यी हुन् सेनिटरी प्याड वितरण कार्यविधिले गरेका मुख्य व्यवस्थाहरु (कार्यविधि सहित)

 1833 पटक हेरिएको

 

 

काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण एवं व्यवस्थापनका लागि सेनिटरी प्याड –वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ जारी गरी कार्यान्वयनमा ल्याएको छ । एक आर्थिक बर्षका लागि मात्र जारी गरिएको कार्यविधिले स्थानीय स्तरमा निर्मित पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड समेत वितरण गर्न सकिने लगायतको व्यवस्था गरेको छ । कार्यविधिमा के कस्ता प्रावधानहरु छन् त ?

कार्यविधिले गरेका खास – खास प्रवाधानहरु :

१. स्थानीय स्तरमा निर्मित पुनः प्रयोग गर्न सकिने सेनिटरी प्याडको व्यवस्था गर्न बाधा नपर्ने ।

२. सेनिटरी प्याडको गुणस्तरमा असर नपर्ने गरी व्यवस्थापन गर्नुपर्ने ।

३. स्थानीय तहले प्याड वितरण गर्दा विद्यालयको आवश्यकता, बजारमा प्याडको उपलब्धता, प्याडको उत्पादन तथा प्रयोग गर्ने मिति, स्थानीय तह तथा विद्यालयमा भण्डारण क्षमता जस्ता पक्षहरुमा ध्यान दिई त्रैमसिक, चौमासिक वा अर्ध बार्षिक रुपमा वितरण गर्न सकिने ।

४. सेनिटरी प्याड वितरणका लागि विद्यालयमा नर्स उपलब्ध भए सम्म नर्सलाई सम्पर्क व्यक्ति तोक्नुपर्ने ।

५. नर्स उपलब्ध नभएमा महिला शिक्षकक वा प्रारम्भिक बाल विकासका महिला सहजकर्ता वा महिला कार्यालय सहयोगी वा स्वास्थ्य जनसंख्या र वातावरण बिषय अध्यापन गर्ने शिक्षकलाई सम्पर्क व्यक्ति तोकी प्याड भण्डारण र वितरण गर्ने कार्यको जिम्मेवारी दिनुपर्ने ।

६. एउटा महिनावारी चक्रका लागि बढीमा १६ वटा सम्म सेनिटरी प्याड उपलब्ध गराउन सकिने ।

७. प्याड उपलब्ध गराउनु अघि प्रयोग गर्ने तरिका सम्बन्धमा जानकारी गराउनुपर्ने र बुझिलिएको भर्पाई सुरक्षित साथ राख्नुपर्ने ।

८. प्याड वितरण गरेको विवरण प्रत्येक महिनाको पहिलो हप्ता विद्यालयको सूचना पाटीमा टाँस गराउनुपर्ने ।

९. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्याडको गुणस्तर, प्रयोग गर्ने तरिका, प्रयोग पश्चात दिगो विसर्जन लगायतका बिषयमा श्रव्य दृश्य सामग्री तथा हाते पुस्तिका तयार गरी स्थानीय तहरुलार्इृ उपलब्ध गराउनुपर्ने ।

१०. स्थानीय तहले महिनावारी स्वास्थ्य, किशोरी स्वास्थ्य तथा सेनिटरी प्याडको प्रयोग र प्रयोग पश्चात त्यसको दिगो विसर्जन सम्बन्धमा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने ।

११. प्रयोग भएको प्याडलाई वातावरणमा प्रतिकुल असर नपर्ने गरी विद्यालयको हाताभित्र खाल्डो खनी पुर्नुपर्ने ।

१२. विद्यालय हातामा पुर्ने ठाउँको अभाव भएमा अन्य फोहोरमैला सरह यस्ता बस्तुको विसर्जन गर्नपर्ने ।

१३. सेनिटरी प्याड व्यवस्थापन, समन्वय र अनुगमनका लागि संघीय तहमा संघीय निर्देशक समिति, प्रदेश तहमा सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्वमा प्रदेश स्तरीय सेनिटरी प्याड व्यवस्थापन सहजीकरण समिति, स्थानीय तहमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाका उप्रमुखको संयोजकत्वमा स्थानीय तह स्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति र विद्यालय स्तरमा प्रधानाध्यापकको संयोजकत्वमा विद्यालय स्तरीय सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्नुपर्ने ।

१४. सेनिटरी प्याडको गुणस्तर पर्याप्त भए नभएको, सुरक्षित तवरबाट भण्डारण भए नभएको, छात्राहरुको आवश्यता अनुसार वितरण भए नभएको, महिनावारी स्वास्थ्य र किशोरी स्वास्थ्यका बिषयमा छात्राहरुलाई जानकारी दिने गरिए नगरिएको बारे गुनासो संकलन गर्न स्थानीय तह र विद्यालयले गुनासो पेटिकाको व्यवस्था गरी
महिनावारीका समयमा आवश्यक पर्ने महिनावारी व्यवस्थापन सामग्री उपलब्ध गराई उनीहरुको स्वास्थ्यमा सुधार गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाउनुपर्ने ।

१५. सेनिटरी प्याड किन्न वितरण गरिएको रकम सोही काममा प्रयोग गर्नुपर्ने, तालिम, तलब भत्ता, ढुवानी, प्राथमिक उपचार सामग्री खरिद जस्ता कुनै पनि काममा खर्च गर्न नपाईने ।

१६. स्थानीय तहले आफ्नै स्रोतमा बजेट व्यवस्था गरी वैकल्पिक महिनावारी व्यवस्थापनका सामग्रीहरु जस्तै ः टेम्पोन, महिनावारी कम खरिद गरी वितरण गर्न पनि सकिने ।

१७. स्थानीय तहहरुले एक आपसमा समन्वय गरी स्थानीय स्रोत, ज्ञान, सीप र उद्यमशीलता प्रबद्र्धन हुने गरी स्थानीय स्तरमा नै सेनिटरी प्याडको उत्पादन, उपयोग र वितरण गर्न सक्ने ।

 

हेर्नुहोस्  सेनिटरी प्याड –वितरण तथा व्यवस्थापन) कार्यविधि २०७६ :

https://washkhabar.com/np/wp-content/uploads/2020/01/स्यानिटरी_प्याड_सम्बन्धी_कार्यविधि.doc

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार