काठमाडौ : घरभित्र नै क्वारेन्टाइनमा बस्नु, बेला–बेलामा साबुनपानीले हात धुनु, बाहिर निस्कनै परे मास्क प्रयोग गर्नु जस्ता क्रियाकलाप अहिले आम मानिसको दैनिकी बनेको छ । लकडाउनले घरभित्रै सुरक्षित बसेको भए पनि कोरोनाको मानसिक त्रासले सबैलाई गाँजेको अवस्था छ । यस्तै परिस्थिति गुजारिरहेका चित्रकारहरूको पछिल्ला कलाकृतिमा कोरोना प्रभाव देखिन्छ ।
नीलो रङको मास्कमा देखिएको पुरुष धारामा हात धोइरहेका छन् भने गुलाबी रङको मास्कमा रहेकी महिलाका हातमा साबुन छ ।
चित्रकार रागिनी उपाध्यायदेखि एरिना ताम्राकार, आशा डंगोल, रमेश प्रधान, भाइराजा महर्जन, विनोद प्रधान, पृथ्वी श्रेष्ठ, प्रमिला बजाचार्य, सुनैना ठाकुरलगायतले कलाकृतिमा कोरोनाको आपत्कालीन अवस्थालाई चित्रण गरेका छन् । उनीहरूले चित्रमार्फत नै सुरक्षित रहने उपायतिर समेत जोड दिइरहेका छन् । अधिकांश चित्रकारले आफ्नो कलाकृतिमा मास्क र कोरोना भाइरसको स्केचलाई बिम्बका रूपमा प्रयोग गर्दै अहिलेको कठिन समय उतारेको देख्न सकिन्छ । उनीहरूले चित्रलाई आआफ्ना फेसबुक तथा ‘ई–आर्ट नेपाल’ बाटै अनलाइन प्रदर्शनी समेत गरिरहेका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेकी रागिनी उपाध्यायले ‘आजको प्रेमी औजार, आजको महत्त्व साबुनपानी’ शीर्षक दिएर मास्क लगाइरहेका महिला र पुरुषलाई चित्रमा देखाएकी छन् । नीलो रङको मास्कमा देखिएको पुरुष धारामा हात धोइरहेका छन् भने गुलाबी रङको मास्कमा रहेकी महिलाका हातमा साबुन छ । त्यहीं नजिकै रातो रङमा कोरोना भाइरसलाई पनि उनले औंल्याएकी छन् । उपाध्यायका अनुसार चित्रमा प्रयुक्त गुलाबी रङ र गुलाबको फूललाई प्रतीकात्मक अर्थ दिँदै ‘बाहिरी रूप मात्र होइन मन, वचन, मस्तिष्कको पनि फोहोर फालौं र सुरक्षित बनौं’ भन्ने सन्देश दिइएको छ । उनले चित्रमार्फत नै माया, करुणा, सकारात्मक र सिर्जनशील भाव प्रस्तुत गरेर मनको आवेगलाई नियन्त्रण गर्न आह्वान गरेकी छन् ।
अर्का चित्रकार आशा डंगोल र एरिना ताम्राकारले संयुक्त रूपमा होम क्वारेन्टाइनबाटै चित्रमार्फत कोरोना संक्रमणबाट बच्न सचेतना जगाइरहेका छन् । यो जोडीले लकडाउन समयमा कोलाब्रेसन आर्ट गर्दागर्दै कोरोना विषयतिर मोडिएको सुनाए । अहिले सबैको दिमागमा कोरोना र मुख मास्कले ढाकेको मानिसको दृश्य मात्रै आउने बताउँदै त्यसैलाई चित्रमा प्रतिबिम्बित गरेको ताम्राकारले बताइन् । उनले चित्रमार्फत सचेतनासँगै यो दुःखद क्षणलाई दस्ताबेजका रूपमा सुरक्षित गर्न चाहेको पनि सुनाइन् ।
चित्र र मूर्तिकलासँगै सेरामिक आर्टलाई पनि सँगसँगै लगिरहेका अर्का कलाकार रमेश प्रधानले माटामा कोरोना भाइरसको आकार उतारेका छन् । भक्तपुरमा रहेको आफ्नै कार्यशालामा एउटा घरको प्रतिस्थापन कलाका रूपमा भाइरस जस्तो देखिने कलाकृति उनले झुन्ड्याएर राखेका छन् । ‘यो गाह्रो समयमा सबै जना घरभित्रै बसेर सुरक्षित बनौं भन्ने सन्देश जगाउन खोजेको छु,’ उनले भने ।
त्यस्तै, चित्रकार पृथ्वी श्रेष्ठको चित्रमा सचेतनासँगै घरभित्रै थुनिएर रहेको आम मानिसका छटपटी सजिलै देख्न सकिन्छ । उनले चित्रमा मास्क लगाएर बसेको सिंगो मानव फिगरमा सानो झ्याल बनाएर त्यसभित्र आँखाको आकृति देखाएका छन् । बाहिर खुला ठाउँमा कुकुर, चरा उडिरहेका छन् भने अदृश्य रूपमा कोरोना भाइरस फैलिरहेको देखिन्छन् । कोठाभित्र बन्दी भएर बस्नुपरेको आफ्नै अवस्थालाई चित्रमा अभिव्यक्त गरिएको श्रेष्ठले बताए ।
मिथिला कलालाई निरन्तरता दिइरहेका अर्का चित्रकार सुनैना ठाकुरले भने सिंगो मुलुक कठिनाइसँग जुधिरहेको अवस्थालाई कारुणिक रूपमा चित्रमा व्यक्त गरेकी छन् । उनको चित्रमा एउटी महिलालाई चारैतिर कोरोना भाइरसले आक्रमण गरिरहेको छ । झन्डा काखमा लिएर दुःखी देखिएकी महिलालाई ठाकुरले नेपाल आमाका रूपमा चित्रण गरेकी छन् । उनले ‘घरमै बसौं, हात मिलाउनुको सट्टा नमस्कार गरौं, साबुनपानीले हात धोऔं र मास्क प्रयोग गरौं’ जस्ता सन्देश पनि चित्रमार्फत नै प्रस्तुत गरेकी छन् ।
‘मेरो चित्र अहिले एउटा कलाकृति मात्र होइन,’ उनले भनिन्, ‘प्रत्येक नागरिकलाई सुरक्षित र सचेत बनाउन यस चित्रले सघाउने छ ।’ सचेतनाका लागि चित्रलाई सामाजिक सञ्जालमार्फत प्रदर्शन गरिएको उनले बताइन् ।
साभार : कान्तिपुर दैनिक