धारालाई नछोई हात धुन मिल्ने स्टेशनको स्थापना, हप्ता दिनमै काठमाडौ उपत्यकाको ५० ठाउँमा राखिने

ललितपुर : न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने । तैपनि साबुन पानीले हात धुन मिल्ने । कन्ट्याक्ट लेस अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन ललितपुरको जावलाखेल स्थित महानगरीय प्रहरी परिसर भित्र स्थापना गरिएको छ । हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीबाट पानी झर्न थाल्छ र छोडेपछि पानी बन्द हुन्छ । कन्ट्याक्ट लेस ह्याण्ड वासिङ स्टेसन (हातले सम्पर्क नगरी हात धुन मिल्ने हात धुने ठाउँ) को ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गर्नुभयो ।

धारालाई नछोई हात धुन मिल्ने स्टेशन नेपाल सरकार र अन्य साझेदार संस्था सँग सहकार्य गरी वाटर एड नेपालले स्थापना गरेको हो । कोरोना भाइरस हातको माध्यमबाट धारा र धाराको माध्यमबाट अरु व्यक्तिलाई समेत सर्ने भएकाले हातले नछोईकन हात धुन मिल्ने प्रविधि ल्याईएको हो । वाटर एडले नेपाल सरकार र अन्य साझेदार संस्थाहरुसँग मिलेर  हप्ता दिनभित्रै काठमाडौ उपत्यकाको विभिन्न ५० वटा स्थान र सिराहको लहानमा २५ वटा गरी ७५ वटा स्थानमा यस्तै प्रविधिको हात धुने ठाउँ स्थापना गर्ने भएको छ । आजै ललितपुरको लगनखेल बसपार्कमा पनि हात धुने स्टेशन निर्माण गरिएको छ ।

हात धुने स्थानको उदघाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले यस्तो अवस्थामा हात धुने नयाँ प्रविधि ल्याएकोमा वाटर एडलाई धन्यबाद व्यक्त गर्नुभयो । उहाँले भविश्यमा समेत वाटर एडसँग यस्तै सहकार्यको अपेक्षा गरिएको बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले कोरोना भाइरसबाट लड्ने दुई तरिका मध्ये एउटा तरिका नियमित साबुन पानीले हात धुनु रहेको बताउनुभयो । शहर बजारमा कतिपय मानिसले हात धुने ठाउँको अभाव र साबुन भएपनि पानीकै अभावमा हात धुन नपाईने अवस्थामा वाटर एडले स्थापना गरेको हात धुने स्थानले त्यस्ता वर्गलाई फाइदा पुग्ने बताउनुभयो ।

यस्तै वाटर एडकी देशीय निर्देशक तृप्ती राईले हातको माध्यमबाट सर्ने विभिन्न रोगबाट बच्ने एउटै सरल तरिका हात धुनु रहेपनि करिब १ करोड ४८ लाख मानिस सँग हात धुने ठाउँकै अभाव रहेको बताउनुभयो । उहाँले कोरोनाबाट बच्न मात्र नभई अन्य विभिन्न रोगबाट बच्न पनि साबुन पानीले नियमित हात धुनुपर्ने बताउनुभयो ।

यस्तै महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राईले ड्यूटीमा खटिएका प्रहरीहरुलाई समेत हात धुने स्थान अति उपयोगी हुने बताउनुभयो । खुट्टाले टेक्ने वित्तिकै धाराबाट पानी निस्कने भएकाले कुनै व्यक्तिमा संक्रमण भईहालेमा पनि हातको माध्यमबाट अर्को व्यक्तिलाई नसर्ने उहाँले बताउनुभयो ।

जावलाखेलको हात धुने स्टेशन उदघाटन कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक प्रसाद राई, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वाटर एडका देशीय निर्देशक तृप्ती राई र केही सर्वसाधारणको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार