काठमाडौ : वमेन एक्ट (WOMEN ACT ) ले क्वारेनठाइन र आइसोलेसन कक्षमा महिलाका लागि छुट्टै कोठा, शौचालय र स्नानघरको व्यवस्था गर्न नेपाल सरकार लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । हालसम्म एक ठाउँमा मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन कक्ष निर्माण भएको पाईएको र अधिकांश क्वारेन्टाइन कक्षहरु मापदण्ड बिना स्कूल, कलेज तथा कबर्ड हलहरुमा निर्माण गरिएको पाइएकाले महिलाका लागि छुट्टै शौचालय र स्नानघरको व्यवस्था गर्न माग गरिएको वमेन एक्ट (WOMEN ACT) की कार्यकारी अध्यक्ष सृजना अधिकारीले जानकारी दिनुभयो ।
वमेन एक्ट (WOMEN ACT) ले आज एक प्रेस विज्ञप्ती जारी गर्दै गर्भवती, सुत्केरी, महिनावारी भएका र बृद्घ महिलाहरु भए उनीहरुको लागि चाहिने आधारभूत सुविधाको व्यवस्था मिलाउन समेत भनेको छ । कोभिड—१९ ले धेरै महिलाहरुले विद्यमान लैङ्गिक असमानता र महिला माथि हुने विभेद र हिंसालाई बढाउने संभावना देखिएकाले यसबारे नेपाल सरकार लगायत सरोकारवालाहरुको ध्यानाकर्षण गराएको जनाएको छ ।
ध्यानाकर्षण गराएका बिषयहरु :
१.महिला मैत्री क्वारेन्टाइन र आइसोलेसन कक्षहरुको व्यवस्था गरिनुपर्ने : यस प्रकारका अभ्यासहरु स्थानीय, प्रदेशीय तथा संघीय सरकारका लागि नयाँ भएकाले राम्रो उद्देश्यका बावजुद पनि कमी कमजोरीहरु हुन सक्छन भन्ने कुरालाई नकार्न सकिदैन । WOMEN ACT ले सातै प्रदेशका केहि स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरुसंग बनेका क्वारेन्टाइन कक्षहरु कत्तिको महिला मैत्री छ भनेर बुझ्दा, एक ठाउँमा मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार क्वारेन्टाइन कक्ष निर्माण भएको पाईयो, जसमा महिला र पुरुषका लागि छुट्टै कोठा र शौचालय, महिलाको लागि महिला नै शुरक्षाकर्मी र दिनको ४ पटक खाना (बिहानको नास्ता, बिहानको खाना, दिनको नास्ता र बेलुकीको खाना) को व्यवस्था गरिएको छ ।
अधिकांश क्वारेन्टाइन कक्षहरु मापदण्ड बिना स्कूल, कलेज तथा कबर्ड हलहरुमा निर्माण गरिएको पाईयो । यसका साथै, सम्पर्क गरिएका अस्पतालहरु मध्ये, चितवन कोरोना अस्पतालमा मात्रै महिला र पुरुषका लागि छुट्टा छुट्टै आइसोलेसन वार्ड, सौचालय र महिला र पुरुष दवै शुरक्षाकर्मीको व्यवस्था गरिएको पाईयो । तसर्थ, सवै क्वारेनटाईन र आइसोलेसन कक्षहरुमा महिलाहरुको लागि छुट्टै कोठा, शौचालय र स्नानघरको व्यवस्था गर्न र गर्भवती, सुत्केरी, महिनावारी भएका र बृद्घ महिलाहरु भए उनीहरुको लागि चाहिने आधारभूत सुविधाहरुको व्यवस्था मिलाउनु पर्दछ ।
२.यस्तो अवस्थामा घरेलु तथा महिला हिंसा बढ्न नदिन सरकार तथा अन्य सरेकारवालाहरुले विशेष व्यवस्थाहरु मिलाउने र जनचेतना पैmलाउने कार्य गर्नुपर्दछ । विशेषगरि एकल, अपाङ्गता भएका, दृष्टिविहिन, गर्भवती र सुत्केरी महिलाहरु, किशोरी, तेस्रोलिङ्गि महिला तथा साना बालिकाहरु वढी जोखिममा पर्ने र हिंसाका शिकार हुन सक्ने भएकाले महिला हिंसालाई रोकथाम र सम्बोधन गर्ने थप उपायहरु अवलम्बन गर्नुपर्दछ ।
३.कोभिड–१९ बाट संक्रमित महिलाहरुमा मानसिक असर पर्ने सम्भावना बढी हुने भएकोले मनोचिकित्सकहरु बाट बराबर मनोपरामर्शको व्यवस्था गरिनुपर्ने ।
४.गरीबीको चपेटामा परेका र अनौपचारिक क्षेत्रमा कार्यरत ज्याला मजदुरी गर्ने महिलाहरुको सामाजिक सुरक्षा सुनिश्चित् गर्नुपर्दछ र विशेष राहतको व्यवस्था मिलाउनुपर्ने ।
५.कोभिड–१९ बाट संक्रमित महिलाहरुमाथि लाञ्छना लगाउने र विभेद गर्ने व्यक्तिहरुलाई कारवाही गरिनुपर्ने, ताकि संक्रमित महिलाहरु झन प्रताडित हुनु नपरोस् ।
६.यस्तो अवस्थामा महिलाहरुमाथि घरेलु कामका साथ साथै शारिरीक र मानसिक बोझ थपिने भएकोले श्रीमान्, परिवारका अन्य सदस्यहरु तथा सवैले महिलाहरुलाई थप सहयोग पुर्याउने र सघाउने गर्नुपर्दछ किनभने घरको जिम्मेवारी परिवारका सवै सदस्यहरुको काँधमा बराबरी हुनुपर्दछ ।
७.नेपालमा बिरामीहरुको उपचार र हेरचाहमा खटिने नर्सहरु शतप्रतिशत महिला रहेका छन् । ती सवै नर्सहरु र महिला चिकित्सकहरु कम तलवमा लामो समयसम्म काममा खट्ने गरेको पाइन्छ । यसले उनीहरुलाई संक्रमणको उच्च जोखिममा पार्दछ । तसर्थ, सरकार लगायत सवै सरोकारवालाहरुले उनीहरुको समस्याहरुलाई सम्बोधन गर्ने, उनीहरुका आवश्यकताहरुको पहिचान र परिपूर्ति गर्न तत्पर हुनुपर्दछ ।