मष्टो देवताका धामी, छाउपडी हटाउने अभियानका बिशेष दूत

जुम्ला : हिमा गाउँपालिका–१ का पुर शाही मष्टो देवताका धामी हुन् । १/२ वर्ष पहिला घरमा छोरी बुहारी महिनावारी हुँदा घरमा आउन त परै जाओस जग पनि छुन दिँदैनथे । तर धामी शाहीमा महिनावारी भनेको एक नियमित प्रक्रिया हो, त्यस्तो अवस्थामा गोठमा नभई घरको सुरक्षित कोठामा बसाल्नुपर्छ भन्ने चेतना आएको छ ।
त्यस्तै सोही गाउँका मष्टोका मूल धामी चक्रबहादुर शाही पनि छाउपडी प्रथा अन्त्यको अभियानमा लागेका छन् । केही समय पहिला छुईप्रथा भनेको गलत हो, देवता रिसाउँछन् भन्ने उनी अहिले सबै ठाउँमा छाउपडीका नाममा महिलालाई हेला गर्नु गलत हो भन्दै सिकाउँछन् । जुम्लामा छाउपडी प्रथा हटाउन महाअभियान चलिरहेको बेला धामी भाँक्री नै छुई नमान्ने भेटिएपछि छाउपडी अन्त्यका लागि धामी चक्रबहादुरलाई दूतका रूपमा नियुक्त गरिएको छ ।

हिमा गाउँपालिकामा एक कार्यक्रमका बीच धामी हिमा गाउँपालिका–१ का अध्यक्ष मुनबहादुर बुढाको संयोजकत्वमा सात सदस्यीय छाउपडी उन्मूलन समन्वय उपसमिति गठन गरिएको धामी पुर शाहीले बताए । उनले भने, “हामी छुईप्रथा हटाउने अभियानमा लाग्यौं भने अरु सजिलै रूपमा छुईप्रथाको विरुद्धमा लाग्ने छन् ।” समितिमा धामी पुर शाही र चक्रबहादुर शाही, शिक्षिका शान्ती शाही, महिलामा दाना शाही, वेलकोसा सार्की रहेका छन् । समितिमा रहेका सबैले दूतको रुपमा काम गर्ने छन् ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन, “छाउपडी प्रथा अन्त्यको बाधक भनेकै धामी भाँक्री हुन्, तर उनीहरू नै दुतका रूपमा नियुक्त भएपछि छाउप्रथा हटाउने महाअभियानले सफलता पाउने उनको विश्वास छ । उनीहरूले गाउँगाउँमा गएर छुई प्रथाविरुद्धको सचेतनामूलक काम गर्नेछन् । प्रजिअ बञ्जाडेले थपिन, समाजमा अझै पनि धामी झाँक्रीप्रति विश्वास छ । धामीलाई नै बिशेष दूत बनाउँदा समस्या समाधानमा सजिलो होला भनेर धामीलाई नै दूत बनाएका हौं ।

गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले सरकार नै छाउप्रथा अन्त्यको अभियानमा लागेकोले सबैलाई साथ दिन आग्रह गरे । हिमा गाउँपालिकाका अध्यक्ष क्षरजबहादुर शाहीले पुरानो पुस्ताले छाउपडी प्रथालाई निरन्तरता दिँदा प्रथा हटाउन गाह्रो भएको बताए । उनले यसका लागि ठूलै परिर्वतनको खाँचो रहेको औंल्याए । यो खबर आजको कारोबार दैनिकले छापेको छ ।

जुम्लामा छाउपडी उल्मूलन महाअभियानका लागि गत पुस १० गते प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छाउपडी उल्मूलन समिति गठन गरिएको थियो भने पुस १७ गते छाउपडीविरुद्धको महान अभियान चलेको थियो । गाउँका पुरोहित र धामीलाई तालिम दिएर जुम्लाका आठै स्थानीय तहका धामी झाँक्रीलाई छुईप्रथा अन्त्यका लागि दूत नियुक्त गरिने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार