लकडाउन पछि पुनः कार्यालय खोल्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्


काठमाडौ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण बन्द रहेका कार्यालयहरु धमाधम खुल्न थालेका छन् । कोरोनाको जोखिम छ भन्दै कार्यालय सधैं बन्द गर्ने काम व्यवहारिक नभएकाले उच्च सावधानी अपनाउँदै धमाधम कार्यालय खोल्न थालिएको छ । कोरोनाको जोखिम यथावत रहेको अवस्थामा कार्यालय खोलेर सेवा दिनु चुनौतीपूर्ण भएपनि कार्यालयले अपनाईने सतर्कता तथा व्यवस्थापकीय पक्षले कोरोनाको जोखिम कम गराउँछ ।

जब कार्यालय बाहिर, भित्र र कार्यालयबाट बाहिरिंदा पनि स्वास्थ्यको हिसाबले सुरक्षित छु भन्ने भयो भने उहाँहरुलाई पनि कार्यालयमा आऊँ आऊँ लाग्ने र ढुक्कले काम गर्ने वातावरण बन्दो रहेछ ।’ – कार्यकारी निर्देशक श्रेष्ठ

वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले लकडाउन पछि कार्यालय खोलेर सञ्चालन गर्न थालेको करिब तीन हप्ता (२१ दिन) भईसकेको छ । लकडाउन पछि कार्यालय खोल्दा एन्फोले अपनाएको सावधानीको आधारमा एन्फोका निमित्त कार्यकारी निर्देशक राजेन्द्र श्रेष्ठ तीन वटा कुराहरुमा विशेष ध्यान दिन सुझाव दिनुहुन्छ ।

१. तयारी

निमित्त कार्यकारी निर्देशक श्रेष्ठका अनुसार कार्यालयको पुनः सञ्चालनका लागि तयारी पहिलो शर्त हो । कार्यालय प्रमुखले भोलि देखि नै कार्यालय आउनुपर्‍यो भन्दैमा कर्मचारी नआउने भएकाले यसका लागि पूर्व तयारी अति आवश्यक पर्छ । एन्फोले कार्यालय सञ्चालनका लागि एक हप्ता देखि १० दिन अभ्यास गरेको थियो । यसका लागि आफ्ना कर्मचारीलाई स्वास्थ्य सुरक्षाको सुनिश्चितता बारे विश्वस्त तुल्याउनुपर्छ ।

लामो समयपछि कार्यालय खोल्दा अपनाउनुपर्ने सावधानी बारे एन्फोले आयोजना गरिएको वेबिनारमा आफ्नो अनुभव बाँड्दै कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ‘कार्यालय खोल्ने तयारीको कुरा गर्दा कार्यालयमा कोरोना जोखिम शून्य बनाउनका लागि कार्यालयमा प्रयोगमा आउने भौतिक वस्तुहरु निसंक्रमण गर्ने, भौतिक दुरी कायम राखेर कति जनाले काम गर्न सक्छन् ? कर्मचारीलाई कार्यालय आउन प्रेरित गर्ने देखि लिएर कर्मचारीको स्वास्थ्य सुरक्षा सुनिश्चित गरी कार्यालयमा स्वागत गर्ने वातावरण सम्म पर्दछन् ।’

२. कार्यान्वयन 

लामो समयसम्म लकडाउन हुँदा बन्द रहेका कार्यालय खोल्न कार्यान्वयन अर्को महत्वपूर्ण कदम हो । तयारीमा गरिएका कुराहरु नै कार्यान्वयन गर्ने भएकाले राम्रो तयारीले कार्यान्वयन राम्रो सँग हुने कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तयारीमा चुक्यौं भने सफल कार्यान्वयन हुन सक्दैन । एन्फोले कार्यालय खोल्नका लागि तयारी चरणमा कार्यालयमा भएका सबै प्रकारका सेवा सुविधाहरुको लेखाजोखा गरेको र अपुग भएको ठाउँमा भौतिक सुविधा थप गरिएको कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।

३. अनुगमन तथा मूल्याङ्कन

कार्यालय सञ्चालन भएपछि अनुगमन र मूल्याङ्कन पनि सँगसँगै गर्दै लैजानुपर्ने उहाँले बताउनुभयो । ‘नियमित तथा नर्मल लाईफमा हात धुने बानीको विकास भएपनि यो अवस्थामा हरेक बस्तु छोइसकेपछि धुनुपर्ने अवस्था भएकाले व्यवहार परिवर्तन भएको छ कि छैन ? अनुगमन तथा मूल्याङ्कन गरिरहनुपर्छ ।’ कार्यकारी निर्देशक श्रेष्ठले भन्नुभयो ।

कोरोना महामारीको समयमा कार्यालयमा आएर काम गर्नुपर्दा कर्मचारी कतिको सन्तुष्ट छन् ? कार्यालयमा आउनेहरु कतिको खुसी छन् ? यसबारेमा पनि अनुगमन गर्नुपर्ने उहाँले बताउनुभयो । ‘कार्यालयको नियमित रुपमा हेर्ने, बुझ्ने काम गरिरहेको छु । आफ्नो टेबुलबाट बाहिर ननिस्किने, खाजा खानेबेला नझुम्मिने भने पनि व्यवहारतः त्यो अझै परिवर्तन गर्नुपर्ने चाहिं देखिएको छ ।’ उहाँले भन्नुभयो ।

कर्मचारीलाई प्रेरणा आवश्यक

कार्यकारी निर्देशक श्रेष्ठले कोरोना महामारीको समयमा कार्यालय आउने वातावरण बनाउन कर्मचारीलाई प्रेरणा दिनुपर्ने बताउनुभयो । यसका लागि आफू घर बाहिर, कार्यालय र कार्यालयमा काम गर्दाको अवस्थामा स्वास्थ्यको दृष्टिकोणले सुरक्षित छु भन्ने सुनिश्चितता गराउनुपर्ने उहाँले बताउनुभयो ।

‘म कार्यालय र कार्यालय भन्दा बाहिर पनि सुरक्षित छु भन्ने वातावरण बनाउनका लागि कार्यालय खोल्नु पूर्व गरिएका सबै तयारीबारे सबै कर्मचारीलाई जानकारी गराएँ । हाम्रो अध्यक्षले अनुगमन गरेपछि स्वीकृति दिनुभयो र कार्यालय सन्चालन गरियो । जब कार्यालय बाहिर, भित्र र कार्यालयबाट बाहिरिंदा पनि स्वास्थ्यको हिसाबले सुरक्षित छु भन्ने भयो भने उहाँहरुलाई पनि कार्यालयमा आऊँ आऊँ लाग्ने र ढुक्कले काम गर्ने वातावरण बन्दो रहेछ ।’ कार्यकारी निर्देशक श्रेष्ठले आफ्नो अनुभव आदानप्रदान गर्नुभयो ।

‘यो भूकम्प जस्तो होइन, जत्तिबेला जहाँ पनि जोखिम रहेकाले तयारीमा पर्याप्त ध्यान दिनुपर्छ । कार्यालयमा के – के गर्ने ? के नगर्ने भन्ने बारेमा एउटा स्टान्डर्ट अपरेटिङ प्रसिड्यूर (एसओपी) बनाउनुहोस् । कार्यालयमा प्रशस्त स्वास्थ्य सुरक्षा सम्बन्धी सुविधाको व्यवस्था गर्नुहोस् । जस्तै हात धुने स्थान, आवश्यकता अनुसार स्यानिटाईजर । त्यस्तै टेबुल, भुँईदेखि अन्य उपकरणहरु पनि निसंक्रमण गर्नुहोस् । हरेक टेबुलका लागि छुट्टाछुट्टै बोतल र कपडा पनि फरक फरक राख्नुहोस् । रेगुलर मोटिभेसन, रेगुलर मनिटरिङ र रेगुलर इम्प्रुभ गरेमा स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुन्छ । आफ्नो स्वास्थ्यको सुरक्षा हुने भएपछि कर्मचारी कार्यालय आउन उत्प्रेरित हुन्छन् ।’ उहँँले भन्नुभयो ।

उहाँका अनुसार दुई मिटरको दुरी कायम गरेर कार्यालयमा ३४ जनाले काम गर्न सक्ने वातावरण भएपनि अहिले एन्फोमा दैनिक ३५ देखि ४० जनासम्म कर्मचारी उपस्थित हुने गरेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार