काठमाडौ : विगत दुई हप्ता यता तपाई हाम्रो दैनिकी घरभित्र खुम्चिएको छ । हामीले बाहिरको परिवेश देख्न नपाएको पनि त्यत्ति नै समय भएको छ । तर निश्चित समयको फरकमा सिट्ठी बज्न छोडेको छैन । अर्थात फोहोरमैला व्यवस्थापनको काम भने भईरहेको छ । फोहोरमैला व्यवस्थापनको काम नियमित रुपमा भईरहेकाले सडकमा फोहोर थुप्रिएको छैन ।
महासचिव घिमिरे भन्नुहुन्छ ‘घर र सडकको फोहोर उठाउन काममा जाँदा कामदारलाई प्रहरीले नआईजा भनेर फिर्ता पठाएको र पिटेको अवस्था छ ।
फोहोरमैला व्यवस्थापनको काम त्यसै पनि जोखिमपूर्ण काम हो । विभिन्न रोगको संक्रमण हुने जोखिम अन्य मानिसको तुलनामा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा क्रियाशील सरसफाइकर्मीहरुलाई हुन्छ । झनै कोरोना महामारीको यो बेला फोहोरमैला व्यवस्थापनको काम निक्कै चुनौतीपूर्ण छ । तैपनि सेवा नै ठप्प भएको अवस्था भने छैन । किनकि फोहोरमैला व्यवस्थापनको काम अति आवश्यक सेवा भित्र पर्दछ ।
स्वच्छ समाज सेवा विकास केन्द्रकी सञ्चालक सीता गौतम फोहोरमैलामा काम गर्ने कर्मचारीहरु असुरक्षित अवस्थामा काम गरिरहेको बताउनुहुन्छ । सरसफाईकर्मीहरुसँग सुरक्षाको निम्ति चाहिने आवश्यक ग्लोब, मास्क आदि सुरक्षा सामग्री अभाव मात्र होइन, सुरक्षाकर्मी र घरधनीले गर्ने व्यवहार पनि उनीहरुका लागि थप समस्या भएको छ । सरसफाइकर्मीहरुका लागि काम गर्ने सुरक्षित बाताबरण नभएको बताउनुहुन्छ गौतम ।
फोहोरमैला जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने सरसफाइकर्मीहरुलाई काम गर्ने सहज वातावरण नभएको फोहोरमैला व्यवस्थापन संघका महासचिव मित्र घिमिरेको तर्क छ । महासचिव घिमिरे भन्नुहुन्छ ‘घर र सडकको फोहोर उठाउन काममा जाँदा कामदारलाई प्रहरीले नआईजा भनेर फिर्ता पठाएको र पिटेको अवस्था छ ।’ सरकारबाट पासको व्यवस्था नहुँदा र पन्जा, मास्क जस्ता सुरक्षा सामग्रीको अभावमा सरसफाइकर्मी असुरक्षित तरिकाले फोहोर संकलन तथा व्यवस्थापनको काम गर्दै आएका छन् । भोलि सडकमा फोहोर थुप्रिएको खण्डमा यसले थप महामारी निम्त्याउन सक्ने उहाँको भनाइ छ ।