पुरुषलाई पनि स्यानिटरी प्याड बनाउने तालिम दिईदै

 1735 पटक हेरिएको

 

काठमाडौ : त्रिचन्द्र कलेजमा अध्ययनरत ५ जना पुरुषहरुलाई पनि स्यानिटरी प्याड बनाउने तालिम दिईने भएको छ । बिहान ११ बजेदेखि हुने तालिममा महिला सँगै ती पाँच पुरुषलाई पनि सहभागि गराईने भएको हो । महिनावारी स्वच्छता व्यवस्थापनबारे पुरुषलाई पनि सहभागी गराई समाजमा जनचेतना फैलाउने मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन् ।

महिनावारी सम्बन्धी धेरै जनचेतना तथा कार्यक्रमहरु गरिएपनि नेपाली समाजमा यस बारे अझै पनि गलत धारणा तथा महिनावारीको समयमा प्रतिवन्धहरु लगाइएको हुनाले यस्ता समस्यालाई समाधान गर्न महिला तथा पुरुष दुवैको महत्वपूर्ण भुमिका हुने हुँदा पुरुषलाई पनि सहभागी गराउन लागिएको जनाएको छ । ‘पुरुषहरुले महिनावारी सम्बन्धी प्रतिवन्ध तथा अन्धविश्वासको विरुद्ध आवाज उठाउन सक्छन, त्यस कारण महिनावारी जनचेतनामा पुरुषको भूमिका रहन्छ’ तालिमको लागि सहयोगी संस्था गुथीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख छ ।

गुथि नामक गैर सरकारी संस्थाको सहयोगमा त्रि–चन्द्र युवा रेडक्रस समुहले आयोजना गरिएको महिनावारी तथा सरसफाइ व्यवस्थापन सम्बन्धी तालिममा ५ जना पुरुष सहित ३० जना सहभागी हुनेछन् । त्रि–चन्द्र क्याम्पसको प्राङ्गणमा हुने तालिम विहान ११ बजे देखि दिउँसो ३ बजेसम्म चल्नेछ । तालिममा महिनावारीले स्वास्थ्यमा पार्ने प्रभाव र समाजमा महिनावारी सम्बन्धी अन्धविश्वासको बारेमा सहभागीलाई अभिमुखिकरण गरिनेछ । यस्तै घरेलु स्यानिटरी प्याड बनाउने तालिम पनि दिईनेछ । यस तालिम पश्चात सहभागीहरुले घरेलु स्यानिटरी प्याड बनाउन र यस प्याडको उपयोगिताबारे अरुलाई बुझाउन सक्नेछन् ।

पहिले प्रशिक्षार्थी, अहिले स्रोत व्यक्ति

तालिमको सहजीकरण गत बर्ष यस्तै तालिममा सहभागी भएका प्रशिक्षार्थीहरुले गर्नेछन् । गत बर्ष तालिममा सहभागी रविना थापा कार्यक्रम संयोजक हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘गत वर्ष घरेलु स्यानिटरी प्याड बनाउने तालिम लिने अवसर पाएँ । सहर बजार तिर रेडिमेड स्यानिटरी प्याड उपलब्ध हुने भएकाले घरेलु प्याड त्यत्ति व्यवहारिक नहोला, तर गाउँ घरमा यो धेरै उपयोगी छ ।’

उहाँले भैसेपाटीको श्री जनउदय मा. वि. का छात्राहरुलाई यो प्याड बनाउने सीप सिकाएपछि ज्यादै प्रभावकारी भएको बताउनुभयो । बजारका प्याड महङ्गो हुने र कति जनालाई पुनः प्रयोग गर्न मिल्ने प्याड आरामदायी भएकोले पनि यो सीप लाभदायक भएको उहाँको भनाइ छ ।

त्रि–चन्द्र कलेजकी पूजा रम्तेलले यस तालिम आफ्नो लागि उपयोगी भएको बताउनुभएको छ । बजारमा पाइने प्याडले एलर्जी हुने हुँदा घरेलु प्याड निक्कै लाभदायी भएको उहाँले बताउनुभयो । यसपटकको तालिममा रम्तेल स्रोत व्यक्ति भएर प्रशिक्षण दिदै हुनुहुन्छ । युवा रेडक्रस त्रि–चन्द्रकी अध्यक्ष बन्दना पोखरेलले तालिम पश्चात रुपन्देहीमा पुगेर ५० भन्दा बढी महिलालाई घरेलु प्याड बनाउने प्रशिक्षण दिएको बताउनुभयो । उहाँ पनि यसपालीको तालिममा स्रोत व्यक्ति हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार