जसको हातमा छ सहरी स्वच्छता र सुन्दरता

काठमाडौ : काठमाडौं महानगरमा सडक सफाइकी नाइके उषा पोडेको दैनिकी रत्नपार्कबाट सुरु हुन्छ । बिहान ५ बजेदेखि सफाइ सुरु गर्न उनी मातहतका ८ कुचिकार पनि रत्नपार्क आइपुग्छन् । पोडे उनीहरूलाई मास्क, पञ्जा, सेनिटाइजर बाँड्छिन् । सफाइमा खटाउँछिन् । ६ जना महिला कुचिकारले सडकमा झाडु लगाउँछन् । झारपात उखेल्छन् । दुई पुरुष कुचिकारले फोहोर भेला पार्छन् । उनीहरूको टोलीले भद्रकालीसम्म सफाइ गर्छ ।

सुनाकोठी बस्ने पोडे बिहान ४ बजे उठ्छिन् । अरूबेला सार्वजनिक यातायात चढेर रत्नपार्क आइपुग्थिन् । लकडाउनले गर्दा अचेल महानगरकै फोहोर बोक्ने गाडीमा आउजाउ गर्छिन् । सदाझैं सफाइ गरेर घर फर्कंदा ११ बज्छ । उनको दैनिकी यसरी नै बितेको यो २७ औं वर्ष हो । न सार्वजनिक बिदा भन्न पाउँछिन्, न त चाडपर्व, दिवस नै । ‘हामीलाई बिदा भन्ने हुदैन, अतिआवश्यक काम गर्दा मात्रै लिने हो, चाडवाड, दिवसले छुँदैन,’ शुक्रबार दिउँसो फोनसम्पर्कमा उनले भनिन् । उनी सुनाकोठीको डेरामा छोरीसित बस्छिन् । उनको कमाइ नै घरको मुख्य आयस्रोत हो ।

अर्का नाइके लोकेन्द्र गौतमको दैनिकी पनि उषाको जस्तै हो । उनी मातहतका ३० कर्मचारीले कालीमाटी–टेकु–त्रिपुरेश्वर–सुन्धारा–घण्टाघर हुँदै दरबारमार्ग सम्मको सडक सफाइ गर्छन् । ‘सफाइको भाषामा ‘फिल्ड बढार्ने’ भन्छौं, मैले साथीहरूलाई मास्क, पञ्जा दिन्छु, सबैले सफाइ गर्नुपर्छ, झाडु लाउने, उठाउने,’ उनले फोन सम्पर्कमा सुनाए । २३ औं वर्ष हो यो उनको । शुक्रबार मजदुर दिवसमा पनि उनीहरू काममा थिए । ‘ड्युटी बिहान ५ देखि ११ बजेसम्म हुन्छ, बिदाका दिन बरु हाल्फ छुट्टी हुन्छ तर बिदा भन्ने कहिल्यै हुँदैन,’ उनले भने, ‘मजदुर दिवसका दिन मजदुरहरूलाई बिदा त हुनुपर्ने हो π नगरीकन हँुदैन, एकदिन काम छोड्ने बित्तिकै भोलिपल्ट फोहोर थामिनसक्नुहुन्छ ।’ उनीहरूको टोलीले यो रुटमा दैनिक ६ गाडी फोहोर उठाउँछन् । अचेल लकडाउनले गर्दा दुई गाडी जति उठ्छ ।

महानगरको वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सफाइ कर्मचारी साढे छ सय छन् । कोरोना महामारी र लकडाउनले गर्दा काठमाडौंका सबै मानिस घरघरै छन् । महानगरका सफाइ कर्मचारीले भने दिनदिनै सडक चहार्नैपर्छ । फोहोर उठाउनैपर्छ । कोरोना संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्न भनिएको छ । तर उनीहरू हुलका हुल एकै गाडीमा कोचिएर कार्यस्थल पुग्नुपर्छ । व्यक्तिगत सुरक्षा कवच (पीपीई) सफाइका सबै कर्मचारीलाई छैन । ‘पीपीई लौ न व्यवस्था गर्नुपर्‍यो भनेको हो महानगरमा, ३९/४० दिन भइसक्यो, अहिलेसम्म पाइएको छैन, जे गरेर भएनि काम त गर्नैपर्‍यो,’ नाइके लोकेन्द्रले भने ।

बिहानभरि सडक बढारेर भेला पारेको फोहोर गाडीमा हालेर टेकुस्थित वातावरण विभागको कार्यालयसँगैको फोहोर संकलन केन्द्रमा जम्मा गरिन्छ । त्यहाँबाट सिसडोल ल्यान्डफिल साइटमा पुर्‍याइन्छ । चालक र सहयोगीले दिनमा कम्तीमा एक टिप फोहोर सिसडोल पुर्‍याउनैपर्छ । थानकोट बस्ने सहयोगी बाबुराजा पौडेल साइकल चढेर बिहान तीन बजे नै हिँड्छन् । टेकुमा गाडीको फोहोर त्रिपालले छोप्छन् । ठीक पाँच बजे चालक शरण पौडेलसित फोहोर लिएर सिसडोल लग्छन् । सहयोगीले गाडीको टायर पम्चर भए फेर्ने, त्रिपालले फोहोर छाप्ने र निकाल्ने काम गर्नुपर्छ । बाबुराजाले महानगरमा मजदुरी थालेको ३१ वर्ष भयो । तर मजदुर दिवस बारे जानकारी छैन उनलाई । ‘मजदुर दिवस मलाई थाहा छैन, फोहोर लिएर दिनको एकपटक सिसडोल जानैपर्छ,’ उनले भने ।

महानगरका सफाइ कर्मचारीले दैनिक काममा खट्नैपर्छ । अतिआवश्यकिय समस्याबाहेक सार्वजनिक बिदामा समेत बिदा मिल्दैन । यसको सट्टामा तीन महिना बराबरको तलबभत्ता स्वरूप वार्षिक रूपमा एकमुष्ट उपलब्ध गराइन्छ । वातावरण विभाग प्रमुख श्रेष्ठ भन्छन्, ‘सफाइ भनेको अत्यावश्यक सेवा भयो, यसले गर्दा सफाइ कर्मचारीलाई सार्वजनिक बिदा मिल्दैन, यो सेवाबापत उनीहरूलाई प्रात्साहन स्वरूप भत्ता दिँदै आएका छौं ।’ सफाइ कर्मचारीहरू श्रेणीविहीन अन्तर्गत पहिलोदेखि पाँचौं स्तरसम्मका छन् । स्तर अनुसार सरकारी स्केलको तलब सुविधा दिइन्छ । यो खबर कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार