छाउगोठविहीन अछामको मियाँपुर, न पहिले थियो, न अहिले

अछाम : सबैभन्दा बढी छाउगोठ भएको जिल्ला भनिएको अछाममै एउटा यस्तो गाउँ छ, जहाँ न छाउगोठ छ, न त महिनावारीका बेला महिलालाई घरबाहिर नै राखिन्छ । साँफेबगर नगरपालिका–८ स्थित चुडेली गाउँको मियाँपुर अर्थात् मियाँटोलमा जहाँ एउटा पनि छाउगोठ छैन । इस्लाम धर्मावलम्बीको बाहुल्य रहेको मियाँपुरमा विगतदेखि नै छाउगोठको अस्तित्व नरहेको मदरसा दारुल कुरआन प्राथमिक विद्यालयका शिक्षक शम्भु मियाँले जानकारी दिनुभयो ।

लामो समय हिन्दूका बीचमा बसेको हुनाले मियाँपुरका मुस्लिमको रहनसहन वरिपरिका हिन्दूका जस्तै देखिन्छन् । अछाममा व्याप्त छाउगोठ प्रथामा भने उनीहरू पूरै फरक छन् । महिनावारीका बेला गाउँका हिन्दू महिला छाउगोठमा बसेको देख्दै आउनुभएको हो, २२ वर्षकी यशोदा मियाँले । उहाँले आफूले कहिल्यै छाउगोठ बस्नु नपरेको सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘‘कुनै पनि मियाँको घरमा छाउगोठ छैन । हामी महिनावारी हुँदा घरमै बस्छौँ र सबै खानेकुरा खान्छौँ । ’’ छाउगोठ प्रचलन नभए पनि महिनावारी भएको बेला भान्छामा जान भने हिच्किचाहट महसुस हुने यशोदाको सुनाउनुभयो ।

तराईका मुस्लिम झैँ यहाँका मुस्लिम महिला बुर्का पनि लगाउँदैनन् । झट्ट हेर्दा बोल्दा मुस्लिम हुन् झैँ लाग्दैनन् । लामो समय बहुसङ्ख्यक हिन्दूको नजिक बसेकाले रहनसहनमा हिन्दू प्रभाव छ । लवाइखवाइ उस्तै देखिए पनि धर्म संस्कारमा मुस्लिमहरू फरक रहेको मियाँपुरका अगुवा तथा मुस्लिम राजनीतिज्ञ केशर मियाँले बताउनुभयो । पछिल्लो तीन दशकमा मुस्लिमले आफ्नो धर्म संस्कृतिको खोजी र संवद्र्धन गर्न थालेका छन् । गाउँमै मस्जिद र मदरसा स्थापना गरी इस्लाम धर्म र संस्कार सन्तानलाई पनि सिकाउन थालेका छन् । साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले झण्डै २५/३० घर जति मुस्लिम धर्मावलम्बीको बसोवास रहेको मियाँपुरमा छाउगोठको परम्परा नरहेको बताउनुभयो ।

प्रमुख कुँवरले भन्नुभयो, ‘‘आठ सय वर्षदेखि उहाँहरू यहाँ बस्दै आएको भन्ने भनाइ छ । यहाँको मुस्लिममा छाउगोठ नमान्ने राम्रो परम्परा छ, धेरै रहनसहनमा हिन्दूको प्रभाव रहेपछि छाउगोठले पनि यो समुदायले छोएको रहेनछ ।’’ अगुवा केशर मियाँ यहाँ इस्लाम धर्मावलम्बी अल्पसङ्ख्यक समुदायका रूपमा रहेका हुनाले महिलालाई छाउगोठमा नराख्ने जस्ता राम्रा संस्कार अरूले सिक्न नसकेको विश्लेषण गर्नुहुन्छ । उहाँले भन्नुभयो, ‘‘बहुसङ्ख्यक हिन्दूसँग नङमासुको सम्बन्ध छ तर अल्पसङ्ख्यक मुस्लिमको संस्कारको प्रभाव अन्य समुदायमा कम पर्‍यो । ’’

महिनावारीका बेला घरमा बस्नु सुरक्षित हुनु हो भन्ने कुरा आफ्नो समुदायका महिलाले राम्रोसँग बुझेको मियाँ बताउनुहुन्छ । उहाँले छोरीबुहारीलाई महिनावारी भएको बेला कुनै कुरा वर्जित छैन, त्यसैले उनीहरूलाई कहिले महिनावारी हुन्छ भन्नेसमेत हामीलाई थाहा हुँदैन ।’’ त्यस्तै, महिलालाई लवाइखवाइ र कामकाजमा कुनै विभेद गर्ने चलन मियाँपुरका मुस्लिम समुदायमा नरहेको शिक्षक शम्भु मियाँले बताउनुभयो । चुरा र शृङ्गारका सामग्री बेच्दै धेरै पहिले तराईबाट मुस्लिमहरू अछाम आइपुगेको केशर मियाँले बताउनुभयो । अछामका कुँवर शासकहरूले हतियार बनाउने सीप भएका मुस्लिमलाई पहाडमै बसोवासको व्यवस्था गरी बसालिएको बताइन्छ ।

चुरा बेच्ने मुस्लिम बसेको हुनाले गाउँको नाम नै चुडेली गाउँ रहन गयो । समयक्रममा चुरा बेच्ने काम छाडेपछि यहाँ बसोवास गर्ने मियाँहरूले आफू बस्ने ठाउँलाई ‘मियाँपुर’ भन्न थालेको मुस्लिम अगुवा केशर मियाँले बताउनुभयो  छाउगोठ नष्ट गर्ने सरकारको पछिल्लो अभियानमा अछाम जिल्लाभरि अहिलेसम्म चार हजार ८४४ वटा छाउगोठ भत्काइएको छ । गोरखापत्रकी पत्रकार शान्ति लामाले गोरखापत्र अनलाइनका लागि लेख्नुभएको फिचर ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार