काठमाडौ : कोरोनाको विश्वब्यापी महामारीबाट बच्न अहिलेसम्म कुनै अचुक औषधि प्राप्त हुन सकेको छैन । संक्रमण र मृत्युको क्रम बढ्दो छ । अस्पताल भर्ना भएका कोरोना संक्रमित विरामीहरु पनि प्रयोगात्मक उपचार पद्धतीकै भरमा मृत्युसंग लडिरहेका छन । सामाजिक दूरी कायम राख्ने र सरसफाईमा विशेष ध्यान दिने जस्ता उपायकै भरमा कोरोना विरुद्ध संघर्ष गर्नुपरिरहेको छ । तर साबुन पानीले हात धुने सुविधाबाट बञ्चित ठूलो समुह अझै पनि हाम्रो सामु छ ।
अमेरिकाको वाशिंगटन विश्वविद्यालय मातहतको ईन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड ईवोल्युएसन (आईएचएमई) का अनुशन्धानकर्ताहरुले सय करोड भन्दा बढी जनसंख्या भएको मुलुक भारतमा पाँच करोड बढीले साबुन पानीले हात धुने सुविधा नपाएको बताएका छन । यहि कारण भारतमा कोरोना भाईरस संक्रमणको गति तिब्र बनेको र मृतकको संख्या पनि बढ्दै गएको शोधकर्ताहरुको दावी छ ।
थुप्रै खाले वैज्ञानिक खोज अनुशन्धान भैरहेको भनिए पनि आवश्यक सरसफाईमा ध्यान नदिंदा र सामाजिक दूरी उल्लंघन गरिंदा भारतमा कोरोनाका कारण मृत्यु हुने र संक्रमण फैलन क्रम तिब्र बन्दै गएको छ । भारतमा देखिएको यो भयावहपूर्ण अवस्थाको प्रत्यक्ष असर खुल्ला सिमाना रहेको मुलुक नेपाललाई पर्ने अनुशन्धानकर्ताहरुले बताएका छन । ‘जर्नल इन्भायरेन्टल हेल्थ पर्सपेक्टिभ’ मा प्रकाशित रिपोर्ट अनुसार भारत, चीन, पाकिस्तान, बंगलादेश, ईथियोेपिया, कंगो, नाईजेरिया र ईण्डोनेशिया जस्ता मुलुकमा पाँच करोड भन्दा बढी जनसंख्याले साबुन पानीले हात धुने सुविधा पाएका छैनन् ।
रिपोर्ट अनुसार उप सहारा अफ्रिका र ओशियानाका ५० प्रतिशत जनसंख्यामा साबुन पानीले हात धुने सुविधा छैन । यहि प्रतिकुल अवस्था बारे आईएचएमईका प्रोफेसर माइकल ब्राउऐरले भने, “कोरोना भाइरसको महामारी रोक्नका लागि साबुन पानीले राम्ररी हात धुन जरुरी छ तर, दुखकासाथ भन्नुपर्छ, विश्वका कतिपय मुलुकका मानिसहरुले यो सुविधा पाएकै छैनन् । कोरोना भाइरसको संक्रणले तिब्रता पाउने मुख्य कारण पनि यहि हो ।”
विश्वका ४६ मुलुकका आधाभन्दा बढी जनसंख्या साबुन पानीले हात धुने सुविधाबाट बञ्चित रहेको आईएचएमईका अनुशन्धानकर्ताहरुको अध्ययनले देखाएको छ । उनीहरुका अनुसार निम्न र मध्यम आय भएका मुलुकका दुई अर्ब भन्दा बढी मानिसले साबुन पानीले हात धुने सुविधा पाएका छैनन् । यो संख्या विश्वभरको जनसंख्याको एक चौथाई हो । एजेन्सीको सहयोगमा