बर्षातको पानीलाई बगाउने होइन, हिडाउने हो, तर कसरी ?


काठमाडौ : बर्षातको पानीले बितण्डा मच्चाएका कयौं समाचारहरु तपाई हामीले देखे सुनेकै छौ । बर्षातको पानीले सिन्धुपाल्चोक, कालिकोट, बाग्लुङ लगायत जिल्लाहरुमा यसबर्ष ठूलो धनजनको क्षति गराएको छ । सडक निर्माण गर्दा वातावरणीय सम्भाव्यता अध्ययन गरी प्रतिवेदनले औल्याएका कुराहरुको परिपालना गर्ने र ढल निकासको राम्रो प्रबन्ध मिलाउने हो भने बाढी र भूक्षयको खतरा घटाउँदछ । ढल व्यवस्थापनको राम्रो प्रबन्ध मिलाउन सके बढी पानी जमीनमा सोस्ने मौका पाउँछ र बाढीले खोलाको रुप लिन पाउँदैन । यसले बस्तीमा बाढी पस्ने सम्भावना समेत निम्त्याउदैन । तर कमजोर ढल व्यवस्थापनले भूक्षय गराउने र पानी जमेर डुबान निम्त्याउने काम गर्छ ।

विज्ञहरुका अनुसार वर्षातको सतही पानीलाई बग्ने भन्दा पनि विस्तारै हिंडाउनु पर्छ । किनकि यो विस्तारै भुईतिर, चारैतिर र भूमिगत पानीतिर सोसिएर जाओस् । जसले जमिनमुनि रित्तिदै गएको पानीको समेत पुनर्भरण गर्न सघाउ पुर्‍याउँछ । जमिनमुनिको पानी पुनर्भरणका लागि काठमाडौ महानगरपालिकाले रिचार्ज काठमाडौ भनेर कार्यक्रम त ल्याएको छ, तर जनस्तरसम्म ब्यापक रुपमा कार्यान्वयन भईसकेको अवस्था छैन ।

यसका लागि निम्न कामहरु गर्नुपर्दछ ।

♦ वर्षातको सतही पानीलाई रुख विरुवातिर, सिचाइँ कुलोतिर र बगैंचामा लगाउनुहोस् ।
♦ भिरालो पहाड, नदी र खोला किनारका रुख विरुवाहरू नकाट्नुहोस् ।

♦ जैविक प्रतिरोधात्मक छेकबारहरू बनाउनुहोस्, अन्य भूक्षय नियन्त्रणका संरचनाहरू जस्तैः स–साना पर्खाल बनाएर सतही पानीलाई डोर्‍याउनुहोस् ।

♦  दिगो खेती प्रणालीबाट माटोको क्षमता सुधार गरी पानीलाई जमीनमुनी पठाउनुहोस् ।

♦ इनार वा धाराको उपयोगबाट निस्कने फोहर पानीलाई ढल, खाडल वा सोस्ने खाल्टोमा पठाउनुहोस् ।

♦  वर्षातको पानी छतबाट पाइपको सहायताले भाँडोमा राखी खानेपानीको लागि प्रयोग गर्नुहोस् वा पोखरी, खेत वा बगैंचामा लगाउनुहोस् ।

♦ सडकको पेटीहरूमा रुख विरुवा लगाउनुहोस् वा पानी निकास हुने गल्छी बनाएर सफा र अवरोधहरू सदैव हटाउनुहोस् ।


जलाधार क्षेत्रभित्र शहर वा बजार बसेमा यसले पानीको प्राकृतिक बहावलाई परिवर्तन गरिदिन्छ । शहरी विकासले गर्दा धेरै कडा जमीनहरूमा जस्तैः सडक, प्लाष्टर गरेको भुई र छानाहरू जहाँ पानी भेलको रूपमा बढी बग्दछ र जमीनमा सोसेर जाने सम्भावना कम हुन्छ । यसले गर्दा पानी जम्मा भई एक ठाउँमा स्थिर हुन्छ, जसबाट लामखुट्टेको प्रजनन् गर्ने ठाउँको सृजना हुन्छ । यसले बाढी पनि ल्याउन सक्छ । धेरै मानिसहरू बस्ने ठाउँ र उद्योगधन्दाहरू विकास हुने ठाउँमा, पानी निकै प्रदूषित भएर जान्छ ।

शहर बजारमा सिमसार क्षेत्र एवं नदीका किनाराहरूलाई स्वस्थ राख्ने काम कठिन कार्य हो तर यस्तो गर्नु निकै महत्वपूर्ण कार्य हो । जसले गर्दा प्रदूषित पानी संकलन हुनबाट रोक्न, गाईबस्तु र रुखविरुवाहरूलाई प्रदूषित हुनबाट बचाउन र स्वास्थ्यलाई हानी हुनबाट रोक्न सकियोस् ।

आ–आफ्नो ठाउँको जलाधार क्षेत्रलाई बचाउनको लागि शहर बजारका मानिसहरूले निम्न कार्यहरू गर्न सक्दछन् ।

♠ पानीको श्रोतलाई प्रदूषित हुनबाट रोक्न मानव मलमूत्र एवं विषाक्त रसायनहरूलाई सुक्षित विसर्जन गर्नुहोस् ।

♠ शहर बजारका नदी नालाका किनारहरू, खोलाहरू, सिमसार क्षेत्र र पार्कहरूको पुनर्उत्थान गर्नुहोस् । केही समुदायले सडक पेटीमा बगैंचा लगाएर पानीलाई जमीनमुनी पठाउन सक्दछन् ।

♠ खतरनाक र बाढीग्रस्त क्षेत्रमा बस्ने मानिसहरूलाई सुरक्षित बसोबास दिलाउन सरकारसँग माग गर्नुहोस् ।

♠ व्यापारीक एवं औद्योगिक समुदायहरूलाई आफूले उत्सर्जन गर्ने फोहर व्यवस्थापन प्रति जिम्मेवारी बनाउनका लागि दबाव दिनुहोस् ।

♠ सरकार एवं नागरिक संस्थाहरू मार्फत् क्षेत्रीय योजना निर्माण कार्यमा र दिगो विकासका पहलहरूमा सहभागी बन्नुहोस् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार