बुटवल : तामनगरस्थित कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका विद्यार्थीले ‘स्मार्ट अटोमेटिक सेनेटरी प्याड भेन्डिङ मेसिन निर्माण गरेका छन् । कलेजको रिसर्च एन्ड डेभलपमेन्ट कमिटी अन्तर्गत ‘केएनआइटी इनोभेटिभ स्टुडेन्ट्स क्लब’का विद्यार्थीहरुले उक्त मेसिन बनाएका हुन्। मेसिनको उद्घाटन कलेजका कार्यालय प्रमुख अच्युतराज तिमिल्सनाले गत साता गरेका थिए। डिप्लोमा इन अटोमोबाइल, मेकानिकल, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स, रेफ्रिजेरेसन एन्ड एयरकन्डिसनिङ इन्जिनियरिङ विषयमा अध्ययनरत विद्यार्थीहरुको समूहले बनाएको यो मेसिनको नाम ‘प्रोजेक्ट सुरक्षा’ राखिएको छ।
मेसिनलाई स्कुल र कलेजहरुमा राख्नका लागि निर्माण गरिएको क्लबका एक सदस्यलेबताए। स्कुल र कलेजको समयमा किशोरीहरुलाई महिनावारी भए वा महिनावारीका समयमा उनीहरुले आफूसँग भएको आइडी कार्डको प्रयोग गरी यस मेसिनबाट प्याड निकाली प्रयोग गर्न सकिने निर्माणकर्ताको दाबी छ। ‘विशेषगरी स्कुल र कलेजमा पढ्ने किशोरीहरुलाई महिनावारी भएको बेला स्कुल कलेजमा एकदमै गाह्रो भएको पाइन्छ। यदि कसैलाई महिनावारी भयो भने उनीहरुले खुलेर प्याड माग्न नसक्ने वा भनेको बेला प्याड उपलब्ध नभएको पाइन्छ। यही कुरालाई मध्यनजर गर्दै यस मेसिनको निर्माण गरेका हौं।’, क्लबका प्रेसिडेन्ट दिनेश वलीले भने। महिनावारी भएका किशोरीहरुले आफूसँग भएको आइडी कार्ड प्रयोग गरी मेसिनबाट सहजै प्याड पाउन सक्ने उनीहरुले बताए।
कसरी काम गर्छ मेसिनले ?
प्याड आवश्यक व्यक्ति नजिक पुग्दा मेसिनलाई कसरी प्रयोग गर्ने भन्ने विधी मेसिनले नै बताउँछ। यतिमात्रै नभई मेसिनले दृश्यात्मक रुपमा पनि निर्देशन दिन्छ। मेसिनले बताएजस्तै कार्डलाई मेसिनमा राखिसकेपछि मेसिनमा भएको २ वटा मध्ये कुनै एउटा बटन थिच्नुपर्छ। बिटन थिचे लगत्तै मेसिनबाट एउटा प्याड बाहिर निस्किन्छ।
यदि मेसिनबाट भित्र राखिएको प्याड सकिन लाग्यो भने मेसिनले एसएमएसमार्फत जानकारी गराउँछ। उक्त व्यक्तिले प्याड सकिन लागेको एसएमएस पाएपछि मेसिनमा प्याड राख्नुपर्छ। यदि मेसिनमा भएका सबै प्याड सकिँदासम्म सेवा लिनेले मेसिनमा प्याड भर्न ढिलाई गरेमा मेसिन स्वतः बन्द भई बिजुलीको बचत गर्छ। प्याड भरिसकेपछि मेसिनलाई पूर्ण प्रयोग गर्न सकिन्छ। प्याड भरिएको जानकारी पनि एसएमएसमार्फत प्रयोगकर्तालाई दिन्छ। यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।
मेसिनमा हाल ४० वटासम्म प्याड राख्न सक्ने क्षमताको बनाइएको विद्यार्थीहरु बताउँछन्। यो एउटा नमुनामात्रै भएको र आवश्यकता अनुसार मेसिनको क्षमतालाई बढाउन पनि सकिने उनीहरुले बताए।