उदयपुर : उदयपुरको बेलका नगरपालिका ५, डाँडागाउँकी शान्ता थापा मगरको खोरमा अहिले ६ सय कुखुरा पालिएका छन् । कुखुरा पालनका लागि सुरुको लगानी आफैले गरेपनि, शान्ताले अहिले भने हातेमालो महिला समूहबाट ऋण लिनुभएको छ । आफै सदस्य रहेको समूहबाट ऋण लिएर व्यवसाय प्रबद्र्धन गर्न थालेपछि पैसा कमाउन विदेश पुगेका श्रीमान् समेत फर्केर उहाँलाई साथ दिईरहनुभएको छ । ‘श्रीमान्को तलब भनेजस्तो थिएन, नानी कलेज पढ्दै थिईन्, नानीको पढाइ खर्च धान्न नसकेपछि मैले कुखुरापालन व्यवसाय सुरु गरें । कुखुरापालनबाट राम्रै आम्दानी भएपछि मैले श्रीमान्लाई पनि गाउँमै बोलाएँ’ शान्ता भन्नुहुन्छ ‘अहिले हाम्रो समूहबाट पनि ऋण लिएर सुँगुरपालन र कुखुरापालन गर्न थालेका छौं ।’
विदेशको कमाइले समेत घर धान्न धौ धौं भईरहेको शान्ता श्रीमान श्रीमती मिलेर व्यवसाय गर्दा घरपरिवार चलाउन पनि सजिलो भएको बताउनुहुन्छ । ‘गाउँमा डाँडागाउँ खानेपानी निर्माण भएपछि खानेपानी ओसार्न लाग्ने समय बचत भयो । बचेको समयको सदुपयोग गर्ने तरिकाले समूह मार्फत थाहा पाएँ । व्यवसाय गर्ने सीप मात्र नभई केही ऋण पनि पाएपछि व्यवसाय गर्न सजिलो भयो’ शान्ताले भन्नुभयो ।
फण्डबोर्डले हातेमालो समूहका लागि बीउँ पूँजीको रुपमा उपलब्ध गराएको रकम अहिले १ लाख २० हजार भन्दा बढी भएको छ । घरमै खानेपानी उपलब्ध भएपछि पानी ओसार्न लाग्ने समयलाई आय आर्जनको क्रियाकलापमा लगाउन फण्ड बोर्डले प्रत्येक जीविका समूहलाई २० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । समूहमा जम्मा भएको रकमको व्याज साहु महाजनसँग लिएको रकमको व्याज भन्दा सस्तो हुने भएकाले व्यवसाय गर्न सजिलो भएको उहाँको अनुभव छ ।
एकल तथा निम्न आय भएका महिलालाई प्राथमिकता
खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भएपछि उक्त खानेपानी उपभोग गर्ने महिलाहरुलाई समेटेर समूह बनाईन्छ । यस्ता समुहहरु जीविका समूहहरु हुन् । अर्थात ती समूहहरु खानेपानी सरसफाइ र स्वच्छता सम्बन्धी क्रियाकलापसँगै नेतृत्व विकास र आयआर्जनसँग सम्बन्धित क्रियाकलापमा समेत सहभागी हुन्छन् । यसका लागि फण्ड बोर्डले बीउ पूँजीको रुप्मा २० हजार रुपैयाँ उपलब्ध गराएको हुन्छ भने समूहका सदस्यहरुले पनि मासिक रुपमा निश्चित रकम संकलन गर्नुपर्छ । तीनै रकम उनीहरुले आयआर्जन गर्न चाहने महिलाहरु माझ परिचालन गर्छन् । डाँडागाउँकै गंगाजमुना जीविका समूहकी तुलसा आले भन्नुहुन्छ ‘हामीले आयआर्जनलाई बढी जोड दिएका छौं, धेरै लगानी नपर्ने, चाँडै प्रतिफल पनि दिने किसिमका व्यवसायमा हामीले लगानी गर्दै आएका छौं’ उहाँले भन्नुभयो ।
बीउ पूँजीको रुपमा फण्डबोर्ड बाट प्राप्त रकम र समूहका सदस्यबाट संकलित रकम लगानी गर्दा समेत विपन्न, बन्चितीकरणमा पारिएका तथा आदिबासी महिलाहरुलाई प्राथमिकता दिनुपर्ने भन्ने प्रावधान छ । त्यस्तो रकम उद्देश्य अनुसार नै प्रयोग भईरहेको इलामको माई जोग्माई गाउँपालिकामा रहेको गोदावरी जीविका समूहकी अध्यक्ष सोमकुमारी थेबेले बताउनुभयो । ‘हाम्रो समूहमा एकल महिला, निम्न आय भएका साथीहरु पनि हुनुहुन्छ । हामीले उहाँहरुलाई तरकारी खेती गर्न बीउ किन्नका लागि प्रदान गरेका छौं’ उहाँले भन्नुभयो ।
गोदावरी समूहले सुरुमा सानो पूँजी, सानै काममा प्रयोग गर्ने योजना अनुसार तरकारी खेतीका लागि बीउ किन्न रकम लगानी गरेको थियो । अब पूँजी बृद्धि हुँदै गएपछि बाख्रा पालन तथा अन्य क्षेत्रमा पनि ऋण परिचालन गर्ने समूहको योजना रहेको अध्यक्ष थेबेले बताउनुभयो ।
बीउँ पूँजीको रुपमा फण्ड बोर्डले उपलब्ध गराएको सानो रकमबाट महिलाहरुले ठूलो उपलब्धी हासिल गरेका छन् । उनीहरुले मासिक रुपमा निश्चित रकम बचत गरी ठूलो पूँजी बनाईसकेका छन् भने यसबाटै व्यवसाय गर्ने तरिका, नेतृत्व विकास, पूँजीको सही परिचालन र आर्थिक व्यवस्थापन गर्ने सीप पनि आर्जन गरेका छन् ।