काठमाडौ : कोरोना भाइरस (कोभिड – १९) थुकको छिटाबाट मात्र नभई अन्य विभिन्न माध्यमबाट पनि सर्न सक्ने प्रमाणित भईसकेको छ । त्यसैले साबुन पानीले मिचीमिची हात धुने र मास्क लगाउने गर्दैमा मात्र कोरोना भाइरस संक्रमण रोकथाम गर्न सकिदैन ।
यसको संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउने, भीडभाडमा नजाने, एक मिटरको भौतिक दूरी कायम गर्ने, साबुन पानीले मिचीमिची हात धुने त छँदैछ । घरको ढोका तथा ह्याण्डल, चर्पीको ढोका, चुकुल तथा टेबुल जस्ता नियमित एवं धेरैजसो मानिसले छोईरहने बस्तुको पनि निसंक्रमण तथा सरसफाइ गर्नुपर्ने विज्ञहरुले बताएका छन् ।
चर्पीको ढोका, चुकुल तथा टेबुल, फिल्टर, सोफा जस्ता ठाउँमा संक्रमित व्यक्तिले छोएमा उक्त ठाउँमा कोरोना भाइरस टाँसिने र उक्त ठाउँमा स्वस्थ व्यक्ति पुग्ने वित्तिकै शरिरमा फैलिने सम्भावना भएकाले उक्त ठाउँलाई स्यानिटाइजर वा क्लोरिन झोल लगाएर निसंक्रमण गर्नुपर्ने विज्ञहरु बताउँछन् ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) लेआयोजना गरेको अनलाइन तालिममा प्रशिक्षक सुबास केसीले मानिसले छोइरहने वस्तुहरु फ्रिज, विजुलीको स्वीच् आदि निसंक्रमण गर्नुपर्ने बताउनुभयो । ती वस्तुमा कोरोना भाइरस लामो समयसम्म रहने भएकाले मानिसले साबुन पानीले हात धुनुको अलावा आफ्नो प्रयोगमा आईरहने वस्तुहरुको पनि नियमित सरसफाइ गर्नुपर्ने बताउनुभयो ।
एन्फोकै अर्का तालिम प्रशिक्षक सिर्जना कार्कीले खोक्दा, हाँच्छु गर्दा कुहिनाले छोपेर गर्ने वा टेस्यू पेपर प्रयोग गर्नुपर्ने र उक्त पेपर विर्को लाग्ने डस्टबिनमा हाल्नुपर्ने बताउनुभयो ।
न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिनका अनुसार प्लास्टिकमा ७२ घण्टासम्म कोरोनाको अस्तित्व रहन्छ । यस्तै काठका दराज तथा झ्यालढोकामा २४ घण्टा र स्टिलका सामानहरुमा ४८ घण्टासम्म रहने जनाएको छ ।
वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले कोरोना भाइरस (कोभिड -१९ ) बारे पछिल्लो जानकारी प्रदान गर्न र यसबाट जोगिन के कस्ता स्वच्छता व्यवहारहरु अपनाउनुपर्छ भन्ने बिषयमा नगरपालिका तथा गाउँपालिका, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र स्वास्थ्य संस्था सँग सम्बन्धित व्यक्तिहरुका लागि चरणगत रुपमा विभिन्न तहको अनलाइन तालिमहरु सञ्चालन गर्दै आएको छ ।