होक्सेमा खानेपानीको कन्त बिजोग, स्रोत थप्ने बिषयमा सम्भाव्यता अध्ययन

 1042 पटक हेरिएको

 

काभ्रेपलाञ्चोक : थोपा – थोपा संकलन गरेको पानीले ट्याङकी भरिनै मुश्किल । खासै ठूलो क्षमताको ट्याङ्की पनि होइन, मात्र २० हजार लिटरको । ३६ घण्टा लगाएर जम्मा गरेको पानी सीधै माथिको डाँडामा पम्पिङ गरेपछि १९४ घरपरिवारलाई वितरण गर्नुपर्छ । करिब एक घण्टा पम्पिङ गरेर वितरण गरिएको पानी प्रति परिवारको भागमा ५० लिटर भन्दा पनि कम पर्छ ।

सुन्दा एकादेशको कथा जस्तो लाग्ने यो वास्तविकता हो पाँचखाल नगरपालिका वडा नं. ८ मा रहेको जनता आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको । भूकम्प पछि पाँचखाल नगरपालिका ८ को माथिल्लो होक्से, तल्लो होक्से, होक्से बजार, थुम्का, साकिने, डाँडाबारी, जलढुङ्गे, डाँडाखर्क, भीरबारी, राताडीका बासिन्दाले आँत भिज्ने गरी पानी पिउन पाएकै छैनन् ।

 

केही दिन अघि खानेपानीको स्रोत थप गर्ने बिषयमा सम्भाव्यता अध्ययन गर्न होक्से पुगेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका आयोजना प्रमुख नन्द बन्जाडे नेतृत्वको टोलीसँग होक्सेका बासिन्दाले खानेपानीको चरम अभाव रहेको बताए ।

भूकम्प अघि खानेपानी छ्यालब्याल भएपनि भूकम्पपछि खानेपानीको स्रोत भासिएर दुःख पाएको होक्से बजारका हरि प्रसाद सापकोटाले बताउनुभयो । भूकम्प अघि पानी जम्मा गर्ने ट्याङ्की देखाउँदै उहाँले भन्नुभयो ‘पानीको स्रोत भासिएर स्थान नै परिवर्तन भएपछि इन्टेक पनि पहिले भन्दा तलतिर सारियो तर पहिलेको तुलनामा अति कम पानी जम्मा भएपछि पानीको दुःख भयो ।’

खानेपानीको अभावमा नजिकै रहेको अर्को खानेपानी उपभोक्ता समितिसँग चर्को महसुल तिरेर खानेपानीको आपूर्ति गर्दै आएको जनता आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ । समितिका अनुसार मासिक ६२ हजार रुपैयाँ महसुल तिरेर होक्से खानेपानी तथा सरसफाइ उपभोक्ता समितिबाट दैनिक ६० हजार लिटर खानेपानी आपूर्ति गर्दै आएको छ ।

 

समितिले हरेक घर परिवारबाट १० युनिटको ३ सय रुपैयाँ महसुल संकलन गर्दै आएको छ । बर्षौदेखि खानेपानी उपभोग गर्दै आएको पुरानै उपभोक्तालाई समेत खानेपानी अपुग भएपछि जनता आदर्श खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नयाँ उपभोक्तालाई खानेपानी विस्तार नगरेको बर्षौ भईसकेको छ । समितिका तुलसी प्रसाद ढुङ्गानाका अनुसार सयौं नयाँ उपभोक्ताले खानेपानीको माग गर्दै आवेदन दर्ता गराएका छन् ।

उपभोक्ता समितिका गणेश प्रसाद गौतमले अहिलेको पानी संकलन गर्ने ट्याङ्की नजिकै डिप बोरिङ गरी पुरानो ट्याङ्कीमा जम्मा गर्ने र दोस्रो ट्याङ्की मार्फत पानी लिफ्टिङ गरी वितरण गर्ने योजना रहेको र यसमा आयोजनाले सहयोग गर्न आग्रह गर्नुभयो । ‘मूलको पानी संकलन गर्ने कहीं कतै स्रोत छैन, यहाँबाट डेढ÷दुई सय मिटरको दुरीमा डिप बोरिङ गर्दा पानी आयो भने त्यहाँबाट पुरानो ट्याङ्कीमा पानी जम्मा गरौं र पानीलाई लिफ्ङि गरौं’ उहाँले भन्नुभयो । यसो गर्दा अहिलेकै संरचनाले काम गर्ने र लागत पनि कम हुने बताउनुभयो ।

 

उपभोक्ता समितिको कुरा सुनेपछि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना हेटौडाका आयोजना प्रमुख नन्द बन्जाडेले डिप बोरिङको सम्भाव्यता अध्ययनका लागि इञ्जिनियरको टोली खटाईने र डिपबोरिङ हुने सम्भावना देखिएमा स्टिमेट तयार गरी योजना अघि बढाईने बताउनुभयो ।
खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरुले आफूहरु खानेपानी अभावमा काकाकुल झैं बन्नुपरेकाले चाँडो भन्दा चाँडो प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार