीका मुहान संरक्षण गरेर संकलन ट्यांकी बनाउने, लिफ्ट प्रविधि मार्फत रिजर्भ ट्यांकी बनाएर घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष खगराज पाण्डेले बताए । ‘पानीको दुःख नहोस् भनेर जनप्रतिधि आएको पहिलो वर्षनै लिफ्ट प्रविधि थालेका हौं,’ उनले भने, ‘वडा र नगरपालिकाको अधिकांश बजेट खानेपानीमा विनियोजन भयो ।’ सडक र अन्य पूर्वाधारमा रकम लगाए पनि प्राथमिकता पानीलाई दिइएको उनले बताए । ढिकीचौर खानेपानी उपाभोक्ता तथा सरसफाइ समितिका सचिव हरिराज पाण्डेको पनि सुखद अनुभव छ । समयमा खानपिन गरेर विद्यालयमा पढाउन जाने उनको सपना पनि खानेपानीले पूरा गरिदिएको छ ।

यस अघि पानी ओसार्नुपरेकै कारण कयौं पटक समयमा विद्यालय पुग्न नसकेको उनको अनुभव थियो । ‘अहिले मासिक एक सय रुपैयाँ तिरेर घरकै धारामा पानी आउन थालेको छ,’ उनले भने, ‘पैसाभन्दा यसअघिको सास्तीको हिसाब धेरै महँगो थियो ।’ मासिक २० युनिटसम्म पानी एक सय रुपैयाँमा पाउने भएपछि सबै खुसी छन् । बालबालिकाले बिहान–बेलुकी पढ्ने अवसर पाएको पाण्डेले बताए । ‘पहिले धेरै घरपरिवारले बालबालिकालाई पनि गाग्री र ग्यालिनमा पानी बोकाउने गर्थे,’ उनले भने, ‘अब त्यो हटेको छ ।’ मुहानबाट पाइपमा ल्याउन मिल्ने टोलटोलमा पनि एक–दुईवटा मात्र सार्वजनिक धारा थिए । यो खबर कान्तिपुर दैनिकले छापेको छ । तिनमा लाइन बसेर पानी थाप्नुपर्थ्यो । बिहान–बेलुकी भिड हुने, दिउँसो खेर जाने पानी अहिले बचत भएको उनले बताए ।

निजी धाराले जोगायो लाखौं रकम

सार्वजनिक धारा बनाउँदा लाखौं खर्च हुन्थ्यो । तीन वर्षदेखि त्यस्तो खर्च पूरै जोगिएको छ । स्थानीयले शुल्क उठाएपछि मर्मत सम्भार खर्च पुग्दो रहेको पाण्डेले बताए । नियमित हेरालो राखेर पानी वितरण गरिएको छ ।

वडाध्यक्ष पाण्डेका अनुसार आयोजनामा ११४ घरका धारा बनाउन २२ लाख खर्च भएको छ । त्यस्तै मालिकाका ३६ घरमा १८ लाख खर्च भएको थियो । लिफ्ट योजनामार्फत गौंडाकोटका १२ घर, हर्राचौरका ८०, माझकोटका ५०, मूलपानीका ९०, बाटुलेका ९५, तितौरेका ३ सय घरलगायतमा पनि खानेपानी योजना निर्माण भइरहेका छन् । चालू वर्ष ती घरमा लिफ्टविधिबाटै पानी पुग्नेछ । यो वडाका १ हजार ७ सय घरमध्ये अब ५ सयजतिमा मात्र पुराना धारा छन् ।

नगरपालिकाले पनि सार्वजनिक धारा विस्थापित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि क्रमागत बजेटमार्फत काम भइरहेको छ । चालू वर्ष २ हजार घरमा धारा जडान गरिसक्ने कार्यक्रमअनुसार लगानी र काम भएको नगरप्रमुख जनकराज पौडेलले बताए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार