सरसफाइमा आई.एस.ओ मापदण्ड बारे महालक्ष्मी नगरपालिकाले थाल्यो सरोकारवालासँग छलफल


काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले कार्यान्वयन गरिरहेको नमुना मानव मलमूत्र प्रशोधनसँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले नगरभित्रका जनप्रतिनिधीहरु, नगरपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा खानेपानी उपभोक्ता समिति, सामुदायिक बन उपभोक्ता समिति र सफाइको क्षेत्रमा कार्यरत निजी क्षेत्रसँग छलफल तथा अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियामा आई.एस.ओ. मापदण्डको नमुना सरसफाइ कार्यक्रम कार्यान्वयनका लागि नगरपालिकाले गरिरहेको कामको बारेमा कार्यपत्र प्रस्तुत एवं छलफल गरिएको थियो । महालक्ष्मी नगरपालिकाले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशन र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा आई.एस.ओ. २४५२१ मापदण्डको सरसफाइ कार्यान्वयन गरिरहेको छ । चर्पीको सेप्टिक ट्याङ्कमा जम्मा भएको मानव मलमूत्रलाई गाडी मार्फत सुरक्षित तरिकाले प्रशोधन स्थलसम्म पु्याउने र प्रशोधन केन्द्रमा प्रशोधन भएको सह उत्पादनलाई पुनः प्रयोग गर्ने वा सुरक्षित तरिकाले वातावरणमा पठाउने काम आई.एस.ओ. २४५२१ भित्र पर्दछ ।

उक्त नमुना कार्यक्रम सञ्चालनका लागि नगरपालिका मातहतमा स्यानिटेशन सेल गठन भई काम गर्न थालेको, मानव मलमूत्र प्रशोधन गर्नका लागि जग्गाको छनौट तथा रेखाङ्कन गरिसकेको, डिजाइन एवं लागत स्टिमेट तयार भईसकेको, बधशाला र यसबाट उत्सर्जन हुने फोहोर व्यवस्थापनको योजना बनाउने बारेमा छलफल एवं अध्ययन भईसकेको नगरपालिकाको वातावरण शाखाका इञ्जिनियर लव कुमार गुप्ताले जानकारी दिनुभयो । उहाँले फोहोर व्यवस्थापनका लागि कार्यविधि निर्देशिका आदि तयारी क्रममा रहेको, फोहोर व्यवस्थापनका लागि आर्थिक एवं प्राविधिक स्रोत सहयोग जुटाउनका लागि विभिन्न संघसंस्थासँग पैरवी परामर्श एवं प्रचारप्रसारको काम समेत भईरहेको र क्षमता अभिवृद्धिको काम समेत सँगसँगै भईरहेको बताउनुभयो ।


कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले काठमाडौ उपत्यकामा फोहोरपानी व्यवस्थापनका लागि भएका प्रयास तथा आगामी योजनाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले वाग्मती नदी खण्डको संखमूल र टेकू दोभानमा सबैभन्दा बढी प्रदुषण भेटिएको बताउनुभयो । ती दुवै ठाउँमा ७० बिओडी भन्दा बढी भेटिएको छ । जत्ति धेरै बिओडीको मात्रा उत्ति धेरै पानी प्रदुषण हुन्छ ।

यस्तै नगरपालिकाको वर्तमान सरसफाइको अवस्थाबारे अध्ययनको प्रतिवेदन प्रस्तुत गर्दै डा. भुषण राज श्रेष्ठले नगरपालिका क्षेत्रमा सेप्टिक ट्याङ्क भन्दा पनि होल्डिङ ट्याङ्क बढी रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो । उहाँले २ प्रतिशत घरले मात्र नियमित तालिका अनुसार सेप्टिक ट्याङ्क सफा गर्ने गरिएको र बाँकीले भरिएपछि मात्र ट्याङ्क खाली गर्ने गरिएको भेटिएको जानकारी गराउनुभयो ।

परामर्शदाता डा. मिङमा शेर्पाले नगरपालिका व्यापी सरसफाइ बारे प्रस्तुतीकरण गर्दै खर्च तथा लगानी हुने क्षेत्र र नगरपालिकाले अबलम्बन गर्नुपर्ने पक्षबारे जानकारी गराउनुभयो । उहाँले नगरपालिकाको सम्पूर्ण तथ्याङ्क संकलन गरिसकेकाले कुन क्षेत्रका लागि कस्तो लगानी आवश्यक छ भन्ने कुरा प्रष्ट रहेको बताउनुभयो । सरसफाइ विनियमका बिषयमा अर्का परामर्शदाता सञ्जय अधिकारीले प्रस्तुत गर्नुभयो । उहाँले स्वच्छ, सफा, समृद्ध, सुन्दर महालक्ष्मी नगरपालिकाको लक्ष्य प्राप्तिका लागि घरेलु फोहोरको सुरक्षित व्यवस्थापन गरी जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने जोखिमको न्यूनीकरण गर्न नियमन गर्न आवश्यक रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय मापदण्डको प्रशोधन केन्द्र नेपालमै पहिलो


महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकामा बन्न लागेको अन्तर्राष्ट्रिय मापदण्डको मानव मलमूत्र प्रशोधन केन्द्र नेपालमै पहिलो भएको बताउनुभयो । उहाँले महालक्ष्मी नगरपालिकाले सरसफाइको क्षेत्रमा उत्कृष्ट र नमूना योग्य काम गरिरहेको बताउनुभयो । ‘हामीले अब बन्ने नयाँ घरहरुमा वाटर शील्ड सेप्टिक ट्याङ्क बनाउनुपर्ने नियम कडाईका साथ लागु गरेका छौं । ग्राउण्ड वाटर रिचार्ज गर्नैपर्ने व्यवस्थालाई नगरसभाले पारित गरी कार्यान्वयनको क्रममा रहेको छ ।’ उहाँले भन्नुभयो ‘नगरपालिका भित्र उत्सर्जन हुने ठोस फोहोरमैला, मानवमलमूत्र र फोहोरपानीलाई समान महत्व दिएर व्यवस्थापन गर्न सुरु गरेका छौं ।’

उहाँले भविश्यमा सबै घरलाई ढल प्रणालीमा जडान गर्ने योजना भएपनि तत्कालका लागि वडा नं.६, ७, ८, ९ र १० मा मानव मलमूत्र प्रशोधन गरी व्यवस्थापन गरिने र वडा नं. १, २, ३, ४ र ५ लाई ढल प्रणालीमा जोड्ने गरी वर्गीकरण गरिएको बताउनुभयो । ‘ढल निर्माण गर्दा लगानीको हिसाबले धेरै रकम आवश्यकता पर्ने र भौगोलिक रुपले सम्भव नभएको ठाउँमा प्रशोधन केन्द्र मार्फत मानव मलमूत्र व्यवस्थापन गर्नेछौं । गोदावरी करिडोर नबन्दा सम्म वडा नं. ६ देखि १० सम्म यो सम्भावना छैन’ उहाँले भन्नुभयो ।

उहाँले शील्ड सेप्टिक ट्याङ्क निर्माण भएमा मात्र पानीजन्य रोगहरुमा कमी आउने बताउनुभयो । नगरप्रमुख श्रेष्ठले मानवमलमूत्रको व्यवस्थापनकै लागि अब बन्ने नयाँ घरमा परिवार संख्याको अनुपातमा शील्ड सेप्टिक ट्याङ्क बनाउन अनिवार्य गराएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार