काठमाडौ : काठमाडौं महानगरपालिका भित्र उत्पादित पुनःप्रयोग गर्न मिल्ने कवाडी सामान खरिद गर्न महानगरपालिका र खाली सिसि व्यवस्थापन प्रा. लि. बीच सम्झौता भएको छ । महानगरको वातावरण व्यवस्थापन बिभागका प्रमुख हरिकुमार श्रेष्ठ र व्यवस्थापन प्रा. लि. का अध्यक्ष आयुषी के. सी. बीच महानगरबासीले बोलाएको ठाउँमा गएर खालीसिसिले सामान खरिद गर्ने सम्झौता भएको हो । ५ बर्षका लागि गरिएको सम्झौतामा खाली सिसिले हरेक ४ महिनामा मुल्य पुनरावलोकन गरेर महानगरलाई परिवर्तित मुल्य बारे जानकारी गराउनुपर्नेछ ।
सम्झौताको अनुसूची अनुसार कागज, शिशा, प्लाष्टिक, धातु र स्टिल तथा बिद्युतीय गरी ५ प्रकृतिका पुनप्रयोगीय फोहोर खरिद गर्ने उल्लेख छ । कागज प्रकृतिका खबर कागजको प्रतिकिलो १० रुपैयाँ, किताब ७ रुपैयाँ, कापीको १२ रुपैयाँ, एफोर साइज कागजको ७ रुपैयाँ, म्यागाजिनको ७ रुपैयाँ, परीक्षा कागजको १० रुपैयाँ, कार्डबोर्डको ३ रुपैयाँ, अण्डाको क्रेटको प्रतिकिलो ३ रुपैयाँ तोकिएको छ ।
सम्झौताअनुसार महानगरबासीले बिक्री गर्न चाहेको सामानको विवरण र ठेगाना पठाएपछि खाली सिसि व्यवस्थापनले पहिचान झल्कने डेस लगायतका व्यक्ति सामान खरिद गर्न पठाउनेछ । यसरी खरिद गरिएको सामान संकलन गर्ने, प्याकिङ्ग गर्ने, ढुवानी गर्ने जिम्मेवारी खाली सिसिको हुनेछ । खालीसिसिकी अध्यक्ष आयुषी के. सी. भन्नुहुन्छ “लामो दुरीबाट ढुवानी गर्नुपर्यो भने मुल्य कम हुन सक्छ । यो मुल्य चलन चल्तीको बजारभाउले पनि निर्धारण गर्न सक्छ । अर्थात् केही रुपैयाँ वा पैसा तलमाथि हुनसक्छ ।”
अनुसूचीमा राखिएको दोश्रो प्रकृतिको पुनप्रयोगीय फोहोर अन्तर्गत बियरको बोतलको प्रतिगोटा १ रुपैयाँ र वाइनको बोतलको मुल्य प्रति गोटा ५० पैसा राखिएको छ । त्यस्तै तेश्रो प्रकृतिको पुनप्रयोगीय फोहोरमा प्लाष्टिकजन्य बस्तुलाई राखिएको छ । यसमा स्याम्पोको भाँडा र पानी लगायत प्लाष्टिकका बोतलमा राखिएका पेय बस्तुका खोलको मुल्य प्रतिकिलो ५ रुपैयाँ राखिएको छ ।
धातुजन्य फोहोर अन्तर्गत अल्मुनियनका सामानको प्रतिकिलो ९० रुपैयाँ, सोडा र बियरका क्यानको प्रतिकिलो २५ पैसा राखिएको छ । स्टिलको फर्निचरको अवस्था अनुसार मुल्य निर्धारण गरिने उल्लेख छ । त्यस्तै धातु २०, ब्रास ३८०, तामा ४५०, स्टिल २० र टिन प्रतिकिलो ४ रुपैयाँ निर्धारण गरिएको छ । यसैगरी बिद्युतीय फोहोरमा क्यामरा, कम्प्युटर र कम्प्युटरजन्य उपकरण, मोवाइल र मोबाइलजन्य उपकरण, टेलिभिजन र टेलिभिजनजन्य उपकरण तथा तारहरु राखिएको छ । यिनीहरुको मुल्य भने सामानको परिणाम र अवस्था अनुरुप निर्धारण गरिने व्यवस्थापनकी अध्यक्ष के. सी. को भनाइ छ ।
महानगरको वातावरण व्यवस्थापन बिभाग प्रमुख हरिकुमार श्रेष्ठ भन्नुहुन्छ “यी सामानको मुल्य हामी वडा कार्यालय मार्फत स्थानीयको सूचनामा पुर्याउँछौं, आवश्यकता अनुसार स्थानीयमा सूचना प्रवाह गर्न राखिने डिजिटल बोर्डको दायित्व खालीसिसिले निर्वाह गर्नेछ ।″ महानगरको अनुगमन र निरीक्षणमा सम्पादन हुने काम चित्त बुझ्दो नभए ३५ दिनको सूचना दिएर सम्झौता भङ्ग हुन सक्ने व्यवस्था गरिएको छ । यसबाट महानगरबासी फोहोरलाई श्रोतमा बर्गीकरण गर्ने बानीको बिकास हुने विभागका निमित्त प्रमुख श्रेष्ठको विश्वास छ ।