भक्तपुर : काठमाडौ उपत्यका भित्र उत्पादन हुँदै आएको फोहोरलाई छिमेकी जिल्लाको भूमिमा लगेर थुपार्ने बर्षौ बर्षदेखिको परिपाटीलाई चाँगुनारायण नगरपालिकाले भने अब निरन्तरता नदिने भएको छ । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भएको फोहोरलाई आफ्नै क्षेत्रभित्र व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढाएको हो । यसका लागि नगरपालिकाले जग्गा प्राप्ति र विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माणको काम अगाडि बढाएको छ । नगरपालिकाले वडा नं. ४ मा पर्ने चिहानडाँडा खोरियामा रहेको सार्वजनिक जग्गामा स्यानिटरी ल्याण्डफिल साईट निर्माण गर्न लागेको हो ।
उक्त स्यानिटरी ल्याण्डफिल साईट धनकुटाको मोडलमा सञ्चालन गरिनेछ । चाँगुनारायण नगरपालिकाका प्रमुख सहित अन्य जनप्रतिनिधीहरुले धनकुटाको ल्याण्डफिल साईट अवलोकन गरिसक्नुभएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले बताउनुभयो ।
‘अहिलेसम्म यहाँको फोहोरलाई सिसडोल ल्याण्डफिल साईटमै पठाईरहेका छौंं । अब तुरुन्तै हामी आफै ल्याण्डफिल साईट बनाउँदैछौ । यसका लागि डिपीआर बनाउने क्रम सुरु भएको छ । यहाँका जनप्रतिनिधीहरु सबैले नमुनाको रुपमा रहेको धनकुटाको ल्याण्डफिल साईटलाई हेरेर आउनुभएको छ ।’ प्रशासकीय अधिकृत तिम्सिना भन्नुहुन्छ ‘धनकुटाको भन्दा पनि अझ परिस्कृत ढंगको स्यानिटरी ल्याण्डफिल साईट हामी बनाउँदैछौं । फोहोर जम्मा गर्ने वा थुपार्ने ठाउँ होइन कि व्यवस्थित पर्यावरणीय पार्कको रुपमा विकास गर्नेछौं ।’
चाँगुनारायण नगरपालिकालाई सरसफाइकाृ हिसाबले व्यवस्थित बनाउने, काठमाडौ उपत्यका भित्रका लागि मात्र नभई देश तथा विदेशबाट आउने पाहुनाका लागि समेत सुन्दर आकर्ष बनाउने नगरपालिकाको परिकल्पना छ । प्रमुख प्रशासकीय अधिकृत तिम्सिना भन्नुहुन्छ ‘हामीले बनाउन लागेको स्यानिटरी ल्याण्डफिल साईट काठमाडौ उपत्यकाभित्रको मात्र होइन, देशकै नमुनायोग्य बन्नेछ । अन्यत्रबाट पनि सिक्न र हेर्न लायकको ठाउँ बन्नेछ । सरसफाइको क्षेत्रमा चाँगुनारायण नगरपालिका उत्कृष्ट र उदाहरणीय बनाउने हाम्रो सोच छ ।’
स्यानिटरी ल्याण्डफिल साईटबाट पूर्वाधार, पार्क र रोजगारी
स्यानिटरी ल्याण्डफिल साईट भनेपनि फोहोर फाल्ने ठाउँ नै हो र यसबाट दुर्गन्ध फैलिन्छ भन्ने आम बुझाई छ । तर भक्तपुरको चाँगुनारायण नगरपालिकामा बन्न लागेको स्यानिटरी ल्याण्डफिल साईट तपाई हामीले बुझे जस्तो किसिमको नबन्ने प्रमुख प्रशासकीय अधिकृत तिम्सिना बताउनुहुन्छ ।
उहाँका अनुसार ल्याण्डफिल साईटलाई फोहोर प्रोसेसिङ गर्ने सेन्टरको रुपमा विकास गर्ने, त्यहाँबाट कम्पोष्टिङ गर्ने, ग्यास निकाल्ने र र बस्तीमा कुनै असर नपर्ने तरिकाले अत्याधुनिक प्रविधि अपनाईछ । नगरपालिकाले स्थानीय समुदायसँग पनि त्यही ढंगले छलफल चलाईरहेको छ । ‘स्थानीय स्तरमा फोहोर ल्याएर रोग भित्र्याउने नभई पूर्वाधार बन्ने, रोजगारीको अवस्था सिर्जना गर्ने र आन्तरिक र वाह्य पर्यटकलाई समेत आकर्षण गर्ने पर्यावरणीय पार्कको रुपमा विकास गर्नेछौं’ उहाँले भन्नुभयो । स्यानिटरी ल्याण्डफिल साईट निर्माण गर्दा आउने अवसरमा समेत स्थानीय बासिन्दालाई पहिलो प्राथमिकता दिने हुँदा नगरपालिका क्षेत्रको समग्र आर्थिक समृद्धिमा समेत यसले टेवा पुग्ने उहाँको विश्वास छ ।
चाँगुनारायण नगरपालिकाले हाल नेपाल स्वच्छ वातावरण सिर्जना केन्द्र, नेप्सेम्याक लगायत संस्थासँग सम्झौता गरी फोहोर व्यवस्थापनको काम गरिरहेको छ । २०७४ कार्तिकमा गरेको घरधुरी सर्वेक्षण अनुसार नगरपालिकाभित्र भित्र बसोबास गर्ने १२ हजार १७० घरपरिवार मध्ये २२ प्रतिशत घरपरिवारले फोहोर व्यवस्थापनको सदस्यता लिएर फोहोर व्यवस्थापन गरिरहेका छन् भने ७८ प्रतिशत घरपरिवारले सदस्यता नलिई आफ्नै तवरले फोहोरमैला व्यवस्थापन गरिरहेका छन् । ती मध्ये ६१ प्रतिशत घरपरिवारले फोहोरमैलाको वर्गीकरण गरेको र ३९ प्रतिशतले वर्गीकरण नगरेको पाईएको छ ।
काठमाडौ उपत्यकाभित्रका १८ वटा नगरपालिकामा उत्पादन भईरहेको ठोस फोहोरलाई अहिलेसम्म नुवाकोटको सिसडोल ल्याण्डफिल साईटमा विसर्जन गर्दै आएको छ । अबको केही समय पछि नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडा ल्याण्डफिलसाईटमा बिसर्जन गर्ने तयारी भईरहेको छ । चाँगुनारायण नगरपालिकाको यो योजना सम्पन्न भएपछि आफ्नै ल्याण्डफिल साईट निर्माण गरी फोहोर व्यवस्थापन गर्ने काठमाडौ उपत्यकाभित्रको पहिलो नगरपालिका बन्नेछ, चाँगुनारायण नगरपालिका ।
चाँगुनारायण नगरपालिकाले २०७८ पुस मसान्तभित्र पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउन पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ जारी गरी कार्यान्वयन गरिरहेको छ । नगरपालिकाले तोकिएको समयभित्रै पूर्ण सरसफाइ उन्मुख नगर बनाउने लक्ष्य हासिल गर्न ग्लोबल स्यानिटेसन फण्ड/युएन ह्याबिटाट सँगको साझेदारीमा पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरु सञ्चालन गरिरहेको छ ।