काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले कोरोना भाइरस नियन्त्रणमा खानेपानी र सरसफाइको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संघसंस्थाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । स्मार्ट वास सोलुसन्सले कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन खानेपानी तथा सरसफाइ क्षेत्रले गर्नुपर्ने कामबारे सरोकारवालाहरुसँग गरिएको भिडियो कन्फरेन्समा उहाँले कोरोना भाइरस साबुन पानीले हात धोएर निस्क्रिय पार्न सकिने भएकाले सबैभन्दा महत्वपूर्ण भूमिका वास क्षेत्रमा क्रियाशील संघसंस्थाको हुने बताउनुभयो ।
महानिर्देशक दासले आम जनतालाई गुणस्तरीय पानी उपलब्ध गराउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, खानेपानी व्यवस्थापन बोर्ड र खानेपानी तथा व्यवस्थापन विभागले आयोजना हस्तान्तरण गरेका उपभोक्ता समितिहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले आम नागरिकलाई स्वच्छ, सुरक्षित र पर्याप्त पानी उपलब्ध गराउन नगरपालिका तथा गाउँपालिकाहरुलाई सक्षम बनाउन आवश्यक रहेको बताउनुभयो । गर्मीको समयमा नेपालमा धेरै संक्रामक रोगहरु फैलिने भएकाले रोकथामको पूर्वतयारीमा ध्यान केन्द्रित गर्नुपर्ने उहाँको भनाइ थियो ।
भिडियो कन्फरेन्समा सहभागी विज्ञहरुले कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि सामाजिक दुरी कायम गर्नका साथै साबुन पानीले हात धुने काम पनि उत्तिकै महत्वपूर्ण भएकोमा जोड दिए । कार्यक्रममा सहभागी पूर्व सचिव सुमन शर्माले विश्वमा महमारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको नियन्त्रण,रोकथाम र उपचार अहिलेको ठूलो चुनौती भएको बताउनुभयो । ‘गर्मी याममा नेपालमा हरेक बर्ष विभिन्न संक्रामक रोगहरु देखिने गरेका छन् । तिनको रोकथाम,नियन्त्रण र उपचारको लागि पनि सरकारले उत्तिकै तयारी गर्न आवश्यक छ ।’ उहाँले भन्नुभयो ।
भिडियो कन्फरेन्समा काठमाडौं विश्वविद्यालयका प्राध्यापक सुवोध शर्माले क्वारेन्टाइनमा बस्नेहरुका लागि पर्याप्त गुणस्तरीय पानी उपलब्ध गराउनुपर्ने, कोरोना भाइरसबाट बच्न सफा पानी र सावुन वा स्यानेटाइजरले हात धुनुपर्ने सन्देश पुगेको भएपनि सरकारले पानी नै पु(याउन नसकेको गुनासो गर्नुभयो । ‘टोलटोलमा ट्रयाड.की राखिएको छ तर ती रित्ता छन् । सरकारले बनाएका क्वारेन्टाइनमा न पर्याप्त संख्यामा शौचालय देखिन्छ, न पानीको लागि ट्याङ्की छन् न त साबुनको नै राम्रो व्यवस्था छ । तिनको अनुगमन गर्नुपर्ने खाँचो छ ।’उहाँले भन्नुभयो ।
भिडियो कन्फरेन्समा स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष रामदीप साहले स्वास्थ्य र सरसफाइको लागि स्वच्छ र सुरक्षित पानी आवश्यक भएको बताउनुभयो । उहाँले कोरोना संक्रमणबाट बच्न पटक पटक साबुन वा स्यानिटाइजर पानीले हात धुन पनि पर्याप्त सुरक्षित पानी चाहिने बताउनुभयो । उहाँले पानी आपूर्तिका लागि धारा काटिएको भए जोड्नुपर्ने, विपन्न परिवारका लागि पर्याप्त पानी आउने सार्वजनिक धाराको बन्दोबस्त हुनुपर्ने, पानीको महसुल घटाउनुपर्ने, अस्पतालजन्य फोहोरमैलाको सुरक्षित तवरले व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका अर्का सहभागी वाटर एडका अनिल थमनले कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि सामाजिक दूरी कायम गर्नुपर्ने भएकोले आफूहरुले कन्ट्याक्टलेस ह्याण्ड वासिड सेन्टर (स्वचालित हात धुने केन्द्र) सञ्चालनमा ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले ललितपुर महानगरपालिकाबाट यसको शुभारम्भ हुने उल्लेख गर्दै निकट भविष्यमा नै ७५ स्थानमा यसको स्थापना गरी आवश्यकता अनुसार विस्तार गरिने बताउनुभयो ।
उहाँले कोरोना संक्रमण सुरु भए यता नेपाल टेलिकमले आफना ग्राहकको मोबाइलमा बजाउने गरेको सीआबीटी एकैखालको सन्देश निरन्तर आउँदा सुन्नेलाई पट्टयार लागेको बताउनुभयो । ‘जसरी कुनै पनि औषधीको कम वा बढीमात्रा दुवै उचित मान्न सकिदैन, रोगको सन्दर्भमा दिइने सन्देश पनि त्यस्तै हो । यो सन्देश सबैकहाँ पुगिसक्यो । सन्देश छोटो होस् । विविधता होस् । बरु पानीका सन्देश पनि थपिउन ।’ उहाँले भन्नुभयो ।
कार्यक्रमका अर्का सहभागी पूर्वमन्त्री तथा प्राज्ञ दीपक ज्ञवालीले मानिसको जीवनसंग प्रत्यक्ष जोडिएको पानीको उपलब्धता र आपूर्तिका सम्बन्धमा नीति निर्माता र सरोकारवालाहरुको बीचमा सार्वजनिक बहस गर्ने मञ्चहरुको अभाव खड्किएको बताउनुभयो ।
पूर्व विज्ञान,प्रविधि तथा वातावरण मन्त्री ईञ्जिनियर गणेश साहले सञ्चालन गर्नुभएको भिडियो कन्फरेन्समा खानेपानी तथा सरसफाइको क्षेत्रका प्राध्यापक, अनुसन्धानकर्ता र नीति निर्माता, सञ्चारकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको सहभागिता थियो ।