काठमाडौ : फोहोर हुनै नदिने अनेकौं उपाय लगाए पनि घरभित्र केही न केही फोहोर उत्पादन भईरहन्छ । आलुको बोक्रा, बासी भात, कुहिएको गोलभेंडा, चियाको पत्ती कहाँ फ्याँक्ने ? नकुहिने फोहोर त थुपारेर राखेर फोहोरको गाडी आएको बेला पठाउँदा पनि हुन्छ । तर कुहिने फोहोरलाई चाँडै व्यवस्थापन गर्न नसके घरै गन्हाउन थाल्छ ।
घरभित्र उत्पादन हुने कुहिने फोहोरलाई व्यवस्थापन गर्ने एउटा सजिलो तरिका हो गड्यौला पालन अर्थात कुहिने फोहोर गड्यौलालाई खुवाउने र गड्यौलाको दिसालाई मलको रुपमा प्रयोग गर्ने ।
यसलाई व्यवसायिक तरिकाले नै पाल्नुपर्छ भन्ने छैन । घरायसी स्तरमा साधारण तरिकाले पनि पाल्न सकिन्छ । काठमाडौका कतिपय घरधनीले गड्यौला पालन सुरु गरिसकेका छन् । यसको पछिल्लो उदाहरण बन्नुभएको छ, भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ नगरकोटफेदीकी तारा गिरी । उहाँले घरको छतमा रङको बाल्टिनमा गड्यौला पालन गर्न सुरु गर्नुभएको छ । गड्यौला पालन सुरु गरेपछि घरभित्र उत्पादन हुने कुहिने फोहोरलाई व्यवस्थापन गर्न सजिलो भएको उहाँले बताउनुभयो ।
नगरकोटफेदी पूर्ण सरसफाइ तर्फ अग्रसर नमुना समुदाय हो । नमुना समुदायभित्र फोहोरलाई कुहिने र नकुहिनेमा बर्गीकरण गर्नुपर्ने र जैविक खेतीलाई प्रबर्धन गर्नुपर्ने नियम छ । समुदायभित्र बसोबास गर्ने घरपरिवारले करेसाबारीको निर्माण तथा व्यवस्थापन गर्नुपर्ने, जैविक खेतीलाई प्रबद्र्धन गर्नुपर्ने लगायत नियमले पनि गड्यौला मल बनाउन प्रेरित भएको गिरीले बताउनुभयो ।
हेरौं यो भिडियो :
नगरकोट फेदी समुदायलाई पूर्ण सरसफाइतर्फ अग्रसर नमुना समुदायको रुपमा विकास गरी सरसफाइ सम्बन्धी विभिन्न क्रियाकलापहरु भईरहेका छन् । पूर्ण सरसफाइ उन्मुख बस्तीको परिकल्पनालाई अन्य ठाउँमा समेत अनुकरण गर्न योग्य बनाउन नगरकोट फेदीलाई नमूना समुदायको रुपमा विकास गरिएको हो । नमुना समुदायको सबै घरधुरीमा चर्पीको समुचित प्रयोग भएको, जोखिमपूर्ण अवस्थामा साबुन पानीले हात धुने बानीको विकास भएको, महिनावारी स्वच्छता सम्बन्धी ज्ञान र व्यवहार अबलम्बन भएको, सुरक्षित पानीको प्रयोग भएको र घरायसी तहमा पानी शुद्धिकरण गरी पिउने गरेको ग्लोबल स्यानिटेशन फण्ड/यूएन ह्याबिट्याट र चाँगुनारायण नगरपालिकाको साझेदारीमा सञ्चालित पूर्ण सरसफाइ कार्यक्रमका पालिका संयोजक सुरेन्द्र लामिछानेले बताउनुभयो ।
‘नमुना समुदायमा सुरक्षित खानाको प्रयोग गर्ने गरेको, समुदाय भित्रको सबै घरधुरीमा फोहोरलाई कुहिने र नकुहिनेमा बर्गीकरण गरेको, घरभित्र र बाहिरको ठोस तथा तर फोहोरको उचित व्यवस्थापन भएको पाउनुहुन्छ ।’ संयोजक लामिछाने भन्नुहुन्छ ‘सबै घरधुरीमा सुधारिएको चुलो प्रयोग भएको, भाँडा माझ्ने जुठ्यान र भाँडा सुकाउने स्थानको उचित व्यवस्थापन भएको, समुदायभित्र घरधुरीहरुमा करेसाबारीको निर्माण, व्यवस्थापन र उपयोग भएको लगायत थुप्रै बिशेषता नमुना समुदायमा रहेको छ ।’
पूर्ण सरसफाइ सहजकर्ता रमिता तामाङका अनुसार नमूना समुदायको आफ्नै नियम छ । नमूना समुदायभित्रका हरेक घरले पूर्ण सरसफाइ प्राप्तिका लागि नियम बनाएर लागु गरेको उहाँले बताउनुभयो । ‘जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ, बाहिर दिसा गरेमा ५० रुपैयाँ, मदिरा सेवन गरी होहल्ला गरेमा ५०० रुपैयाँ जरिवाना तोकिएको छ’ उहाँले भन्नुभयो । समुदायले बनाएको आचारसंहितालाई २०७६ साल मंसिर ६ गते शुक्रबारको आम भेलाले अनुमोदन गरिएको थियो ।