काठमाडौ : देशमा जसरी खुला दिसामुक्त घोषणा अभियान सञ्चालन गर्दा देश नै सरसफाइमय भएको थियो, अहिले त्यो अवस्था छैन । खुला दिसामुक्त घोषणा भईसकेपछि पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलाप सञ्चालन गर्नुपर्ने भएपनि अहिले त्यो भईरहेको छैन । जिल्लाका एक दुई वटा गाउँपालिकाको वडा वा टोलमा मात्र पूर्ण सरसफाइ अभियान सीमित भईरहेको छ । एकैपटक पूर्ण सरसफाइको अवस्था हासिल गर्न असम्भव छ । त्यसैले पूर्ण सरसफाइ अभियानलाई दुई चरणमा विभाजन गरी कार्यान्वयन गरिनेछ ।
पहिलो चरण सफा र स्वच्छ चरण हो भने दोस्रो पूर्ण सरसफाइ उन्मुख चरण हो । यी दुबै चरणका क्रियाकलापहरु सञ्चालन भई आवश्यक सूचकहरु पुरा भएको अवस्थामा उक्त क्षेत्रलाई पूर्ण सरसफाइ उन्मुख क्षेत्र भनिनेछ ।
पूर्ण सरसफाइ मार्गदर्शन २०७३ अनुसार कुनै पनि क्षेत्र (गा.पा./न.पा./जिल्ला/प्रदेश) मा पूर्ण सरसफाइका क्रियाकलापहरु संचालन गर्दा सरोकारवालाहरुको बीचमा छलफल र स्थानीय आवश्यकतामा आधारित खानेपानी, सरससफाइ र स्व्च्छताका क्रियाकलापहरु समावेश गरी आ आफ्नो क्षेत्रको खानेपानी, सरससफाइ र स्वच्छता योजना (WASH Plan ) तर्जुमा गरिने छ ।
कुनै पनि क्षेत्रमा WASH Plan को एउटा मुख्य अंगका रुपमा पूर्ण सरसफाइ कार्यक्रम हुनेछ । तर WASH Plan ले उक्त कार्यक्रमका अतिरिक्त खानेपानी र स्वच्छताका व्यापक क्रियाकलापहरु पनि समेट्नेछ । पूर्ण सरसफाइ कार्यक्रम संचालन गर्नु अघि नै उक्त क्षेत्रमा आधारभूत स्तरको खानेपानीको पहुँच भएको हुनु पर्नेछ । यसरी तयार गरिने WASH Plan को एउटा मुख्य उद्देश्य सम्बन्धित क्षेत्रलाई एउटा निश्चित समय सीमाभित्र पूर्ण सरसफाइ उन्मुख क्षेत्रको रुपमा स्थापित गर्ने हुनेछ ।
सफा तथा स्वच्छ क्षेत्र घोषणा गर्नु अघि सन्चालन गर्नुपर्ने क्रियाकलापहरु
— खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रका नयाँ सरोकालावालाहरुको समेत पहिचान एवं समावेश गरी केन्द्रदेखि स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु आवश्यकता अनुसार गठन, पुर्नगठन गरी सक्रिय गरिनेछ ।
— समन्वय समिति र सरोकारवालाहरुको सहभागितामा खुला दिसामुक्त क्षेत्र घोषणाको पुनरावलोकन एवं त्यस पछि संचालन गरिने क्रियाकलापहरुलाई सहयोग गर्न ५ सदस्यीय कार्यदल (जिल्ला, न.पा. र गा.पा. समन्वय समिति) गठन गरिने छ ।
— खानेपानी,सरसफाइ र स्वच्छता सम्बन्धी तथ्यांक संकलन तथा विश्लेषण गरी सम्बन्धित क्षेत्रका समन्वय समितिहरुले सरोकारवालाहरुको सहभागिता र सक्रियतामा गा.पा. वा न.पा. र जिल्ला खानेपानी, सरसफाइ र स्वच्छता योजना WASH Plan तर्जुमा गरिने छ ।
— केन्द्रदेखि स्थानीय तहमा खानेपानी, सरसफाइ, स्वच्छता सम्बन्धी मानव संसाधन विकासका लागि क्षमता विकास तालिम तथा अभिमुखीकरण गोष्ठीहरु आयोजना गरिने छ ।
— खानेपानी, सरसफाइ तथा स्वच्छतासँग सम्बन्धित विभिन्न विषयहरुः चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, न्यूनतम आवश्यक तथा सुरक्षित पानीमा पहँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग, सफा र स्वच्छ घर, विद्यालय, स्वास्थ्य संस्था एवं कार्यालय, ठोस तथा तरल फोहोरको व्यवस्थापन, ढल तथा मानव मलमुत्रीय फोहोर व्यवस्थापन, वातावरणीय सरसफाइ आदिका विषयमा आम संचारको प्रयोग, सप्ताह, महोत्सव, सम्मेलन आयोजना तथा घर दैलो कार्यक्रम आदि मार्फत जनचेतनामूलक क्रियाकलाप संचालन गरिने छ ।
— खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनको व्यापक प्रचार प्रसार गर्नका लागि स्थानीय परिवेश र भाषा अनुरुप सूचना, शिक्षा र सञ्चार सामग्रीहरुको विकास र वितरण गरिने छ ।
— खानेपानी, सरसफाइ तथा स्वच्छता सामाग्रीहरुको ग्रामीण क्षेत्रसम्म पहुँच विस्तार गर्न निजी क्षेत्रसँग सहकार्य गरीनेछ ।
— सबै घरधुरीमा चर्पी एवं संस्थागत निकाय र आवश्यकता अनुसार सार्वजनिक स्थानमा शौचालयहरुको निर्माण गरीे चर्पीमा सबैको पहुँच र साबुन पानी सहितको प्रयोगको सुनिश्चितता गरिने छ ।
— आवश्यकता अनुसार सबै सार्वजनिक (बजार, राजमार्ग, धार्मिक तथा पर्यटकीय स्थल लगायत) तथा सस्थागत शौचालयहरु प्रयोगकर्ता–मैत्री (वातावरण, बाल, लैगिंक, अपाङ्गता र वृद्ध–मैत्री) बनाइने छन् । घरधुरी, स्थानीय संघसंस्था क्लव, समूह, समिति आदि मार्फत घरायसी चर्पी, संस्थागत तथा सार्वजनिक शौचालयहरुको नियमित मर्मतसंभार र स्तरोन्नती गरी स्वच्छता कायम गरिने छ ।
— बालबालिकाको दिसालाई सुरक्षित विर्सजन गरिनेछ ।
— व्यक्तिगत स्वच्छता एवं साबुन पानीले हात धुने व्यवहारको विकासका लागि घर, संस्थागत निकाय, सार्वजनिक शौचालय, होटेल, क्यान्टिन आदिमा साबुन पानी सहित हात धुने स्थानको निर्माण सम्बन्धित जिम्मेवार पक्षले गर्नुपर्नेछ ।
— समुदाय परिचालन, आम संचार, सूचना, शिक्षा, सञ्चार सामग्रीहरु मार्फत घरघर, टोलटोल र संस्थाहरुमा खाना खानु अघि, बच्चालाई खाना खुवाउनु भन्दा अघि, दिसा गरेपछि, बच्चाको दिसा धोएपछि, फोहोर तथा विषादी आदि छोए पछि साबुन पानीले हात धुने लगायत थप व्यक्तिगत स्वच्छता प्रवद्र्धन सम्बन्धी ज्ञान, अभ्यासको प्रचार प्रसार र प्रदर्शनी गरिने छ ।
— महिलाहरुको मासिकधर्मलाई प्राकृतिक प्रकृयाका रुपमा लिदैं यसको स्वच्छता र व्यवस्थापनको लागि घरायसी, विद्यालय तथा संस्थागत निकायमा मासिकधर्म स्वच्छता व्यवस्थापनका लागि स्यानीटरी प्याड वा अन्य साधनहरुको सफाइ एवं सुरक्षित विर्सजन सम्बन्धी ज्ञानको प्रचार प्रसार गरिने छ । समुदाय, विद्यालय, संस्थागत निकाय तथा सार्वजनिक शौचालयहरुमा स्यानीटरी प्याड वा अन्य साधनहरुको सफाइ एवं विसर्जन गर्ने वैज्ञानिक व्यवस्था गरिने छ ।
— सरोकारवालाहरुसँग समन्वय र सहकार्यमा सबै घरधुरी, संस्थागत निकाय, सार्वजनिक स्थानहरुमा (खानेपानी आयोजना निर्माण तथा पुर्नस्थापना र मर्मत सम्भार गरी) आधारभूत स्तरको खानेपानीको पहुँच सुनिश्चित गरिने छ ।
— सुरक्षित खानेपानीमा सबैको पहुँच (अपाङ्ग समेतको) सुनिश्चितताका लागि खानेपानी आयोजना र यसका स्रोतहरु (मुहान, इनार, ह्याण्ड पम्प, कुवा), वर्षातको पानी संकलन ट्यांकी आदिको संरक्षण गरी सरसफाइ र स्वच्छता विभिन्न वैज्ञानिक उपायहरु अबलम्बन गरी कायम गरिनेछ ।
— घरायसी, संस्थागत तथा सार्वजनिक स्थानहरुमा पानीको सुरक्षित व्यवस्थापनका लागि ज्ञान, सीप, अभ्यास सम्बन्धी जनचेतना अभिवृद्धि गरिने छ । निजी क्षेत्रसँगको सहकार्यमा घरायसी, सस्थागत, सामुदायिक स्तरमा पानी प्रशोधन, शुद्धीकरण सम्बन्धी सामग्रीहरुको बजारीकरण गरी कुनै विधि (फिल्टर, सोडिस, उमाल्ने, क्लोरिनेशन वा अन्य)को छनौट गर्ने अवसर उपलब्ध गराइने छ ।
— समुदाय परिचालन र आम संचार क्षेत्रद्धारा घरायसी तहमा खाना प्रयोग सम्बन्धी सुरक्षित व्यवहार जस्तै खाना राम्ररी पकाएर खाने, बासी खाना नखाने, खाएमा आवश्यक तापक्रम तथा शुद्धता कायम गरी खाने, फलफूल तथा काचैं खाने खाद्यन्न राम्ररी धोएर सफा गरी खाने आदि बानी व्यवहारको विकास गरिनेछ ।
— सम्बन्धित सरकारी, गैर सरकारी संस्था, उपभोक्ता सस्था, नागरिक समाज आदिको संयुक्त टोलीमार्फत संस्था, विद्यालय, होटल, रेस्टुरा, क्यान्टिन, होस्टेल आदिमा प्रयोग हुने खाना, खाना पकाउने तथा खाने भाँडाको सफाइ र स्वच्छता कायम गर्नका लागि प्रभावकारी अनुगमन गरिने छ ।
— घरायसी एवं संस्थागत तहमा महिला स्वास्थ्य स्वयंसेविका, सामुदायिक परिचालक एवं पूर्ण सरसफाइ प्रज्वलकहरु मार्फत घरायसी सरसफाइको महत्व, घर तथा संस्थाभित्र बाहिर सरसफाइ, भान्सा तथा गोठको सरसफाइ पशुपंक्षीको व्यवस्थापन, ठोस फोहोर संकलन, वर्गीकरण, त्यसको पुनर्प्रयोग जस्ता कार्यहरु गर्न प्रोत्साहित गरिने छ ।
— घरायसी तथा संस्थागत निकायबाट निस्कासन भएको फोहोर पानीको व्यवस्थापन तथा प्रयोग सम्बन्धी ज्ञान, सीप सम्बन्धमा प्रशिक्षण तथा अभिमुखीकरण र प्रचारप्रसार गरिने छ ।
— निजी तथा सहकारी क्षेत्रसँगकोे सहकार्य र समन्वयमा घरायसी, सामुदायिक तथा संस्थागत तहमा ठोस तथा तरल फोहोर व्यवस्थापनका लागि स्थानीय परिवेशमा उपयुक्त हुने प्रविधिको सिफारिस गर्नुका साथै आवश्यकता अनुसार निर्माण, व्यवस्थापन र संचालन गरिने छ ।
— घर, संस्था, कार्यालय, सामुदाय, सार्वजनिक स्थान आदिमा रहेको शौचालयको खाल्डो/सेप्टीक ट्याङ्की भरिएपछि त्यहाँको मानव मलमुत्रीय फोहोरको उपचार गरी सुरक्षित स्थानमा विसर्जन गर्न स्थानीय स्तरमा संचालन गर्न सकिने प्रविधिको बजारीकरण गरी प्रयोग र संचालनमा ल्याइने छ ।
— स्थानीय तथा समुदायिक समूह, क्लव, समिति आदिद्धारा सामुदायिक तथा सार्वजनिक सम्पत्ति, गाँउ, नगर, टोल, बाटोघाटो, चौतारा, पाटीपौवा आदिको सरसफाइ गरी सामुदायिक स्वच्छता प्रवद्र्धनमा सघाउ पु-याइने छ ।
— नगरोन्मुख एवं नगर क्षेत्रमा ठोस फोहोरमैलाको उचित संकलन, बर्गीकरण, ढुवानी, प्रशोधन, पुनःप्रयोग र अन्तिम निस्कासनकोे एकीकृत व्यवस्थापनका लागि स्यानिटरी ल्याण्डफिल साइटको निर्माण गर्न पहल गरिने छ ।
— अस्पताल, उद्योगधन्दा तथा कलकारखानाबाट निस्कने ठोस तथा तरल फोहोर सोहि हाताभित्र सुरक्षित स्थानमा नेपाल सरकारले तोकेको मापदण्ड अनुसार व्यवस्थापन गरी अन्तिम विसर्जनका लागि हाताबाहिर निस्कासन गर्न दिइने छ ।
— नगर एवं नगरोन्मुख क्षेत्रका घरायसी, सस्थागत, सार्वजनिक स्थानलाई ध्यानमा राखी व्यवस्थित ढल प्रणालीको निर्माण गर्नका लागि योजना तर्जुमा गरिने छ ।
नगर र नगरोन्मुख क्षेत्रमा बधशालाहरुको निर्माण, वधशालाको सरसफाइ र त्यसबाट निस्कने फोहोरको व्यवस्थापन गर्न सम्बन्धित व्यवसायीहरुलाई नै गर्न लगाइने छ ।
यी क्रियाकलापहरु सम्पन्न भए पश्चात सम्बन्धित समन्वय समितिहरुबाट सूचकहरु पुरा भए नभएको अवस्था जान्नको लागि स्वअनुगमन गर्नुपर्ने छ । सफा र स्वच्छ क्षेत्रका लागि आवश्यक सूचकहरु हासिल भएको अवस्थामा सम्बन्धित समन्वय समितिले आफ्नो क्षेत्रलाई आफैले सफा र स्वच्छ क्षेत्र घोषणा गर्नेछ ।
आफ्नो क्षेत्रलाई सफा र स्वच्छ घोषणा गरिसकेपछि सम्बन्धित समन्वय समितिले एक तह माथिको समन्वय समितिलाई प्रमाणीकरणको लागि अनुगमन गर्न अनुरोध गर्न सक्ने छ ।
यसरी विधिवत रुपमा अनुरोध प्राप्त भए पश्चात माथिल्लो समन्वय समितिले सफा र स्वच्छ क्षेत्रका सूचकहरु पुरा भए नभएको अनुगमन गर्नेछ । उक्त समितिलाई सबै सूचकहरु पुरा भएमा सम्बन्धित क्षेत्र (वडा, गा.पा, न.पा र जिल्ला) लाई सफा र स्वच्छ क्षेत्र भनी प्रमाणीकरण गरी प्रमाण–पत्र उपलब्ध गराउनेछ ।
साभार :पूर्ण सरसफाइ मार्गदर्शन २०७३ बाट