काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चैत्र १० गते एउटा सूचना प्रकाशन गर्यो । सूचनाको बिषय थियो ‘खानेपानी उत्पादन, प्रशोधन एवं वितरण, टैंकर एवं ढल सञ्चालन सेवा बाहेक अन्य सेवाहरु स्थगन गरिएको’
सूचनामा भनिएको थियो ‘कम्पनीले सञ्चालन गर्दै आईरहेका खानेपानी उत्पादन, प्रशोधन एवं वितरण, टैंकर एवं ढल सञ्चालन सेवाको जोखिमलाई न्यूनिकरण गर्न अन्य सेवाहरु चैत्र ११ गतेदेखि २०७७ साल वैशाख १० गतेसम्म स्थगन रहने र उक्त अवधिको महसुलमा जरिवाना नलाग्ने ।’
कोरोना महामारी विरुद्ध सजगता अपनाउन सरकारले गरेको लकडाउन सँगै प्रशासनिक कामहरु स्थगन गरेर सबै शक्ति खानेपानी उत्पादन, प्रशोधन एवं वितरणमा केन्द्रित गरेको केयूकेएलले पुरानै तालिका अनुसार पानी नआएमा फोन गरेर जानकारी लिन सबै शाखाको जिम्मेवार कर्मचारी र नम्बर समेत उपलब्ध गराएको थियो ।
लकडाउनको तेस्रो दिन अर्थात चैत्र १३ गते काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यको नेतृत्वमा महांकालचौर शाखा र बाँसबारी शाखाको खानेपानी आपूर्ति र गुणस्तर सम्बन्धी जानकारी लियो । केयुकेएल प्रमुख शाक्यले लकडाउनको समयमा खानेपानीको अभाव हुन नदिने र अस्पताललाई पहिलो प्राथमिकतामा राखेर ट्याङ्कर मार्फत भएपनि खानेपानी वितरण गर्ने बताउनुभएको थियो ।
चैत्र महिना बर्षभरिकै सबैभन्दा कम पानी उत्पादन हुने महिना हो । तर पनि काठमाडौँ उपत्यकामा बिगतका वर्षहरुमा जस्तो खानेपानी नै नपाउने अवस्था सिर्जना भएको छैन । लकडाउनको समयमा सबै जना घरभित्रै बसिरहँदा समेत विगतमा जस्तो खानेपानीको समस्या झेल्नु परेको छैन ।
कोरोना महामारीको त्रासका कारण सरकारले ‘लकडाउन’ घोषणा गर्नु पहिले नै काठमाडौ उपत्यका छाडेकाले पनि विगत बर्षहरुमा जत्ति पानीको अभाव नभएको हो ।त्यस्तै अति आवश्यकीय सेवा खानेपानी नै वितरण गर्न नसके उपत्यकाबासीको प्राण जोगाउन सकिदैन भन्ने हेतुले जसरी भएपनि खानेपानी उपलब्ध गराउन क्रियाशील केयूकेएलका कार्यकारी प्रमुख मिलन शाक्य र उहाँको टोलीका कारण पनि पुरानो तालिका अनुसार धारामा पानी खसिरहेको हो ।
उपत्यकाबासीलाई जुनसुकै तवरले भएपनि खानेपानी उपलब्ध गराउनुपर्छ भन्ने दृढ इच्छा शक्ति उहाँले देखाउनुभएको तदारुकताले पनि देखाउँथ्यो । सरकारले लकडाउन घोषणा गरेको आठौं दिनमा उहाँले शाखा प्रमुखहरुसँग भिडियो कन्फ्रेन्स मार्फत खानेपानी वितरणको अवस्थाबारे जानकारी लिनुभएको थियो । साथै खानेपानी अति आवश्यकीय सेवा भएकाले पानी उत्पादन तथा प्रशोधनको अवस्था हेरी हरसम्भव समानुपातिक ढंगबाट सबैलाई पानी वितरण गर्न पनि शाखा प्रमुखहरुलाई निर्देशन दिनुभएको थियो ।
कार्यकारी प्रमुख शाक्य र उहाँको टिमको सक्रियताका कारण देश पूरै लकडाउन हुँदा पनि खानेपानी पिउन नपाएर प्राण जाने स्थिति आयो भन्ने खबर आएको छैन । जत्ति बेला देशले विपदको सामना गरिरहेको हुन्छ, आफूहरुको जिम्मेवारी अझ बढ्ने गरेको कार्यकारी प्रमुख शाक्य बताउनुहुन्छ । ‘भूकम्पका समयमा घरभित्र जान त्रासका कारण ट्याङकरबाटै बढी पानी वितरण गरेका थियौं, यत्तिबेला सार्वजनिक ट्याङ्कीबाट पनि ग्राहकको घर घरमा जाने पाइपमै पठाउने गरेका छौं, सार्वजनिक धारामा मानिसको भीडभाड हुनसक्ने भएकाले हामीले सकेसम्म घर–घरमा बढी पानी पठाइरहेका छौँ ।’ उहाँले भन्नुभयो ।
लकडाउनको समयमा कर्मचारीले आवश्यक सावधानी अपनाएर फिल्डमा काम गरिरहेको उहाँले बताउनुभयो । ‘कर्मचारी फिल्डमा जान जोखिमपूर्ण भएकाले उपलब्ध भएसम्म सुरक्षा सामग्री दिइएका छौं, मास्क र पञ्जा र स्यानिटाइजर दिए पनि एप्रोन भने दिन सकिएको छैन ।’ उहाँले भन्नुभयो ।
काठमाडौँ उपत्यकामा हिजोआज दैनिक नौ करोड लिटर पानी उत्पादन गरी वितरण भईरहेको छ । उपत्यकामा दैनिक ४१ करोड लिटर पानीको माग भएपनि स्रोत साधनको अभावमा लिमिटेडले दैनिक ९ देखि १३ करोड लिटर मात्र पानी वितरण गरिरहेको छ । बाँकी दैनिक २८ करोड लिटर पानी भने ट्याङ्कर तथा अन्य निजी स्रोत मार्फत आपूर्ति गर्दै आएको छ ।
मेलम्ची खानेपानी आयोजनाले दैनिक १७ करोड लिटर पानी आपूर्ति गर्न थालेपछि बर्षौदेखि उपत्यकाका बासिन्दाले झेल्दै आएको खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।