यस्ता फोहोरलाई गाडेर व्यवस्थापन गर्नुहोस्, खाल्टो बनाउने तरिकाबारे पनि थाहा पाउनुहोस्

काठमाडौ : खाल्टो प्रविधि धारिलो औजारहरू, शरीरको अंगहरू र म्याद गुज्रिएको औषधिहरूको व्यवस्थापनको लागि उपयोगी हुन्छ । कुहिएर मल बनाउन सक्ने फोहरलाई खाल्टोमा पुर्नु हुँदैन जस्तै खानेकुराहरू आदि । यस्तै पुनः प्रयोग गर्न सक्ने सामग्रीहरु काँच र प्लाष्टिकको वस्तुहरू वा ल्यान्डफिल साइटमा निसंक्रमण पछि फाल्न सक्ने पदार्थहरू प्लाष्टिक, कपडा, व्याण्डेज आदि पनि खाल्टोमा पुर्नु हुँदैन ।

यदि फोहर संकलन प्रविधि राम्ररी चलेको र नजिकै ल्याण्डफिल साइट छ भने संक्रमित फोहरलाई निसंक्रमण गरी ल्याण्डफिलमा सुरक्षित विसर्जन गर्नुपर्दछ । यदि फोहर संकलन पद्धति राम्रो छैन भने हरेक स्वास्थ्य केन्द्रहरूमा फोहर गाड्ने खाल्टो बनाई फोहरलाई सुरक्षित तरीकाले गाड्ने गर्नु पर्दछ ।

धारिलो सुई तथा औजारहरू सबैभन्दा खतरनाक हुने भएकाले यसलाई स्वास्थ्य केन्द्रमै खाल्टो खनी सुरक्षित तरीकाले पुर्नु पर्दछ । सबै सम्बन्धित व्यक्ति जसले फोहर व्यवस्थापनसँग सम्बन्ध राख्दछ यसको बारेमा थाहा पाउँदा खाल्टोमा पुर्ने प्रविधि सबैभन्दा सुरक्षित हुन्छ ।

फोहर गाड्न यसरी बनाउनुहोस् सुरक्षित खाल्टो

फोहर गाड्ने खाल्टो सुरक्षित बनाउन, नजिकैको पानीको इनारभन्दा तल हुनु पर्दछ । भूमिगत पानीको स्रोत सतह नजिक हुनु हुँदैन र नदी, खोला, झरना, मूल र अन्य पानीको स्रोतबाट करिब ५० मिटर टाढा हुनु पर्दछ ।

खाल्टोको पिँध र पर्खालहरू सिमेन्ट अथवा चिम्टाइलो माटोले लिपेको हुनु पर्दछ । जसले गर्दा यसबाट तरल फोहरहरू माटो वा भूमिगत पानीमा जान नपाओस् । फोहर गाड्ने खाल्टो सुरक्षित हुनुपर्दछ जसले गर्दा मानिस र जनावरलाई यसको सम्पर्कमा आउनबाट रोक्न सकोस् ।

तरल फोहरलाई विसर्जन गर्ने तरिका

धेरैजसो स्वास्थ्य संस्थाहरूले क्लोरिन झोल, संक्रमित पानी वा अन्य तरल पदार्थ सिधै नालामा मिसाउँछन् । यो सबै गएर नदी वा खोला वा अन्य पानीको स्रोतमा नमिसिएसम्म सुरक्षित भए तापनि माटोलाई भने प्रदूषित गर्दछ । यस्तो तरल फोहरलाई अत्याधिक पानी मिसाएर फाल्नु पूर्व कम प्रदूषित पार्नुहोस् । पानीको स्रोतलाई बचाउन ब्लिच झोल र अन्य तरल फोहर सुरक्षित लिच पिटमा मिसाउनु होस् । रसायन जस्तै ग्लुटर अल्डिहाइड र फर्मल डिहाइडलाई फाल्नु पूर्व प्रशोधन गरेर मात्र फाल्नुहोस् ।

लिच पिट बनाउने तरिका

वर्षातको पानी जम्मा नहुने ठाउँमा र पोखरी, इनार, कल, धारा भन्दा परस्थानमा १÷२ मिटर देखि १ मिटर गहिरो खाडल खन्नुहोस् । खाल्टोको पिँधमा एक तह साना साना ढुङ्गा केही गहिराईसम्म राख्नुहोस् र त्यसपछि ठूल्ठूला ढुङ्गा माथि माथि राख्नुहोस् । खाल्टोको मुखमा वर्षातको पानी छिर्न नदिन ढकनीले छोप्नु पर्दछ । प्रायःजसो सबै ठूला वा साना स्वास्थ्य केन्द्रहरूले रसायनिक फोहर उत्सर्जन गर्दछ । जसलाई सुरक्षित तरिकाले विसर्जन गर्नुपर्दछ । ठूल्ठूला स्वास्थ्य केन्द्रहरूमा भएको एक्सरे इकाइबाट केमोथेरापी र प्रयोगशाला आदिबाट रसायनिक फोहर उत्सर्जन हुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार