भक्तपुर : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) का कार्यकारी निर्देशक चोक प्रसाद धितालले गैरसरकारी संस्थाहरुको चरित्र ठेकेदारको जस्तो भएको बताउनुभएको छ । खानेपानी आयोजना निर्माण पश्चातको चरणबारे सहयोगी संस्थाका टिम लिडर र वास इञ्जिनियरहरुका लागि आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रमको उदघाटन सत्रमा उहाँले सहयोगी संस्थाको काम प्रति असन्तुष्टि जनाउनु भएको हो ।
‘सबै सहयोगी संस्थालाई त दोष लाउँदिन, तर कुनै–कुनै सहयोगी संस्था ठ्याक्कै कन्ट्रयाक्टर जस्तो भएको छ, पाइप किन्न पनि आफै जाने, मिस्त्री खोज्न पनि आफै हिड्ने, यो त ठेकेदार जस्तो भएन ?’
उहाँले जुन सहयोगी संस्थाले उपभोक्ता समितिलाई सक्रिय नबनाई एनजिओ आफै हाबी भएको छ ती आयोजना समयमै सम्पन्न नभएको बताउनुभयो । कतिपय सहयोगी संस्थामा आयोजना सम्झौता गरेपछि जहिले सम्पन्न गरेपनि हुने भन्ने मानसिकता रहेको र सम्पर्कमा समेत नआएकोमा गुनासो गर्नुभयो ।
कार्यकारी निर्देशक धितालले खानेपानी आयोजनाका लागि सहयोगी संस्थाले निर्माण सम्पन्न भएपछि उपभोक्तालाई जिम्मा लगाएपछि फर्केरै नहेर्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै फण्ड बोर्डले त्यसो नगरेको बताउनुभयो । निर्माण सम्पन्न पछि आउने साना तिना समस्याहरुलाई सुधार गर्दै दिगोपनाको आधार तयार पार्न निर्माण सम्पन्न पछिको चरण कार्यान्वयनमा ल्याएको उहाँको भनाई थियो ।
‘सर्भेका क्रममा छुटेका केही घरधुरी छन् भने जोड्ने, प्राकृतिक विपत्तिका कारण खानेपानीको संरचनामा क्षति पुगेको रहेछ भने मर्मत सम्भार गर्ने, खानेपानीको सेवा शुल्कलाई नियमित बनाउने, उपभोक्ता समितिलाई नियमित बैठक, साधारण सभा गर्नका लागि सक्षम र सवल बनाउने कामहरु निर्माण सम्पन्न पछिको चरणमा गर्ने कामहरु हुन् ।’ उहाँले भन्नुभयो ।
उहाँले कार्यान्वयन चरणको क्रममा जस्तै निर्माण पश्चातको चरणमा समेत कामलाई गुणस्तरयुक्त बनाउन निर्देशन दिनुभयो । ‘हाम्रा योजनाहरु सफल छन् र भविश्यका लागि समेत आवश्यक छ भन्ने पुष्टि गर्नुछ, देखाउनु छ, सोही अनुरुप काम सम्पन्न गर्नुहोस्’ उहाँले आग्रह गर्नुभयो ।
पुरानोलाई अवतरण र नयाँलाई उडान गर्ने घडीमा छौं : बोर्ड सदस्य बोगटी
फण्ड बोर्डका बोर्ड सदस्य सहदेव बोगटीले फण्ड बोर्ड सम्बद्ध सबैको काँधमा पुरानोलाई अवतरण र नयाँ जहाजलाई उडान भर्ने जिम्मेवारी आएको बताउनुभयो । उहाँले जहाज उडान र अवतरण गर्ने काम आफैमा निक्कै गाह्रो काम भएको र अवतरण गर्न वा उडान सफल भएपछि जोखिम नरहने बताउनुभयो ।
‘हामी फण्ड बोर्ड सम्बद्ध सबै पक्ष अहिले यही घडीमा उभिएका छौं, पुरानो जहाज अवतरण गर्नुछ भने नयाँलाई उडान भर्नुछ, तर हामी सबैको प्रयासबाट यसमा सफल हुनेछौं भन्ने लागेको छ’ बोगटीले भन्नुभयो ।
अनुगमन समितिका संयोजक समेत रहेका बोगटीले दुषित पानी पिएर बिरामी भएपछि गाउँ पसेका मेडिकलहरु फण्ड बोर्डले पानी पियाउन थालेपछि मेडिकल नै हटेको, जनतालाई पानी पु¥याउन नसक्दा चुनावमा टिकट नपाएको जस्ता प्रसंग निकाल्दै सुरक्षित पानीको महत्व र यसमा फण्ड बोर्डले पु¥याएको योगदानबारे चर्चा गर्नुभयो ।
समितिका अर्का सदस्य सञ्जीव यादवले भने ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको सम्झौता अवधि सकिन ६ महिना मात्र बाँकी रहेकाले आयोजना समयमै सम्पन्न गर्नुपर्ने बताउनुभयो । उहाँले सबैका सामु ठूलो चुनौतीको पहाड रहेको र चुनौती छ भनेर डराउनु भन्दा पनि सामना गर्न आग्रह गर्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा दशौं ब्याचका खानेपानी आयोजनाहरु समयमै सम्पन्न गरेका धनकुटा, भोजपुर, उदयपुर, इलाम, सुर्खेत लगायत जिल्लामा कार्यरत सहयोगी सस्थाका वास इन्जिनियर र टीम लिडर गरी हरेक संस्थाबाट दुई दुई जनाको सहभागिता रहेको छ ।