काठमाडौ : काठमाडौं महानगरपालिका वातावरण विभागकी अधिकृत सानु मैया महर्जनले घरमै कम्पोष्ट बनाउन थालेको वर्षौ भइसक्यो । उहाँले वार्षिक १० टन फोहोरलाई उहाँको घरको कम्पाउण्डमा ६० वर्ग फिटको जग्गामा कम्पोष्ट गर्नुहुन्छ र हरेक वर्ष १ टन वरावरको कम्पोष्ट मल बिक्री गर्नुहुन्छ । उहाँले घरको फोहोर मात्र नभई तरकारी बजारबाट पनि फोहोर संकलन गरी गड्यौलाको मद्दतले फोहोरलाई कम्पोष्ट मलमा परिणत गर्नुहुन्छ ।
उहाँको घरमा कम्पोष्ट मलको रेखदेख उहाँका ७५ वर्षिय ससुराले गर्नुहुन्छ । अवकास जीवनमा पनि सक्रिय रहने मनसायले उहाँका ससुराले कम प्रयास र मेहनत मात्र प्रयोग गरी कम्पोष्ट बनाउने कामको रेखदेख गर्नुहुन्छ । सानु मैयाँ महर्जनका अनुसार घरमै भएको फोहोरलाई केही मात्र प्रयास र मेहनतले पनि कम्पोष्ट बनाउन सकिन्छ र लगनशील भएर काम गरे यसबाट मासिक १७ हजार देखि ३५ हजार रुपैयाँसम्म आम्दानी गर्न सकिन्छ ।
नेपालमा हरेक महिना १ अर्व ६० करोड रुपैयाँ बराबरको तरकारी आयात हुन्छ जसमध्ये ६५% तरकारी काठमाडौंमा खपत हुन्छ । काठमाडौंवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा ७५% तरकारीको माग पुरा गर्न सक्छ । यसले घरघरमा स्वच्छ विषादी रहित तरकारी उत्पादन, पैसाको वचत र वातावरणमा पनि सकारात्मक प्रभाव पु¥याउने गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्य बताउनुहुन्छ ।
जैविक फोहोरलाई कम्पोष्ट बनाउने कार्यबाट गृहिणी र अवकास प्राप्त जेष्ठ नागरिकले समयको सदुपयोग गर्दै केही आर्जन समेत गर्न सक्ने अमात्यको भनाइ छ । ‘घरको फोहोर व्यवस्थापन मात्र नभई आर्थिक लाभ तथा मानसिक स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पार्दछ ।’ उहाँले भन्नुभयो ।
काठमाडौं उपत्यकामा उपत्यकावासीहरुले फोहर व्यवस्थापनको समस्या सदैव भोगिरहेको समस्या हो । झनै लकडाउनको समयमा फोहोर व्यवस्थापनका केही बाधा अवरोध आउनु स्वभाविक हो । यसै समस्यालाई सम्बोधन गर्न गैर सरकारी संस्था गुथिले घरायसी जैविक फोहरबाट कम्पोष्ट मल बनाउने तालिम आइतबार आयोजना गरेको हो ।
तालिममा बोल्दै काठमाडौं महागरपालिका वडा नं. १९ की महिला वडा सदस्य रेनु शाहीले अनलाइन तालिम निक्कै प्रभावकारी भएको बताउनुभयो । ‘हामीले प्रत्यक्ष तालिम दिँदा एक पटकमा ५० जना प्रशिक्षार्थीहरुलाई मात्र दिन सक्छौ र घर गएपछि उहाँले कति कुरा विर्सनुहुन्छ । अनलाइन तालिम दिँदा यो भिडियो फेरि हेर्न सकिन्छ ।’ काठमाडौंको फोहोर व्यवस्थापनमा आफ्नो वडाको अनुभव सुनाउँदै उहाँले भन्नुभयो । ‘फोहोर हामी आफैले सिर्जना गर्छौ । केही कुरा काम नलाग्ने वित्तिकै त्यसलाई हामी फोहोरको संज्ञा दिन्छौ । यदि हामीले फोहोर नभनिकन यसलाई सही सदुपयोग गर्यौ भने पक्कै पनि हाम्रो काठमाडौं सफा र सुन्दर हुन्छ ।’
सानु मैयाँ महर्जन लगायत कौशी खेती विशेषज्ञ शेष नारायण महर्जन, रेखा महर्जन, नरेन्द्रमान् डंगोलले जुम तथा फेसबुक लाईभ मार्फत प्रत्यक्ष रुपमा सहभागी भएका १०० भन्दा बढी प्रशिक्षार्थीहरुको कम्पोष्ट मल सम्बन्धी विभिन्न जिज्ञासा र जवाफ दिनुभएको थियो । गुथिको फेसबुक पेजमा ८००० भन्दा बढीले उक्त अनलाइन तालिममा सहभागिता जनाएका थिए ।